शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमित बिरामीको उपचार गर्न समन्वय गर्ने समितिकै सदस्यले लिँदैनन् बिरामी (हेर्नुस् भिडियो)

बिहीबार, १३ चैत २०७६, १७ : १४
बिहीबार, १३ चैत २०७६

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित बिरामीको बारेमा समन्वय गर्न तथा अस्पतालका क्षेत्रलाई सबैको साझा अभियानका रुपमा सञ्चालन गर्नका निम्ति मन्त्रालयका सचिवको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

 यद्यपि कोरोना संक्रमणसम्बन्धमा परीक्षण गर्न जाने बिरामीलाई नै विभेदकारी नीतिका साथ अन्यत्र पठाउने मेडिकल कलेज सञ्चालकलाई नै उक्त समितिमा राखिएपछि भने सर्वत्र आलोचना हुन थालेको छ ।
सो समितिमा मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइराला, मेडिकल एशोसिएशनका अध्यक्ष लोचन कार्की, नसिंङ एशोसिएशनका अध्यक्ष मुना राई, मन्त्रालयको तर्फबाट गुणराज लोहनी, निजी अस्पताल संघका बसन्त चौधरी र निजी मेडिकल कलेज एशोसिएशनका अध्यक्ष बसरुद्दीन अन्सारीलाई राखिएको छ । 

समितिले निजी क्षेत्रका अस्पतालमा आउने कोरानासँग सम्बन्धित बिरामीको बारेमा समन्वय गर्ने स्वास्थ्य मन्त्री भानुभक्त ढकालको भनाइ छ । उक्त समितिमा मेडिकल कलेज सञ्चालक अन्सारीलाई राखेकोमा भने चौतर्फी आलोचना भइरहेको हो ।

मेडिकल कलेज सञ्चालक बसरुद्दीन अन्सारी नै उक्त समितिमा रहेका कारण कोरानासँग सम्बन्धित बिरामीको बारेमा समन्वय हुनेमा आशंका गरिएको छ । उनले मेडिकललाई सेवाको रुपमाभन्दा पनि व्यापारको रुपमा लिँदै आएका छन् । अन्सारी वीरगञ्जमा नेशनल मेडिकल कलेजका सञ्चालक हुन् ।

उनले अनामनगरमा पनि एउटा मेडिकल कलेज सञ्चालनमा ल्याएका छन् तर मापदण्ड पूरा नगरेको कारण सो कलेजले मान्यता पाएको छैन । मान्यता पाउनका लागि उनले निकै कसरत गरिरहेका छन् । तर डा.गोविन्द केसीको अनसनले यस्ता धेरै कलेजले मान्यता पाएको छैन ।

नेकपा निकट अन्सारी जुनसुकै सरकारलाई प्रभावमा पारी आफ्नो काम निकाल्न माहिर मानिन्छन् । कलेजले तिर्ने कर पनि समयमा तिरेका हुँदैनन् । काउन्सिलबाट अनुगमनमा जाने कर्मचारीलाई भित्रसमेत छिर्न नदिने बसरुद्दीन अहिले समितिको सदस्य बनेकोमा काउन्सिलकै मान्छेहरु आश्चर्यमा परेका छन् । 

उनले आफ्नो अस्पतालमा कोरोनाको आशंका लागेका बिरामीलाई भर्ना लिएका छैनन् । अहिले उनका काठमाडौँ र पर्साका दुवै अस्पताल पुरै खाली छन् । कुनै बिरामीलाई ज्वरो आयो भने अस्पतालबाट नै रिफर गरेर पठाउने गरेका छन् । कोरोनासँग लक्षण देखिने बिरामीलाई आफ्नो अस्पतालबाटै रिफर गरेर अन्यत्र पठाउने गरेको अन्सारीले सरकारी समितिमा रहेर कोरोनाका आशंकित बिरामीलाई कसरी न्यायको अनुभूति गराउलान् भन्ने प्रश्न उब्जिएको छ ।

पर्सा स्थित नेशनल मेडिकल कलेजमा भर्ना भएका एकजना थाइराइडका बिरामीलाई ज्वरो आउँदा त्यहाँका डाक्टरले उनलाई अस्पतालबाटै भगाएका थिए । त्यसको भिडियोसमेत सार्वजनिक भएको छ ।

अन्सारीको मेडिकल कलेजबाट निकालिएका बिरामीलाई नारायणी प्रादेशिक अस्पतालमा राख्ने गरिएको छ । नारायणी अस्पतालका एकजना डाक्टरले भने, ‘टाइफाइड, पिसावमा संक्रमण लगायतका समस्याका कारण ज्वरो आएका बिरामीलाई समेत नेशनल मेडिकल कलेजले फर्काउने गरेको छ र सबै सरकारी अस्पतालमै आउने गरेका छन् ।’

नारायाणी अस्पतालमा बिरामीको चाप थेगिसक्नु छैन । यसरी नै नेशनल मेडिकल कलेजले बिरामी फर्काउने गरिरहेमा आफूहरुले पनि बिरामी राख्न नसकिने नारायणी अस्पतालका ती डाक्टरले बताए । 
भिडियो हेर्नुहाेस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप