मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीको क्वारेन्टाइनमा एक जनाको मृत्यु

बुधबार, १२ चैत २०७६, १९ : ३२
बुधबार, १२ चैत २०७६

पोखरा । भारतको हैदराबादबाट केही समय अघि नेपाल फर्किएका एक व्यक्तिको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको छ । 

मृतकको स्थायी ठेगाना कास्कीको रुपा गाउँपालिका रहेको अस्पतालले जनाएको छ । मृतक लामो समयदेखि मुटुको रोगले थलिएका थिए । मृतकलाई हिजोदेखि रुपा गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।

गाउँपालिका अध्यक्ष नवराज ओझाका अनुसार मृतक लामो समयदेखि मुटुको रोगी थिए । उनको कलेजोमा पानी जमी राखेको सुन्नमा आएको उनले सुनाए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार उनलाई अस्पताल ल्याउनुअघि नै मृत्यु भई सकेको थियो । 

डा. आचार्यले कोरोना भाइरसको संक्रमण भए नभएको भने पुष्टि नभएको बताए । ‘परिक्षणका लागि प्रदेश ल्याबमा पठाएका छौं,’ उनले भने, ‘कोरोना नै भएको भनेर भन्न मिल्दैन । ल्याबको रिपोर्टपछि नै थाहा हुन्छ ।’

यता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर बुद्धिबहादुर थापा भने प्रदेशमा कोरोना ल्याब टेष्ट मेसिन नभएकाले काठमाडौं पठाउनु पर्ने बताउँछन् । ‘

'सरकारले हाम्रो प्रदेशलाई पनि टेस्ट मेसिन दिने निर्णय त गरेको छ,’ उनले भने, ‘तर, आईसकेको छैन । कोरोना भएको हो कि होइन भनेर जाँच्न काठमाडौं मै पठाउनु पर्छ । लक डाउनले गर्दा पनि मेसिन आउन ढिला भई रहेको छ । सकेसम्म चाँडै आउँला मेसिन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप