शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुलुक ‘लकडाउन’मा जाँदा काँग्रेसका नेताहरु के गर्दैछन् ?

सुनसान भए नेताहरुका निवास, फोनबाट हुन थाल्यो छलफल
मङ्गलबार, ११ चैत २०७६, १३ : ४६
मङ्गलबार, ११ चैत २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास बढेसँगै नेपाली काँग्रेसका शीर्ष नेताहरुको दिनचर्या पनि घरमै सीमित हुन थालेको छ ।

कोभिड–१९ को सम्भावित संक्रमणको जोखिमका कारण मुलुक ठप्प जस्तै बनेपछि काँग्रेस नेता–कार्यकर्ताबीचको आन्तरिक भेटघाट पनि करिब शून्य छ ।

पार्टी कार्यालयदेखि प्रमुख नेताहरुका निवास केही दिनयता सुनसान जस्तै छन् । प्रत्येक नेताहरुको निवासमा प्रवेश गर्दा साबुन पानीले हात धुने तथा सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको छ ।

शनिबारबाट क्रियाशील सदस्यता नवीकरण र वितरणमा रोक लगाएसँगै पार्टीको आन्तरिक गतिविधि पनि पूर्णरुपमा ठप्पहुन पुगेको छ । नेतृत्व र पदाधिकारीका आकांक्षीहरूको १४ औँ महाधिवेशन लक्षित जिल्ला दौडाहा रोकिएको छ ।

यसअघि दिनहुँ कार्यकर्ताको भीडभाड हुने काँग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवास पनि केही दिनयता सुनसानजस्तै छ ।

उनका स्वकीय सचिव भानु देउवाका अनुसार केही दिनयता सभापति देउवाले अत्यावश्यक बाहेकका भेटवार्तामा रोक लगाएपछि निवासमा कार्यकर्ताको उपस्थिति पातलिएको छ ।

उनले रातोपाटीसँग भने, ‘सभापतिज्यूले अत्यावश्यक र पहिले नै समय लिएर आएका कार्यकर्तासँग मात्रै भेटघाट गर्नुभएको छ । योसँगै ठूलो संख्यामा कार्यकर्ता पनि आउन छोड्नुभएको छ ।’

उनका अनुसार सभापति देउवाले पार्टीका कार्यक्रमसँगै आधा दर्जन जिल्लाको दौडाहा पनि स्थगित हुन पुगेको छ । उनीपार्टी नेताहरुसँग दैनिकजसो टेलिफोनमार्फत आवश्यक छलफल गरिरहेका छन् ।

यसका साथै उनी कोरोना भाइरस संक्रमणको विषयमा नेपाल मेडिकल एशोसिएसनका पदाधिकारी तथा वरिष्ठ चिकित्सकहरुसँग निरन्तर परामर्शमा छन् ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास पनि करिब सुनसान जस्तै छ ।

केही दिनअघि नेता पौडेलले प्रेस विज्ञप्ति नै जारी गरी अत्यावश्यकबाहेक भेटघाटमा नआउन र टेलिफोनबाटै संवाद गर्न आह्वान गरेपछि निवासमा कार्यकर्ताको उपस्थिति निकै पातलिएको उनका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए । 

३ चैतमा पौडेलले विज्ञप्तिमार्फत भनेका थिए, ‘कोभिड–१९ भाइरस संक्रमणबाट सावधानी अपनाउनुपर्ने आवश्यकता महसुस गरी म आफ्ना सबै मित्रलाई आह्वान गर्न चाहन्छु । हामी सबैले स्वयंबाट सामाजिक दूरी कायम गर्न सुरु गरौँं । आत्यावश्क काम÷कुराकानी टेलिफोन सम्पर्कबाटै गर्न सुरु गरौँ ।’

अधिकारीका अनुसार पौडेलले पूर्वनिर्धारित चितवन, पाल्पा, स्याङ्जा, पर्वत, म्याग्दी, बारालगायत जिल्लाका कार्यक्रम स्वतः स्थगित भएका छन् ।

कार्यकर्ताको बाक्लो उपस्थिति हुने गरेको महामन्त्री शंशाक कोइरालाको निवास पनि पछिल्लो समय सुनसान जस्तै छ । 

महामन्त्री कोइराला पनि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी निवासमै छन् ।

कोरालाका स्वकीय सचिव भरत तिवारीले भने, ‘अहिले कार्यकतासँग भेटघाट छैन । भेटघाट पातलो छ । नेताहरुसँग पनि प्रत्यक्ष भेटघाट रोकिएको छ । अधिकांश कुराकानी फोनमार्फत नै गर्नुहुन्छ ।’
तिवारीका अनुसार पार्टीले क्रियाशील सदस्यता नवीकरण र वितरण स्थगित गर्ने निर्णय लिएपछि संस्थापन इतरका नेताहरुबीच टेलिफोन संवाद भएको थियो । वर्तमान परिस्थितिलाई मध्यनजर गरेर निर्णय लिएकाले इतर पक्षका नेताहरुले कुनै टिप्पणी गरेका छैनन् ।

यता काँग्रेसका अर्को महामन्त्री पूर्णबहादुर खड्का पनि कोरोनाको जोखिम बढ्दै गएपछि काठमाडौं फर्किएका छन् । 

महाधिवेशनका कामका लागि कर्णाली र प्रदेश ५ का जिल्लामा गएका उनी पार्टीले क्रियाशील सदस्यता नवीरकण र वितरण कार्य स्थगित गरेपछि काठमाडौं फर्किएका हुन् ।

काठमाडौंमा फर्किए पनि उनी नेता–कार्यकर्तासँगको भेटघाटमा जोडिएका छैनन् । 

यस्तै काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी पनि सुनसान छ । यहाँ पनि पछिल्लो समय नेता कार्यकर्ताको उपस्थिति पातलिएको छ ।

नेता सिंहले सरकारले लकडाउन घोषणा गरेपछि आफ्नो व्यस्तता कम भएको बताए । उनले रातोपाटीसँग भने, ‘जिल्लाबाट आउने कार्यकर्ता रोकिएका छन् । यहाँ (उपत्यका)मा भएका नेता कार्यकर्ता पनि घर फर्किएपछि भेटघाट करिब–करिब रोकिएको छ ।’

उनले कोरोनाबाट बच्न र बचाउन उपत्यकाका जनप्रतिनिधिलाई सहजीकरणको भूमिका निर्वाह गरिरहेको बताए । उनले भने, ‘मैले जिल्ला दौडाहाका कार्यक्रम स्थगित भएपछि यहाँका जनप्रतिनिधिलाई कोरोनाबाट बच्न र बचाउनेबारे सहजीकरण गरिरहेको छु । अहिले यसमै व्यस्त छु । जनप्रतिनिधिसँग निरन्तर टेलिफोन संवादमा छु।’

यता काँग्रेसको तेस्रो धु्रबका नेता कृष्णप्रसाद सिटौला यतिबेला झापामा छन् । पछिल्लो समय गृह जिल्लामा सिटौलाको बसाई बाक्लिएको पाइन्छ ।

झापामा सिटौलाले कार्यकर्तासँगको भेटघाट आंशिक जारी राखेको उनका स्वकीय सचिव किरण सिटौलाले बताए । किरणका अनुसार उनी उच्च सजगता अपनाएर भए पनि कार्यकर्तासँग संवादमै छन् । 
‘कार्यकर्तासँग भेटघाट गर्दा तीन मिटरको दूरी राखेर कुराकानी गर्नुहुन्छ,’ उनले भने, ‘घरमा आउनेहरुसँग सेनिटाइजर र मास्कको प्रयोगपछि मात्र भेटघाट हुने गरेको छ । निकै सजगता अपनाउने गरिएको छ ।’
गत सोमबार काठमाडौंमा एक कार्यक्रममा सहभागी हुँदा पनि सिटौलाले खल्तीमै सेनिटाइजर बोकेर आएका थिए ।

सहमहामन्त्री प्रकाशशरण महत पनि केही दिनयता नेता–कार्यकर्तासँगको भेटघाटमा कमै उपस्थित हुने गरेका छन् ।

उनले भने, ‘मुलुक लकडाउनको अवस्थामा छ । यो अवस्थामा हाम्रो पनि आन्तरिक गतिविधि ठप्प हुने नै भयो ।’

यसैका विषयमा टेलिफोनमार्फत नै नेताहरुसँग कुराकानी हुने गरेको उनले बताए । कोरोनाका कारण ५ जिल्लाको पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर हाल आफू निवासमै बसेको उनको भनाइ छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पनि योबीचमा घरबाटै सक्रियता बढाउँदै आएका छन् । भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले कोरोनाबाट बच्ने र बचाउने सन्देश दिइरहेका छन् । उनले कोरोनाविरुद्ध जनचेतना फैलाउन गीतसमेत ल्याएका छन् ।

यता काँग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले भने सोमबारसम्म कार्यकर्तासँगको भेटघाटलाई जारी नै राखेका थिए ।

पछिल्ला केही दिन उनी तराईका विभिन्न जिल्लामा कोरोनाबाट बच्ने उपाय सिकाउनुका साथै मास्क वितरणमा व्यस्त भए ।

काँग्रेका केन्द्रीय सदस्यहरु गगन थापा, प्रदीप पौडेल, नविन्द्रराज जोशी, धनराज गुरुङलगायतले सामाजिक सञ्जालमार्फत कोरोना भाइरसबाट बच्ने र बचाउने उपाय सम्प्रेषण गर्दै आएका छन् ।

यसो त कोरोनाको त्रासका बेला पार्टीका नेताहरुलाई नगइ नहुने ठाउँमा जान पनि सकस परेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप