बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पुस्तक अंशः प्रचण्डले बचाउनुपर्छ भन्दाभन्दै आलोक मारिए

सोमबार, ०५ असार २०७४, १३ : २८
सोमबार, ०५ असार २०७४

पुष्कर गौतमको सार्वजनिक बयानबाजीपछि माओवादीभित्र आलोकको चर्चा व्यापक बन्दै गयो । उनी गलत थिए वा सही, त्यो थाहा हुन सकेन, तर माओवादीले केहीपछि उनलाई हत्या र यौनकाण्ड जस्ता केस लगाएर कारबाही गर्यो, २०५७ सालको दोस्रो सम्मेलनवरपर । 


माओवादीले दोस्रो सम्मेलनमा आलोकका नकारात्मक पक्ष खोतल्दै प्रवृत्ति नै किटान गरेर बहस चलायो । पार्टीले आलोकको शैलीलाई ‘क्रान्तिमा आलोक प्रवृत्ति’ भनेर पहिचान गर्यो । यसलाई पार्टीको वैचारिक धारणा भनियो । पार्टीमा कुनै नकारात्मक किसिमको काम भयो कि, त्यसलाई ‘आलोक प्रवृत्ति’ भन्ने चलन बस्यो । ‘आलोक प्रवृत्ति’ बारे चर्चामा भनिएको थियो–
‘पूर्वी कमान्डको एउटा बैठक सिन्धुपाल्चोकको माथि लेकमा भएको थियो । त्यहाँ जाँदा आलोकको खुट्टामा हाइटेक जुत्ता थियो ।  बाक्लो नर्थफेस ज्याकेट थियो । हातमा पन्जा थियो । चार–पाँच जना सुरक्षागार्ड थिए । उनीसँग एक जना युवती पनि थिइन् । तर, उनको घरमा पहिल्यै श्रीमती थिइन् । उनले आफूलाई प्रचण्डपछिको उत्तराधिकारीका रुपमा प्रस्तुत गरे । उनको विरोध गर्नेको हत्यासमेत गरियो । उनलाई खाना छुट्टै चाहिन्थ्यो । उनका लागि रक्सी बोक्न एकजना खटाइन्थ्यो । दुस्साहसी काम गर्थे । भट्टेडाँडा प्रहरी चौकी आक्रमण त्यसैको परिणाम थियो । उनका समकालीन, सबैलाई, अन्तरविरोध भएकालाई सिध्याइहाल्थे । त्यही भएर अग्नि सापकोटालाई समेत सुदूरपश्चिम पुर्याए ।’


अहिलेसम्म माओवादीभित्रको कसैले आलोक प्रवृत्ति वास्तवमा के थियो भनेर व्याख्या गर्न सक्दैन । बरु प्रचण्डले बचाउनुपर्छ भन्दाभन्दै आलोक मारिए । यसबारे पार्टीले अहिलेसम्म त्यस्तो अध्ययन गरेको देखिन्न । थुप्रै किस्सासहित आलोक प्रवृत्ति बहसमा आइरह्यो । कतिले प्रचण्डको निकट भएका कारण उनलाई त्यस्तो गरिएको टिप्पणी गर्थे ।


एमाले पृष्ठभूमिको पौरख मासिक छोडेर बलराम थापाले मूलप्रवाह मासिक सुरु गरेका थिए । महिमाका प्रकाशक÷सम्पादकमा कुमार राउत थिए भने प्रधान सम्पादक चाहिँ तारा न्यौपाने । महिमामा मुरारी अर्याल र तारा दाइका खरा र लामालामा विश्लेषण छपिन्थे । मुरारी दाइ र तारा दाइको सबैभन्दा बढी आक्रमण डा. बाबुराम भट्टराईप्रति हुन्थ्यो । माक्र्सवादी दर्शन, आर्थिक क्रान्ति, कृषि क्रान्ति लगायतमा दुवैको विशेष चासो हुन्थ्यो । उनीहरु प्रायः डा. भट्टराईको आँखीझ्याल  पुस्तक वरपर रहेर आलोचना गर्थे । यो बहसमा हामी त्यति सहभागी हुन्नथ्यौँ । तर तर्कपूर्ण लेख चाहिँ पढ्न मज्जै लाग्थ्यो । डा. भट्टराईको त्यही किताबको कृषि क्रान्तिबारे लेख पत्रपत्रिकामा सबैभन्दा धेरै साभार भएमध्ये पर्छ । 


कारबाही हुनुअघि आलोकले पनि महिमामा पूर्वका समाचारहरु नियमित रुपमा दिने गर्थे । काठमाडौँको भोटाहिटीमा कम्प्युटर तालिम केन्द्र चलाएका नुवाकोटका शारदा अधिकारीमार्फत उनी त्यस्ता सामग्री पठाउँथे । शारदाले पछि दिनेश शर्मा (आलोकका ज्वाइँ) को सहयोगी भएर काम गरे । त्यही बेला शारदामार्फत योजना  साप्ताहिक चयाइयो । बलराम थापाले मूलप्रवाहमा आलोक प्रवृत्तिबारे सम्पादकीय लेखे । मूलप्रवाहमा वैचारिक बहससम्बन्धी लेखहरु बढी छापिन्थे । त्यो बेला दिशाबोध चाहिँ पार्टीको आन्तरिक विरोधाभासमा खेल्थ्यो ।  मूल्याङ्कनले दर्शन, वैचारिक समसामयिक विषयमा अन्तरक्रिया गराउँथ्यो । मूलप्रवाहमा थापा बढी ‘पुष्पलाल स्कुलिङ’को वकालत गर्थे । तरा न्यौपाने र मुरारी अर्यालको निदेर्शनमा अलिक विचारको आलोक भएर निस्किन्थ्यो मूलप्रवाह  ।


मूलप्रवाहको त्यो सम्पादकीयको सार थियो– माओवादीभित्र एउटा मात्र नभई अरु थुप्रै आलोक छन् र यो प्रवृत्ति बढ्दै गएको छ, तर पार्टी हेडक्वाटरले संरक्षण गरेको छ । यस्तो सम्पादकीय आएपछि प्रचार विभाग प्रमुख समेत रहेका उपत्यका इन्चार्ज रवीन्द्र श्रेष्ठ पूरै रिसाए ।

 उनले मूलप्रवाहमाथि कारबाहीको निर्णय गराए । मूलप्रवाहको सम्पादकीयविरुद्ध जनादेशमा कार्यकारी सम्पादक गाविन्द आचार्यका नामबाट लेख छाप्नुपर्ने निर्णयसमेत गराए । त्यो बेला जनादेशका सम्पादक कृष्ण सेन जेलमा थिए । यो विषयलाई लिएर महेश्वर दाहालले श्रेष्ठको विरोध गरे । परिणामस्वरुप महेश्वर आफैँ कारवाहीमा परे र प्रवासमा सरुवा भए । 


प्रचार विभाग प्रमुखले नै लेख लेख्न भनेपछि गोविन्द आचार्य दोधारमा परे । उनल तारा न्यौपाने र कुमार राउतलाई विश्वासमा लिएर मूलप्रवाहविरुद्ध जनादेशमा लेख छापे । त्यसपछि महिमा र मूलप्रवाह माओवादीका पत्रिका नभएको भनेर कार्यकर्तामा सर्कुलर नै जारी गरियो ।  


जनादेशमा पार्टी हेडक्वार्टरबाट आधिकारिक धारणा आउँथ्यो । जनआह्वानमा बाबुराम पक्षधरको विचार बढी आउँथ्यो । पूर्वी कमान्डसँग सीधै सम्पर्कमा रहेको महिमामा पूर्वी कमान्डका तर जिल्ला र क्षेत्रीय तहका नेताहरुका समाचार र विचार बढी छापिन्थे । 


२०५८ मङ्सिर ११ गते सङ्कटकाल जारी भएपछि महिमाका सम्पादक कुमार राउतलाई शाही नेपाली सेनाले पक्राउ गर्यो । सेनाले यातना दिन थालेपछि उनले जनादेशमा महिमा र मूलप्रवाहविरुद्ध लेखिएको गोविन्द आचार्यको लेख पढ्न भनेछन् । सेनाका मान्छेले त्यो लेख पढेपछि उनी रिहा भए । पछि मलाई सुनाउँथे, ‘गोविन्दको नामबाट आएको महिमा र मूलप्रवाहविरुद्धको लेखले गर्दा ज्यान बचाएर आएँ ।’ 

पत्रकार उजिर मगरद्वारा लिखित पुस्तक ‘अंश’ को माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलबार विमोचन गर्दैछन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप