बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश स्तरीय कोभिड–१९ प्रतिकार्य व्यवस्थापन समिति गठन

बुधबार, १२ चैत २०७६, २२ : ०७
बुधबार, १२ चैत २०७६

जनकपुर । प्रदेश नम्बर २ सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि प्रदेश स्तरीय कोभिड–१९ प्रतिकार्य व्यवस्थापन समिति गठन गरेको जनाएको छ ।


सामाजिक विकास मन्त्री नवलकिशोर साहको अध्यक्षतामा बसेको सरोकारवालाहरुसङ्गको बैठकले मन्त्री साहको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रीका स्वकीय सचिव राजकुमार यादवले जनाए ।


कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामको व्यवस्थापनका लागि प्रदेश स्तरीय व्यवस्थापन समिति गठन गरिएको हो ।

बैठकले कोरोना भाइरस संक्रमण रहेका शंकास्पद व्यक्तिहरुका लागि वीरगञ्जको केडिया डेन्टल केयर, रौतहटको गौरमा रहेको गौर नर्सिङ्ग इन्स्टिच्युट र होटल सिया प्यालेस, धनुषाको नगराइन स्थित गङ्गुलीमा रहेको मिथिला आयुर्वेद कलेज तथा अनुसन्धान केन्द्र, सप्तरीको रुपनीमा रहेको प्रहरी अस्पताल र जनकपुरधाममा रहेको मणिपाल मेडिकल कलेजको भवनलाई व्यवस्थित गरि क्वारेन्टाइन केन्द्र सञ्चालनमा ल्याईने निर्णय गरेको उनले बताए ।

सो भाइरस संक्रमण भएको शंकास्पद व्यक्तिको उपचारका लागि वीरगञ्ज स्थित नेशनल मेडिकल कलेज र जनकपुरधामस्थित जानकी मेडिकल कलेजको सिटी हस्पिटलमा विशेषज्ञ डाक्टर सहितको टोली समेत खटाइएको जनाइएको छ । 

 सबै जिल्ला अस्पतालहरुलाई १० बेर्डसहितको आइसोलेशन वार्ड तयार गरि सञ्चालनमा ल्याउने निर्णय समेत गरिएको छ ।

बैठकमा प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव, प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झा, मध्यपूर्वी पृतनापती उपरथी सुरेश कुमार कार्की, धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, सुरक्षा निकायका प्रमुखहरु लगायतका सरोकारवाला कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप