बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसान ठमेल क्षेत्रमा महानगरपालिकाले यसरी छर्‍यो किटनाशक औषधी (फोटो/भिडियो)

अत्यास लाग्यो भन्दै बाहिर निस्कन्छन् सर्वसाधारण
बिहीबार, १३ चैत २०७६, १६ : २१
बिहीबार, १३ चैत २०७६

काठमाडौं महानगरपालिकाले डिस्इन्फेक्ट गर्नका लागि शहरका विभिन्न क्षेत्रमा किटनाशक औषधी छर्किन थालेको छ । बिहीबार काठमाडौँको लैनचौर, ठमेल, ठहिँटी, क्षेत्रपाटी लगायतका स्थानमा किटाणुनाशाक केमिकल सहितको पानी छर्किएको हो । सार्वजनिक बाटो, चोक, पसलका सटरहरुमा केमिकल पानी छर्किएको महानगरपालिकाका प्रहरी प्रहरी नायव निरिक्षक अजम्बर श्रेष्ठले जानकारी दिए ।

१ हजार लिटर लिटर क्षमताको ट्याङ्कीमा केमिकल पानी भरेर सहरका भित्री स्थानहरुमा छर्किएको छ । महानगरपालिकाले आजदेखि ४ वटा गाडीबाट यो काम गरेको महानगरपालिकाका प्रहरी नायव निरिक्षक श्रेष्ठले जानकारी दिए ।

सधैँ विदेशी पर्यटकको भीड हुने ठमेल क्षेत्र यतिबेला सुनसान रहेको छ । फाट्टफुट्ट मात्र पर्यटकहरु पनि हिँडिरहेका भेटिन्छन् । यस क्षेत्रमा पनि खाद्य सामग्री पसल बन्द छ भने ठमेल क्षेत्र विकास परिषद्ले त्यस क्षेत्रका बासिन्दालाई खाद्य वस्तु तथा पानी खरिदका लागि सहयोग गरिरहेको ठमेल पर्यटन परिषदका अध्यक्ष प्रकाश नर्सिग राणाले जानकारी दिए ।

साथै विदेशी पर्यटकलाई सहयोग गर्नका लागि काठमाडौँ गेष्ट हाउसको ढोकामा निःशुल्क खाजाका प्याकेट तथा खानेपानीको व्यवस्था गरिएको उनले बताए ।

अत्यास लाग्यो भन्दै बाहिर निस्कन्छन् : प्रहरी

ठमेल क्षेत्रमा चोक चोकमा प्रहरीहरु परिचालन भएका छन् । उनीहरुले बाहिर निस्किएका सर्वसाधारणलाई सम्झाएर घरभित्र पठाउने काम गरेका छन् । सर्वसाधारणहरु अत्यास लाग्यो भन्दै बाहिर आउने गरेको र उनीहरुलाई सम्झाएर पठाउने पर्यटक प्रहरी सई दुर्गादेवी श्रेष्ठले बताइन् ।

उनले भन्छिन्, ‘मान्छेहरु दुई दिनदेखि घरभित्रै बसेको भएर अत्यास लागेर निस्केको भन्छन् । कोही अत्यावश्यक सामग्री औषधी तरकारी खरिद गर्न पनि निस्किरहेका छन् । अत्यास लाग्यो भनेर बाहिर निस्कनेलाई महानगरपालिकाले बनाएको पर्चा दिएर पठाउने गरेका छौँ ।’

हेर्नुहोस भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप