शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना महामारीः भारतमा रेलसेवा पनि बन्द

बिहीबार, १३ चैत २०७६, १९ : ३६
बिहीबार, १३ चैत २०७६

एजेन्सी ।  करिब १ अर्ब ३७ करोड जनसङ्ख्या भएको भारतले कोरोनाभाइरस महामारी फैलिनबाट मुलुकलाई जोगाउन आपतकालीन कदम चालेपछि भारतमा ठूलो संख्याका यात्रुलाई सेवा प्रदान गर्दै आएको रेल प्रणाली पनि ठप्प भएको छ ।

रेल प्रणालीलाई प्रायः भारतको जीवन रेखाका रूपमा वर्णन गरिन्छ । विशाल उपमहाद्वीपमा प्रत्येक दिन २ करोड ३० लाख व्यक्तिले रेलयात्रा गर्ने गरेका हुन्छन् । अर्थात प्रत्येक वर्ष ८ अर्ब भन्दा बढी व्यक्तिले भारतमा रेलको यात्रा गरेको तथ्याङ्क रहेको छ ।

विश्वकै रेलयात्राको सञ्जाल हेर्दा चौथो ठूलो सञ्जालका रुपमा भारतीय रेल पर्दछ । प्रत्येक दिन यात्रु र कार्गो बोक्ने १२ हजार १०० भन्दा बढी रेल सञ्चालनमा रहेका छन् । ती रेलहरु ६७ हजार ४१५ किलोमटिर गुडेको पाइन्छ । रेल सेवा सञ्जालमा १२ लाख भन्दा बढी कामदारले रोजगारी पाएका छन् ।

आइतवारबाट सो रेल सेवा बन्द भएपछि कैयौँ व्यक्ति रेलवे स्टेशनहरुमा फसेका थिए । नयाँ दिल्ली रेलवे स्टेशन सामान्यतया २४ घण्टा नै भरिभराउ भएर गुड्ने गर्दछ । जसमा रेलवे स्टाफ, खाजाघर र समाचारपत्र बेच्ने पसलहरूसहित रहेका हुन्छन् । प्लेटफर्ममा सुतिरहेका अपरिचित व्यक्तिहरू अलपत्र अवस्थामा देखिएका थिए ।

भारतभरि कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या ६७० नाघेको छ । भारतमा आजसम्म कोभिड–१९ बाट १३ जनाले ज्यान गुमाएका छन् । सङ्क्रमणको सङ्ख्या बढ्दै गएपछि त्यहाँ देशभरि लकडाउन गरिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ २१ दिनको लकडाउन घोषणा गरेका छन् ।
 
गत मङ्गलबार राति प्रधानमन्त्री मोदीले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै मध्यरातबाट लागू हुनेगरी आगामी २१ दिनसम्म लकडाउन जारी रहने घोषणा गरेका थिए । –एपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप