मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सेल्फ क्वारेन्टाइनमा बस्दा मानसिक रूपमा बलियो बन्न के गर्ने–के नगर्ने ?

लकडाउनको समय कसरी बन्ने मानसिक रुपमा बलियो : यस्तो छ चिकित्सकको सुझाव
शुक्रबार, १४ चैत २०७६, ०६ : ४०
शुक्रबार, १४ चैत २०७६

कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेसँगै हामी सवै घरभित्र बन्दी जस्तै छौं । यस्तो अवस्थामा आफूलाई स्वस्थ्य राख्न र मानसिक रुपमा बलियो बन्नु अत्यन्त जरुरी छ ।
कुनै पनि रोग तथा प्रकोपको सामना गर्नको लागि आत्मबल बलियो बनाउन सकेमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि हुने विज्ञहरु बताउँछन् । त्यसैले अत्तिने वा हतोत्साहित हुने भन्दा पनि संयमित हुनुपर्छ ।

कोरोनाभाइरसको संक्रमणको समाचारले धेरैलाई सशंकित बनाएको छ, यस्तो बेला भ्रामक खवरको पछि नलागी बास्तविकता खोज्नतिर लागौं । आफू, परिवार, समाज अनि देशलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्नेबारे मनन गरौं र सकारात्मक सोच राखौं ।

कोरोनाभाइरसको महामारी जस्तै ठूला खालका विपत आइलाग्दा मानिसहरुमा मानसिक रोगको सिकार भएका घटना थुप्रै छन् । कोरोनाभाइरसको महामारी फैलिएसँगै जतासुकै कोरोनाको मात्र खवर सुन्नुपर्दा र घरभित्र बसिराख्दा मानसिक रुपमा कमजोर भएको महसुस हुन सक्छ । यस्तो अवस्थामा आफूलाई मानसिक रुपमा बलियो बनाउन के गर्नुपर्छ ?  अहिलेको महाव्याधिले विश्व मानवजगत्लाई नै भयानक ढंगले आतंकित बनाइरहेको बेलामा मानसिक स्वास्थ्य रक्षा कसरी गर्न सकिन्छ ? भन्ने बारे त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका मानसिक रोग विशेषज्ञ डाक्टर सरोज ओझासँग गरिएको कुराकानी ।

स्वास्थ्यको ख्याल यसरी गर्नुपर्छ  

महामारी फैलिएको समयमा सबैमा तनाव सिर्जना भई मानसिक स्वस्थ्यमा प्रत्यक्ष प्रभाव पर्छ । यस्तो समयमा घरमा एक्लै वा परिवारसँग बस्दा आफूमा मानसिक विचलन आउन सक्छ । त्यस्तो परिस्थितिमा भय र अनिश्चितता थेग्न नसक्ने मानिसहरूमा मानसिक समस्या आउन सक्छ । विगतदेखि मानसिक समस्या भएका, एन्जाइटी डिसअडर, डिप्रेसन जस्ता रोगको औषधि खाँदै आएका बिरामीमा चिन्ता र भय झन् बढ्न सक्छ । त्यसैले लकडाउनको अवस्थामा सेल्फ क्वारेन्टाइनमा बसेका मानिसले यी कुरामा ध्यान दिन जरुरी हुन्छ ।

१. के कुराले मनलाई विचलन बनाउँछ

–नकारात्मक खालका समाचारले मनलाई विचलन बनाउन सक्छ । बढी निरासा पैदा गर्ने खालका समाचार प्रकाश प्रशास गर्नेसञ्चार माध्यमहरुको भर पर्न हुँदैन । त्यसैले सन्तुलित, सही, आशा जगाउने खालका सामग्रीहरुसहित भरपर्दो जानकारी दिने सञ्चार माध्यम, जस्तै अनलाइन, पत्रपत्रिका, टेलिभिजन, रेडियो पढ्ने, सुन्ने र हेर्ने गर्नुपर्छ । यस चिन्ताजन्य समयमा सञ्चार माध्यमा आएका  कस्ता सामाचार सुन्ने पढ्ने भन्नेबारेमा विचार पुर्‍याउन पर्छ ।

–आफूले पढिरहेको, सुनिरहेको र हेरिरहेको समाचारले मनमा सकारात्मक वा नकारात्मक कुन ऊर्जा पैदा गरिरहेको छ, त्यो थाहा पाउन जरुरी हुन्छ । यसरी घरभित्र बस्दा जुनबेला पनि समाचार पढ्न, हेर्न र सुन्न  हुँदैन । त्यसको लागि समय छुट्याउनु पर्छ ।

–सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा मनलाई विचलित बनाउने समाचार भिडियो पोस्ट गर्नेहरुलाई अनफलो गर्नुपर्छ ।

–लकडाउन तथा सेल्फ क्वारेन्टाइनको समयमा मानसिक रूपमा पहिलैदेखि कमजोर व्यक्तिलाई एक्लै छाड्नु हुँदैन ।

–सेल्फ क्वारेन्टाइनको समयमा एक्लै बस्न  हुँदैन । त्यस समयमा आफूलाई माया गर्ने, आफूलाई मनपर्ने आफन्तजन तथा साथीभाइसँग फोन सम्पर्कमा रहनुपर्छ ।

–लकडाउनको समयमा घरमा बस्दा वा सेल्फ क्वारेन्टाइनको समयमा एकान्तमा बस्दा दैनिक क्रियाकलापलाई भिन्न बनाउनुपर्छ ।

–आफू बसिरहेको वरपर सरसफाइको ध्यान गर्नुपर्छ ।


लकडाउन र सेल्फ क्वारेन्टाइनमा बस्दा यस्ता विधि अपनाउनु पर्छ ।
–महामारीको परिस्थितिलाई स्वीकार गरेर यसरी लकडाउनमा घरभित्र बस्दा वा सेल्फ क्वारेन्टाइनमा बस्दा आफूलाई सिर्जशील र  उत्पादनशील बनाउन सकिन्छ । विगतदेखि पढ्न चाहेर पनि पढ्न नपाएको पुस्तक पढ्ने ।

–मनमा आएका विविध कुरालाई राति निदाउनुभन्दा अगाडि लेख्ने मन लगेका बेलामा लेख्ने बानीको विकास गर्न सकिन्छ ।

–एक्लै बस्दा घाममा बस्ने, प्राकृतिक दृश्यसँग रम्ने रमाउने गर्नुपर्छ ।

–युट्युबको प्रयोग गर्दा हँसाउने अनि ऊर्जाशील बनाउने भिडियो हेर्नुपर्छ । आफूलाई मनपर्ने सङ्गीत सुनेर आनन्द लिने गर्नुपर्छ ।

नियमित तथा सेल्फ क्वारेन्टाइनमा बस्दा छुटाउन नहुने कुरा

स्वस्थ रहने मानिसले जुनसुकै समयमा आउन सक्ने महामारीलाई सहज रूपमा स्वीकार गर्नुपर्छ । मनमा सकारात्मक भाव पैदा गर्नुपर्छ । लकडाउन तथा सेल्फ क्वारेन्टाइनमा बसेको बेलामा मानसिक धपेढी र हतास हुनु हुँदैन ।

–नियमित शारीरिक अभ्यास गर्ने ।

–नियमित रूपमा योग तथा ध्यान गर्ने ।

–प्रशस्त मात्रामा शुद्ध पानी पिउने ।

–सन्तुलित खानेकुरा खाने ।

–इटरनेटमार्फत मानसिक तथा शारीरिक रूपमा आनन्द दिने मेडिटेसन वा ध्यानका सङ्गीत सुन्ने बानीको विकास गर्ने ।

–योगा तथा ध्यान सङ्गीत सुनेर अभ्यास गर्ने बानीको विकास गर्ने ।

–भइरहेको कुरालाई स्वीकार गरेर जे भइरहेको छ, राम्रो भइरहेको भन्दै स्वीकार गरेर अहिलेको क्षणमा रमाउनुपर्छ ।  

–एक्लै बस्दा पीडा महसुस भयो भने श्वास प्रश्वासमा ध्यान दिएर लामो श्वास तान्ने छाड्ने गर्नुपर्छ ।  

Homepage photo: https://www.itsflorin.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप