बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘३ खर्ब १० अर्बको विशेष राहत प्याकेजको आवश्यकता छ’

शुक्रबार, १४ चैत २०७६, १४ : ०९
शुक्रबार, १४ चैत २०७६

- कल्याणकुमार गुरुङ

नेपाल सरकारले सबै राजनीतिक दल, नागरिक समाज र पेसाकर्मीको सल्लाह, सुझाव र सहयोगबाट विश्वभरि फैलिएको कोभिड¬–१९ कोरोना भाइरसले महामारीबाट नेपालभित्र रहेका आम मानिसलाई जोगाउनका लागि गरेका काम र प्रयासहरु प्रशंसनीय छन् । यसका लागि गर्नुपर्ने आवश्यक बाँकी काम तदारुकताका साथ गर्दै जानुपर्दछ ।

कोरोना भाइरसको महामारीबाट आम मानिसलाई बचाउन दिनरात भोक प्यास नभनी खटिनु भएका महामहिम राष्ट्रपति, महामहिम उपराष्ट्रपति, सम्माननिय प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलको नेता, मन्त्रीहरु, सांसदहरु, सातै प्रदेशका माननिय मुख्यमन्त्रीहरु, सातै प्रदेशका प्रमुख प्रतिपक्षी दलको नेता, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभाका सांसदहरुको साथै स्थानीय निकायका पदाधिकारीहरुको साथै राजनीतिक दल र तिनका सम्पूर्ण भातृ एवं शुभेच्छुक संस्थाका नेता, कार्यकर्ता र नागरिक समाजका सम्पूर्ण महानुभावको पनि प्रशंसा गर्न चाहन्छु ।

नेपालका सञ्चार जगतका सम्पूर्ण प्रकाशक, व्यवस्थापक, सम्पादक र पत्रकारहरुको दिनरात गरेको मिहिनेतको प्रशंसा गर्न चाहन्छु । यसैगरी नेपाल रेडक्रस सोसाइटीको पनि प्रशंसा गर्न चाहन्छु ।

कोरोना भाइरसको महामारीबाट आम मानिसलाई बचाउन दिनरात भोक प्यास नभनी खटिनु भएका सम्पूर्ण डाक्टर, प्रयोगशालाका प्रविधिक, नर्सहरु, स्वास्थ्यकर्मीहरु, अस्पताल प्रशासनका कर्मचारी र सरसफाइका कर्मचारीहरु सबै जनाको मुक्त कण्ठले प्रशंसा गर्न चाहन्छु ।

कोभिड–१९ को महामारीबाट आम मानिसलाई बचाउन दिनरात भोक प्यास नभनी खटिनु भएका सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै ओहोदाका मानिसको पनि अत्यन्त मुक्त कण्ठले प्रशंसा गर्न चाहन्छु ।

साथै विदेशस्थित कूटनीतिक नियोग र निजामती कर्मचारीहरुको मिहिनेतको प्रशंसा गर्न चाहन्छु ।

सङ्कटको यस घडीमा नेपालमा र विदेशमा रहनु भएका सम्पूर्ण नेपालीको धैर्य, सहास, सहयोग र सकारात्मक सोचको मुक्त कण्ठले प्रशंसा गर्दछु ।
यस सङ्कटको घडीमा एकअर्कालाई दोषारोपण गर्नुको साटो सबैले अन्तरमनबाट आफूले जानेको र सकेको सहयोग गर्नु राम्रो हुन्छ ।

विश्वभरि फैलिएको  कोभिड–१९ महामारीविरुद्ध आज सम्पूर्ण नेपाली एकजुट भएर उभिएको छौँ । यो प्रशंसनीय काम हो । यो महामारीको पूर्ण रूपमा निर्मूल नभएसम्म सबै नेपालीले एक अर्कालाई साथ र सहयोग गरिरहनु पर्दछ ।

विश्वभरि फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन एक उत्तम विकल्प हो । यसको औषधि निर्माण गर्न विश्वभरिका वैज्ञानिक दिनरात प्रयासरत छन् ।

कोरोना भाइरसको महामारीबाट सुरक्षित हुनको लागि सेल्फ क्वारेन्टाइनमा घरमै बस्नुको विकल्प पनि छैन । 


आफू बचौँ र अरूलाई पनि बचाऔँ   भन्ने पवित्र भावनाले सबैले लकडाउनको पूर्ण पालना गर्नुको साथै नेपालको कानुन र नेपाल सरकारको निर्देशनहरुको पूर्ण पालना गर्दै  सेल्फ क्वारेन्टाइन मा आफू पनि घरमा बस्नु र अरूलाई पनि घरमा बस्नु र लकडाउनको पूर्ण पालना गर्न साथ दिनका लागि उहाँहरुलाई सहयोग र प्रोत्साहित गर्नु राम्रो हुन्छ ।

लामो समयसम्म लकडाउन र सेल्फ क्वारेन्टाइनमा बस्नुपर्यो भने दैनिक ज्यालादारी र मजदुरी गरेर परिवार पालिरहेका मानिस भोकमरीको सिकार बन्न सक्ने सम्भावना रहन सक्छ । 
दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएका व्यक्ति र तिनका परिवारलाई नेपाल सरकारले तत्काल विशेष राहत प्याकेज घोषणा गर्नु उपयुक्त हुनेछ ।

कोरोना भाइरसको महामारीलाई नियन्त्रण र निर्मूल गर्नका लागि आवश्यक क्वारेन्टाइन निर्माण, भेन्टिलेटर सहितको चिकित्सकीय सामग्री, औषधि र यस कार्यमा लागेकाहरुको तलब, प्रोत्साहन भत्ता र पचास लाख रुपैयाँ बराबरको जीवन बिमा र बिरामी लगायत अस्पतालमा काम गर्नेका लागि खाद्यान्नको व्यवस्था गराउनु आवश्यक छ । 

यसका अतिरिक्त साना ठूला व्यवसायीका साथै किसानको यस अवधिको कर छुट र ब्याज मिनाहा गर्दै बैङ्कलाई तिर्नुपर्ने किस्ता रकम पछि तिर्ने व्यवस्था मिलाउनका लागि आवश्यक निर्णय तत्काल होस ।
यी दुवै कार्यका लागि करिब सत्तरी अर्ब रुपैयाँ बराबरको राहत प्याकेज आवश्यक देखिन्छ ।

झण्डै दुई करोडको सङ्ख्यामा रहेका दैनिक ज्यालादारी गर्ने, न्यून आय भएका व्यक्ति र आश्रित परिवारको साथै बालबालिकाहरु, बिरामीहरु, अशक्तहरु, गर्भवती, सुत्केरी, वृद्धवृद्धा, एकल महिला र बेरोजगारहरुलाई दैनिक प्रतिव्यक्ति २०० रुपैयाँको दरले राहत उपलब्ध गराउनु आवश्यक छ । यो व्यवस्थापन गर्न एक महिनाका लागि एक व्यक्तिलाई छ हजार रुपैयाँ आवश्यक हुन्छ ।

मासिक छ हजार रुपैयाँको दरले करिब दुई करोड जनसङ्ख्यालाई दुई महिनाका लागि आवश्यक रकम लगभग दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको विशेष राहत प्याकेज आवश्यक पर्ने देखिन्छ ।
नेपालको आर्थिक क्षमतालाई हेर्दा ३ खर्ब १० अर्बको विशेष राहत प्याकेज तत्काल घोषणा गर्न धेरै गाह्रो पर्न सक्छ र यसको सम्भावना पनि कम छ । 

हालको नेपालको आर्थिक क्षमतालाई आधार मान्ने हो भने यो कार्य कुनै पनि दलको सरकारको लागि अत्यन्त कठिन छ । यो सबैले बुझेकै सत्य हो र यो तीतो सत्यलाई कुनै राजनीतिक रङ नदिएर सबैले आत्मसात गर्नु राम्रो हुन्छ । 

हामी नेपालीले पनि धैर्यवान, संयमित र मितव्ययी हुन आवश्यक छ । यो महामारीको घडीमा बिना अवरोध निर्भयताका साथ निरन्तर सङ्घर्ष गर्न र नेपाल सरकारलाई कम क्षतिमा विजयी हुनको लागि सहयोग गर्नु सबैको कर्तव्य र दायित्व पनि हो ।
अन्य देशमा त्यहाँको सरकारले आफ्ना नागरिकका लागि विशेष राहत प्याकेजको घोषणा गरिरहेका छन् ।

यसर्थ दुःख, पीडा र गरिबीमा रहेका नेपालीको लागि आर्थिक क्षमताले भ्याएसम्मको विशेष राहत प्याकेज नेपाल सरकारले तत्काल घोषणा गर्दा राम्रो हुनेछ ।
यस महामारीलाई नियन्त्रण र निर्मूल गर्न देशभित्र तथा वश्वभरि संवाद, समन्वय, सहमति, सहयोग र सकारात्मक सोचका माध्यमबाट आफ्ना पाइलाहरु अगाडि बढाउँदा राम्रो हुनेछ ।
गुरुङ  नेपाली काँग्रेस केन्द्रीय सदस्य हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप