मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूजिल्याण्ड मस्जिद हमलाः ब्रेन्टेनले ५१ जनाको हत्याको आरोप स्वीकारे

बिहीबार, १३ चैत २०७६, ०६ : ४८
बिहीबार, १३ चैत २०७६

न्यूजिल्याण्डको क्राइस्टचर्च शहरमा एक वर्ष अघि दुई मस्जिदमा भएको हमलामा २९ वर्षका अष्ट्रेलियाली नागरिक ब्रेन्टेन टोरेन्टले ५१ जनाको हत्याको अपराध स्विकार गरेका छन् ।

ब्रेन्टेनले अन्य ४० जनाको हत्याको कोसिस र अर्को एउटा चरमपन्थी घटना गराएको पनि स्विकार गरेका छन् । यसअघि ब्रेन्टेनले सबै आरोप अस्विकार गर्दै आएका थिए त्यसकारण अदालती सुनुवाई चलिरहेको थियो ।

दुई मस्जिदमा भएको उक्त हमलाले संसारभरीको ध्यान आकृष्ट गरेको थियो । उक्त हमलापछि न्यूजिल्याण्डमा बन्दुक राख्ने कानून निकै कडा बनाइएको थियो । न्यूजिल्याण्डमा पनि कोरोना भाइरसका कारण लकडाउन चलिरहेको छ त्यसकारण बिहिबार क्राइस्टचर्च हाई कोर्टमा भएको सुनुवाई निकै सिमित राखिएको थियो ।

मानिसहरुलाई यो सुनुवाईमा सामेल हुन दिइएको थिएन । ब्रेन्टेन र उनका वकिललाई पनि भिडियो लिङ्कमार्फत सुनुवाईमा समावेश गरियो । मस्जिदका दुई प्रतिनिधि उक्त सुनुवाईमा पीडित परिवारको तर्फबाट संलग्न भए । न्यायाधिस मेन्डरले भने, ‘कोरोना भाइरसका कारण विभिन्न प्रकारका प्रतिबन्ध छन् त्यसकारण पीडित परिवार कोर्टरुममा छैनन् ।’ अहिले नै सजाय भने तोकिएको छैन ।


फरिद अहमदकी श्रीमती हुस्नाको अल नूर मस्जिदमा भएको हमलामा मृत्यु भएको थियो । ब्रेन्टेनले अपराध स्विकार गरेपछि उनले टीवीएनजेडसँग भने, ‘अब अदालती सुनुवाईबाट छुट्टी पाइयो भन्दै धेरैले राहत महसुस गरेका होलान् । तर जसले आफन्त गुमाएका छन् उनीहरुको पीडा अहिलेसम्म पनि बाँकी छ ।’

बन्दुकधारी ब्रेन्टेनका लागि उनले भने, ‘म उनका लागि प्रार्थना गरिरहेको छु । उनी अब सही दिशामा छन् । उनले अपराध गरेको बोध गरिरहेका छन्, यो कुराको मलाई सन्तोष छ । यो राम्रो सुरुवात हो ।’

हमला कसरी गरिएको थियो ?

१५ मार्च २०१९ मा बन्दुकधारी ब्रेन्टन टोरेन्टले क्राइस्टचर्चको अल नूर मस्जिदमा अन्धाधुन्ध गोलीबारी गरेका थिए । तीस सेकेन्ड भित्र उनले बाहिर आएर आफ्नो कारबाट अर्को बन्दुक निकाले र मस्जिदमा पुनः मानिसहरुमाथि गोली बर्साउन सुरु गरेका थिए ।

उक्त हमलाको ब्रेन्टनले ह्यान्डक्याममार्फत् फेसबुकमा लाइभ पनि गरेका थिए । त्यसपछि लेनवेड मस्जिदमा गएर हमला गरेका थिए । त्यहाँ मस्जिद बाहिर दुई व्यक्तिलाई गोली हानेका थिए र पुनः ढोकाबाट गोलीबारी सुरु गरेका थिए । मस्जिदभित्रबाट एक व्यक्ति बाहिर आए र उनैले हमलाकर्तालाई पिछा परे । पछि पुलिस आएपछि उनलाई पक्राउ गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप