शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ क्षेत्रको तरलता स्थिर, राष्ट्र बैंकमा बैंकहरुको ६३ अर्ब

शुक्रबार, १४ चैत २०७६, १६ : ०९
शुक्रबार, १४ चैत २०७६

काठमाडौं । चैतको सुरु देखिनै निरन्तर घट्दै गएको बैंकिङ क्षेत्रको तरलता स्थिर बन्न थालेको छ । बिहीबार बैंकिङ क्षेत्रमा ६३ अर्बको अधिक तरलता कायम थियो । बुधबार पनि ६२ बराबरको अधिक तरलता कायम भएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले जानकारी दिए । 

राष्ट्र बैंकमा प्रत्येक बैंक तथा वित्तीय संस्थाको खाता हुन्छ । ती संस्थाहरुले आफ्नो सम्भावित निक्षेप फिर्ताको सेटलमेन्टको लागि नेपाल राष्ट्र बैंकमा भएको आफ्नो नामको खातामा त्यस्तो पैसा राख्छन् ।
बैंकहरुले जम्मा गरेको निक्षेपको ४ प्रतिशत रकम अनिवार्य नगद मौज्दात (सीआरआर) वापत राख्नुपर्ने भएपनि त्यसभन्दाबढी रकम राख्ने कि नराख्ने भन्ने छुट बैंकहरुसँग हुन्छ । 

६२ अर्ब रुपैंयाको अधिक तरलता भनेको राष्ट्र बैंकमा बैंकहरुको नाममा रहेको खातामा सीआरआरका लागि छुट्याइएको रकमबाहेकको रकम हो । बजारमा अत्यधिक डिपोजिट भए बैंकहरुले सोही रकम झिकेर ग्राहकलाई दिन्छन् । तरलता स्थिर हुनु भनेको अहिले बैंकहरुबाट झिकिएको र बैंकमा जम्मा भएको रकम सामान्यतया स्थिर हुनु हो । 

कार्यकारी निर्देशक भट्टका अनुसार चैतको पहिलो सातादेखि केहीदिन भने बजारमा तरलताको निकै माग भएको थियो । 

कोरोनाको संक्रमण बढ्दै जाँदा निम्तिने महामारीसँगै लकडाउन लगायत जे पनिहुन सक्छ भनेर जनतामा सन्देश गएपछि स्वभाविक रुपमा निक्षेप फिर्ता लैजाने क्रम बढ्यो । ‘पछिल्लो १० दिनमा बजारमा चलनचल्तीमा रहेको मुद्रा ११ अर्बले बढेको छ’भट्टले भने, ‘अहिले विस्तारै तरलता स्थिर हुन थालेको छ, यसको अर्थ बैंकहरुले डिपोजिटबाटै कारोबारको लागि आवश्यक रकम व्यवस्थापन गर्न सक्ने अवस्थामा छन् ।’

महामारीकै अवस्था भएपनि बैंकहरुले विद्युतीय तथा अन्य माध्यमबाट समेत आवश्यकताअनुसार भुक्तानीको सुनिश्चितता प्रदान गरेका कारण ग्राहकहरुले रकम ‘होल्ड’गर्ने प्रवृत्ति अन्त्य भएको हो । 

महामारीको समयमा कर्जाको माग नहुने भएकाले अब तरलतामा चाप पर्ने अवस्था देखिँदैन । उपभोक्ताले खर्चका लागि रकम झिक्ने गरे पनि व्यापारीहरुले डिपोजिट ल्याउने भएकाले अब तरलतामा समस्या देखिने सम्भावना कम भएको बैंकरहरु समेत बताउँछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप