शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिना सुरक्षा सावधानी कोरोनाविरुद्ध फ्रन्टलाइनमा प्रहरी

एक प्रहरी संक्रमित भएमा आउनसक्छ भयावह अवस्था
बिहीबार, १३ चैत २०७६, ०९ : ४४
बिहीबार, १३ चैत २०७६

कोरोनाभाइरसको महामारीका बीच सरकारले लकडाउनको घोषणा गर्दै सशक्त रुपमा कार्यान्वयन गर्न व्यापक प्रहरी परिचालन गरेको छ । सरकारले चोक–चोक र बस्तीमा समेत प्रहरी पठाएर मानिस तथा सवारीसाधनको आवागमनमा रोक लगाएको छ । अत्यावश्यक सेवा र वस्तुबाहेक अन्य आवतजावतलाई रोक लगाउन खटिएका प्रहरी भने कति सुरक्षित छन् त ?

बुधबार रातोपाटीले प्रहरीले कसरी चेकजाँज र सुरक्षा उपाय अपनाएका छन् त भनी काठमाडौंको विभिन्न स्थानमा पुगेर दृश्य कैद गर्ने प्रयास गरेको छ । रातोपाटीको अनुगमनका क्रममा यस्तो देखियो कि कोरोनाभाइरस संक्रमणको खतरा प्रहरीलाई सबैभन्दा बढी छ । सडकमा खटिएका प्रहरीहरुले आवश्यक मात्रामा सुरक्षाका उपाय अपनाउन सकेका छैनन् ।

अधिकांश प्रहरीको हातमा पञ्जा छैन भनै कतिपय प्रहरीले त मास्कसमेत लगाएका छैनन् । मास्क लगाएका प्रहरीले पनि सामान्य प्रकृतिको कपडाको मास्क छ, जसले संक्रमण रोक्न सक्दैन । उनीहरुले सवारीसाधनमा रहेका यात्रु वा चालक र पैदल यात्रुसँग पनि नजिकै रहेर कुराकानी गरिरहेका छन् भने उनीहरुले कुनै न कुनै तरिकाबाट कागजात हेर्ने वा अन्य कामका लागि छुनु परेको छ ।

कम्तीमा एक मिटरको दुरी कायम गर्नुपर्ने भन्ने भए पनि प्रहरीले एक मिटरको दुरी कायम गर्न सकेको देखिँदैन । कतिपय जिद्दी यात्रुले मोटरसाइकल चलाउने लगायतका काम पनि गरिरहेको पाइएको छ, जसलाई उनीहरुले धरपकड गरी नियन्त्रणमा समेत लिनु परिरहेको छ, जतिबेला उनीहरुले आवश्यक दूरी कायम गर्न सकिरहेका छैनन् ।

अझ कोरोना संक्रमणका बिरामी ल्याउने र राख्ने स्थान शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा खटिएका प्रहरीहरुको सुरक्षाको अवस्था त झनै दयनीय रहेको छ ।

बुधबार रातोपाटीको टोली टेकु अस्पताल पुग्दा दुई जना प्रहरी जवानहरु अस्पतालको गेटमा खटिएका देखिए । उनीहरुले पिपिइ (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) त लगाएका थिए तर हातमा पन्जासमेत थिएन ।

मास्क लगाएपनि उक्त मास्क न एन ९५ मास्क थियो न त सर्जिकल मास्क नै । सामान्य कपडाको मास्क थियो, जसले पर्याप्त सुरक्षा अपनाउन सक्दैन । त्यहाँ आउने बिरामीहरुलाई आवश्यक पर्दा गाडीबाट ओराल्नुपर्ने र वेडसम्म लैजानुपर्ने पनि हुनसक्छ । यस्तो अवस्थामा सबैभन्दा बढी खतरा ती प्रहरी कर्मचारीलाई नै हुन्छ ।

प्रहरीलाई संक्रमण भए भयावह हुन सक्छ

अहिले प्रहरी र स्वास्थ्यकर्मी नै कोरोना भाइरसविरुद्ध सबैभन्दा बढी खटिएका छन् । उनीहरु लामो समय अस्पताल वा ब्यारेकमा रहन्छन् । प्रहरीहरुले खाना खाने समय वा सुत्ने समय ब्यारेकमै जानुपर्ने हुन्छ । अहिले सरकारले प्रहरीलाई विदा पनि दिएको छैन भने मेस (खाना खाने स्थान) र बास बस्ने स्थान पनि अलगअलग बनाएको छैन ।

यस्तो अवस्थामा यदि कुनै एक कर्मचारीलाई कोरोना संक्रमण भएको खण्डमा त्यसले पूरै प्रहरी संगठनलाई संक्रमण हुनसक्छ, जुन अत्याधिक भयावहको स्थिति हुनेछ ।

काठमाडौं प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौर भने अहिले काठमाडौँ प्रहरीले सकेसम्म सावधान भइ सुरक्षितरुपमा चेकजाँच गर्ने नीति लिएको बताउँछन् । यद्यपि सुरक्षित रहनका लागि आवश्यक पूर्वाधार भने नरहेको राठौरको स्वीकारोक्ति छ ।

अहिले प्रहरीले लगातार हात धुने र भएसम्म स्यानिटाइजर प्रयोग गर्न निर्देशन दिएको छ । परिसरले नै कतिपय प्रहरीलाई मास्क उपलब्ध गराएको छ भने कतिपयले आफै जोहोसमेत गरेका छन् । परिसरका एसपी राठौर भन्छन्, ‘संक्रमणको चिन्ता हामीलाई पनि उत्तिकै छ । प्रहरीको पनि लामो समय ड्युटी हुने भएकाले कहिलेकाहीँ प्रहरीले पनि लापरवाही गर्ने गरेको छ । त्यही भएर हामीले प्रहरीको काम कारवाही कसरी भइरहेको छ भनेर बेलाबेलामा चेकिङ पनि गरिरहेका छौँ र प्रहरी कर्मचारीलाई बारम्बार हात धुन लगाइरहेका छौँ । यसलाई हामी अझ कडाइका साथ लागु गर्दैछौँ ।’

अहिले प्रहरीसँग सुरक्षा उपायका कुनै साधन छैनन्, न त आवश्यक दूरी कायम गर्न सकिएको छ । तैपनि प्रहरी बिना सुरक्षा सावधानी सरकारलाई सहयोग गर्न बाध्य छ । स्वास्थ्यकर्मीहरुले कोरोना संक्रमणका समयमा इन्टेन्सिभ पनि पाउने भएका छन्, तर प्रहरी भने मात्रै पुरानै तलबका भरमा काम गर्न बाध्य छ ।

अहिले महानगरीय आयुक्त कार्यालय रानीपोखरी मातहत ११ हजार ५ सय प्रहरीको दरबन्दी छ । यद्यपि हाल उपत्यकामा ९ हजार प्रहरी कार्यरत छन् । यी सबै प्रहरी अहिले काममा खटिएका छन् । उनीहरुको कुनै न कुनै माध्यमबाट सबैमा सम्पर्क भएकै हुन्छ ।

उदाहरणका लागि एकजना प्रहरी जवानले असई, असईले सई वा इन्सपेक्टर, इन्सपेक्टरले डिएसपी, डिएसपीले एसपी, एसपीले एसएसपी र एसएसपीले डिआइजीसम्म भेटभाट र प्रतक्ष कुराकानी भइरहेको हुन्छ । यसरी हेर्दा प्रत्येक प्रहरी कर्मचारीको भेटघाट वा सम्पर्क सबै प्रहरी कर्मचारी र अधिकारीसम्म भएको हुन्छ ।

यस्तो अवस्थामा यदि कुनै एक प्रहरी जवान वा अधिकृतलाई कोरोनाभाइरस संक्रमण भएको अवस्थामा यसले समग्र प्रहरी संगठनलार्य प्रभावित र संक्रमित बनाउन सक्नेछ । त्यतिबेला स्थिति ज्यादै भयावह हुने भएकाले प्रहरीको सुरक्षा सतर्कता सबैभन्दा पहिलो र महत्त्वपूर्ण रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप