शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणको तथ्याङ्क नलुकाउन चिनियाँ प्रधानमन्त्रीको चेतावनी

बिहीबार, १३ चैत २०७६, १४ : ०२
बिहीबार, १३ चैत २०७६

बेइजिङ । चीनले कोरोनाभाइरस संक्रमणको घटनालाई नलुकाउन स्थानीय अधिकारीहरुलाई चेतावनी दिएको छ । स्थानीय तहमा फैलिएका संक्रमणका घटनालाई नलुकाइकन वास्तविकता सार्वजनिक गर्न चिनियाँ प्रधानमन्त्री ली खस्याङले स्थानीय अधिकारीहरुलाई निर्देशन दिएका हुन् ।

चीनमा पछिल्ला दिनहरुमा कोरोना संक्रमणको नयाँ स्थानीय घटना शुन्यमा झरेको दावी भइरहँदा चिनियाँ प्रधानमन्त्रीले यस्तो चेतावनी दिएका हुन् । उनले तथ्यहरुको वास्तविकता खोजी प्रभावकारी ढङ्गले गर्न र पादरदर्शी रुपमा महामारीको सूचना सार्वजनिक गर्न पनि निर्देशन दिए ।

‘खुला र पारदर्शी हुनु भनेको संक्रमण फेला परेको अवस्थामा त्यसलाई गणनाा गर्नुपर्छ, त्यसलाई लुकाइनु हुँदैन,’ उनले भने । उनको यो चेतावनी स्थानीय स्तरमा कोरोना संक्रमणको सुरुवाती चरणमा सूचना लुकाइएको भन्ने चर्चाप्रति समेत केन्द्रित रहेको अनुमान गरिएको छ ।

कोरोना संक्रमणविरुद्ध चीनले तीन महिना निर्ममतापूर्वक लडाई नै गरेको थियो । पछिल्ला दिनमा चीनमा कोरोना संक्रमणको नयाँ स्थानीय मामिला नदेखिएको अधिकारीहरुले बताउँदै आएका छन् ।

नयाँ संक्रमण नदेखिएकै कारण चीनको हुबेइ प्रान्तमा यात्रासम्बन्धी प्रतिबन्ध खुकुलो पारिएको छ भने ऊहान सहर पनि केही दिनमा सामान्य अवस्थामा फर्कने जनाइएको छ ।

‘लामो समयदेखि जनता खुशीको कुरा सुन्न आतुर छन्,’ चिनियाँ प्रधानमन्त्रीले भने, ‘यस्तो अवस्थामा हामीले महामारीको तथ्याङ्क सत्य र सटिक दिन सक्नुपर्छ । स्थानीय सरकारले पनि तथ्य लुकाउन दबाब दिनु हुँदैन ।’

कोरोना संक्रमणका कारण मानवीय क्षति व्यहोर्नेमा चीन विश्वकै तेस्रो मुलुक भएको छ । कोरोना संक्रमणको पहिलो मामिला चीन मै देखिएको भए पनि अहिले संक्रमणको केन्द्रविन्दु भने युरोप बनेको छ । कोरोनाका कारण इटालीमा सबैभन्दा बढी मानवीय क्षति भएको छ भने दोस्रोमा स्पेन र तेस्रोमा चीन छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप