मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थतन्त्रमा लकडाउन प्रभाव : धनीको सम्पत्ति घट्छ, गरिबको  चुल्हो निभ्छ

बुधबार, १२ चैत २०७६, ०९ : २०
बुधबार, १२ चैत २०७६

विश्व अर्थतन्त्रमा जस्तै नेपालको अर्थतन्त्रमा पनि कोरोनाभाइरसका कारण ठूलो असर पुगेको छ । आयातमा निर्भर भएको देश नेपाललाई ‘लक डाउन’ले समस्या निम्याउन सक्छ ।  प्रतिव्यक्ति आय कम भएको नेपाल जस्तो देशलाई अहिले कोरोनाभाइरसको महाव्याधिले निम्त्याएको विश्वव्यापी प्रतिकूल परिस्थितिका कारण आर्थिक विकासको सूचकाङ्कमा माथि जान असहज अवस्था सृजना भएको छ ।

अहिले विश्वमा नै अकल्पनीय र विषम खालको घटना भएको छ, जसको चपेटामा सारा विश्व परेको छ । त्यसैको प्रतिकूल प्रभावले गर्दा यतिखेर विश्व अर्थतन्त्रलाई नै पछि धकेलेको छ । नेपाल त्यसै पनि अल्प विकसित देश हो । समयमा खर्च हुन नसक्ने परम्परा नै छ । क्षमताको विकास गर्न सकेका छैनौँ । सहजकालमा पनि लगानी प्रतिबद्धता आउँथ्यो तर लगानी हँुदैनथ्यो जसले अपेक्षित आर्थिक बृद्धिदर हुने अवस्था थिएन । अहिलेको यस्तो असहज परिस्थितिमा त झन् आर्थिक बृद्धि बढ्ने कुरै भएन ।

विश्व अर्थतन्त्रमा नोक्सान पुर्याउने तीन विषम स्वास्थ्य परिस्थिति

तीन खालका विषम स्वास्थ्य परिस्थितिले विश्व अर्थतन्त्रमा नोक्सान पुर्याउँछ ।

एपिडेमिक्स : यो विश्वको खास क्षेत्रमा हुन्छ । जस्तै २००३–०४ को सार्सको महामारीको बेलामा हङकङ र त्यस वरिपरिको क्षेत्रमा, २०१२–१३ को मेर्सको बेलामा साउदी अरेविया र वरिपरिको क्षेत्रमा फैलिएका महामारीहरु त्यसका उदाहरण हुन् । त्यसैगरी, इतिहासका विभिन्न कालखण्डमा युरोप, अमेरिकातिर पनि त्यस्त महामारीहरु बेलाबखतमा फैलिएका थिए । कुनैबेला इबोला भाइरस अफ्रिकाको कुनै क्षेत्रमा फैलिएको थियो ।

इन्डोमिक्सः अर्थतन्त्रलाई प्रभावित पार्ने अर्को पक्ष इन्डोमिक्स हो । इन्डोमिक्स भनेको  कुनै क्षेत्रमा रोग आउने तर दोहोरिरहने हुन्छ ।

पानाडेमिकः विश्व अर्थतन्त्रलाई सबैभन्दा नराम्ररी प्रभावित पार्ने पक्ष चाहिँ पानाडेमिक हो । पानाडेमिक भन्नाले विश्वका प्रायःजसो सबै हिस्सामा एउटा खास रोगको महामारी फैलिनु हो । अहिले कोभिड–१९ नाम दिइएको कोरोनाभाइरसको महामारी पानाडेमिकको सबैभन्दा पछिल्लो उदाहरण हो । जुन विश्वको अहिलेको माहामारी हो ।

यस्ता महाव्याधिले विश्वमा ५ सय विलियन डलर नोक्सान हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । अहिलेको स्थितीलाई हेर्ने हो भने तीन हजार अर्ब डलर बराबरको नोक्सान हुने आँकलन विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाले प्रक्षेपण गरेका छन् । स्वभाविक रुपमा त्यसको प्रभावबाट नेपाल अछुतो रहँदैन । त्यही ढंगले नेपालमा पनि पर्छ ।

यो स्थितिमा मूल्यबृद्धि अकासिने छ । कोरोनाभाइरसको महाव्याधिले विश्वलाई लपेटिरहेको अहिलेको अवस्थामा डलरको भाउ बढेर गएको छ । लकडाउन भएपछि उत्पादन ठप्प हुँदै गइरहेको छ । तर यो कुरा निश्चित छ, उत्पादन ठप्प भएपनि बजारमा माग रहिरहन्छ । बरु अहिलेको कठिन परिस्थितमा मानिसहरुले अत्यावश्यक वस्तुहरु संग्रह गर्नेतिर लाग्दा उल्टै माग बढेर जान सक्छ । उत्पादन ठप्प हुने तर माग नरोकिने, बरु उल्टै माग बढेर जाने स्थितिमा  जीवनयापन कठिन हुन्छ ।

गरिबी बढाउँछ

अहिलेको परिस्थितीले गरिबी बढाउँछ । यो रोग नियन्त्रणमा आइसकेपछि पनि उच्चवर्गका मानिस मध्यम वर्गमा, मध्यम बर्गका मानिस निम्न वर्गमा झर्ने प्रवल सम्भावना छ । हाम्रा संरचना, पूर्वाधार निर्माण गर्ने काम पनि पछाडि पर्छन् । यसले मानिसको जीवनलाई नोक्सान त पुर्याउँछ नै त्योभन्दा कहालीलाग्दो नोक्सान अर्थतन्त्रमा ल्याउँछ ।

विकसित देशहरुमा नै मर्नेको संख्या बढी छन् । चीनको ऊहानबाट शुरु भएको कोरोनामहाव्याधि यतिखेर चीनमा नियन्त्रण हुँदै गएको छ । तर त्यो अहिले चीन बाहिर चाहिँ झनै कडा रुपमा फैलिँदै गएर कोरोनाको इपिसेन्टर नै अहिले यूरोप भएको छ । विश्वमै मानिसले  धेरै रोजगारी गुमाउने खतरा बढेर गएको छ । यसले बालबच्चा कुपोषणमा पर्छन् । शिक्षा दिक्षा राम्रो दिन नसक्ने अवस्था आउँछ । यसले मानव स्रोतसाधनको विकासमा असर गर्छ । दीगो विकासको लक्ष्य प्रभावित हुनेछन् ।

धनीको सम्पत्ति घट्छ, मजदुरी वर्गको चुल्होको आगो निभ्छ

सबै मिलेर सरकारको अगुवाइमा रोगबाट पनि बच्ने र अर्थतन्त्रमा न्यूनतम उत्पादन पनि कसरी गरिरहने भन्ने रणनीतिक योजना बनाउनुपर्छ । अर्थतन्त्रलाई जोगाउन तत्काल राहतको प्याकेज ल्याउनुपर्छ । अहिले  आकस्मिक लकडाउन भएको छ । दैनिक ज्यालादारी गर्नेले त सामान थुपारेका छैनन्  । उनीहरुसँग पैसा पनि छैन होला ।  यसबाट तल्लो बर्ग एकदमै चेपुवामा परेका छन् । धनीको केही सम्पत्ति घट्ला तर मजदुरी वर्गमा बढी समस्यामा पर्छन् । साना तथा मझौला उद्योग बन्द हुन्छ, जसले धेरैको राजेगारी गुम्न सक्छ ।

गर्ने के ?

यो स्थितिमा स्वभाविक रुपमा प्रश्न उठ्छः गर्ने के त ? मूलतः गर्ने भनेको सामना नै हो र त्यसको क्षतिलाई सकेसम्म कम गराउने रणनीतिका साथ अघि बढ्ने नै हो । यस अर्थमा अबको कदम यसको प्रभाव न्युनीकरण गर्नतर्फ हुनुपर्छ । चीनको हङकङमा पनि सरकारले जनताको खातामा केही पैसा हालिदियो । १२ सय डलरसम्म एउटा परिवारलाई हालिदिने, बच्चा भएको परिवारलाई पाँच सय डलरसम्म थप गरिदिने भनेर अमेरिकाले घोषणा गरिसक्यो । विश्वका धेरै देशले राहतका प्याकेज ल्याएका छन् । नेपालमा पनि त्यो खालको वर्गलाई राहतको प्याकेज हुनुपर्छ ।

चिकित्सा क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिनुपर्यो । उनीहरु सुरक्षित भएमात्र अरुले उपचार पाउँछन् । औषधी, खाद्यवस्तुको आयात भएन भने बाँच्न कठिनाइ हुन्छ । निम्न वर्ग जसले जोगाएर खाद्यवस्तु राख्न सकेको छैन त्यस्तालाई सरकारले विचार गर्नुपर्छ ।

जनतालाइ जोगाउनुपर्छ

कतिघण्टा पसल खोल्ने हो, त्यो सुनेको छैन । अन्य बेलाको कफ्र्यूमा शान्ति सुरक्षा मेन्टेन गर्ने हो । अहिले त मानिसलाई जोगाउने हो । २४ सै घण्टा त्यस्ता पसल खुल्ने र आवश्यक परे मात्र गएर किन्ने चेतना पनि बृद्धि गराउनुपर्छ । सरकारबाट राहत पाउने स्थिति भएपछि साना मझौला उद्योगका लागि एक खालको प्याकेज, रोजगारी गुमाएकाहरुका लागि एक खालको प्याकेज र ठुला उद्योगका लागि ऋणमा ब्याज अनुदान जस्ता सहुलियत दिन सकिन्छ ।  ऋण तिर्ने समय बढाइदिने, विभिन्न खालका ट्याक्सका छुट दिन पनि सकिन्छ ।

विकसित राष्ट्रमा पुर्याउने आधार भत्कायो

पूर्वाधार निर्माणको काम अघि बढेको थियो । सन २०३० सम्ममा मध्यबाहक राजमार्ग बनाउने भनिएको थियो । आउँदो २५ वर्षमा विकसित राष्ट्रमा पुर्याउँछौ भनिएको थियो । अब यसका लागि चाहिने आधार तयार हँुदैनन् । निर्माणको गतिमा रोकावट आउँछन् । विद्युत योजना बन्दैनन्, सडक, सुरुङ बन्दैनन् । यसले उत्पादनमा पनि असर गर्छ । निर्माणका काम नभएपछि त्यससँग जोडिएका उत्पादनका काम पनि हुँदैनन् । उद्योगहरु बन्द भएको छ । रोजगारी गुमेको छ । रेमिट्यान्सले विदेशी मुद्रा, भुक्तानी सन्तुलनलाई, बैदेशिक मुद्राको सञ्चितिमा ठुलो योगदान पुर्याएको थियो । गरीबी न्युनीकरणमा यसले सहयोग पुर्याएको थियो । अब विदेशमा भएकाहरु पनि फर्कने अवस्था छ  । यसले ठूलो असर पार्छ ।

पर्यटन क्षेत्र एकचोटी मन्दी आएपछि त्यसलाई साबिकको ठाउँमा पुर्याउन समय लाग्छ । मान्छेले हवाइ बुकिङ गरेर आउन पाएका छैनन् । अब लामो समयसम्म बुकिङ नहुन सक्छ । पर्यटक आउन हातमा पैसा र समय दुइ कुरा चाहिन्छ । अहिले विश्व नै लकडाउन भएर बसेपछि त्यो समय उनीहरुले आफ्नो जीविकोपार्जनका लागि कमाउन थाल्नुपर्यो । पर्यटन क्षेत्र प्रभावित हुनेछन् । प्रभावका आधारमा सरकारले राहत प्याकेज ल्याए मात्र अर्थतन्त्र थला परिहाल्दैन् ।

लकडाउन जति लम्बिन्छ उति नोक्सान

कुल ग्राहस्थ उत्पादनको हिसाबबाट हेर्दा ६ प्रतिशतभन्दा माथि आर्थिक बृद्धिदर हुन्छ भन्ने हाम्रो अपेक्षा थियो भने  सरकारको साढे ८ प्रतिशतको अपेक्षा छ । अब अहिले लकडाउनले दिनमा दुई देखि साढे २ अर्बको नोक्सानी पर्नजान्छ । यो जति लम्बिन्छ नोक्सानीको अंक त्यति धेरै माथि जान्छ ।

(अर्थविद् प्रा.डा. चन्द्रमणि अधिकारी सँग एलिजा उप्रेतीले गरेको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रा.डा. चन्द्रमणि अधिकारी
प्रा.डा. चन्द्रमणि अधिकारी
लेखकबाट थप