मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट दुई नेपालीले ज्यान गुमाइसकेको बेलायतको कस्तो छ अवस्था ?

शुक्रबार, १४ चैत २०७६, १८ : ०६
शुक्रबार, १४ चैत २०७६

लन्डन । गत वर्षको डिसेम्बर महिनामा चीनको हुबेई प्रान्तकाे राजधानी ऊहानमा सबैभन्दा पहिले देखापरेको नोवल कोरोना भाइरस (कोभिड १९) विश्वका १९९ वटा मुलुकमा फैलिसकेको छ ।
विश्वभर कोरोना भाइरसकै कारण २४ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

 संसारलाई नै आफ्नो कब्जामा राख्न सक्ने घमण्ड बोकेका शक्तिशाली राष्ट्रहरु नै कोरोना भाइरसका अगाडि निरिह सावित भैसकेका छन् । विज्ञान र प्रविधिको होडबाजीमा घमण्ड पिट्नेहरुलाई कोरोना भाइरसले ठूलो चुनौती दिएको छ ।

 ठूलो सानो र धनी गरिवको तराजुलाई कोरोना भाइरसले समानतामा परिणत गराइदिएको छ । भेदभाव र अहंकार त्यागेर सम्पूर्ण विश्वलाई एक हुनको लागि कोरोना भाइरसले पाठ सिकाएको छ ।

६७ मिलियन भन्दा बढी जनसंख्या रहेको बेलायत अहिले सुनसान  बन्न पुगेको  छ । सवारी साधनले भरिने  राजमार्गका चिल्ला सडक म्याराथुन स्टेडियम जस्तो बनेको छ । 

लामबद्ध लागेर ट्राफिक लाइटको हरियो बत्तिको प्रतिक्षामा रहने सवारी साधनहरु सडकमा छैनन्, ट्राफिक लाइटको हरियो बत्तीले नै सवारी साधनको प्रतिक्षा गरिरहेको छ । 

आकाशमा उड्ने हवाईजहाजहरु निस्फिक्रीसंग जमिनमा घोत्लिएर बसेका छन् । घन्टौंसम्म जहाजको प्रतीक्षा रहने यात्रुहरुलाई अहिले उल्टै ती जहाजहरुले कुरेर बसिरहेका छन् ।

कति मानिसको अहिले अहिले अस्पताल बन्न पुगेको छ । अत्यावश्यक परिस्थितिबाहेक अस्पतालमा पनि नयाँ विरामीलाई निषेध गरिएको छ । 

कोरोनाका संक्रमणका बिरामीका कारण अस्पतालका वार्डहरु भरिएका छन् । स्वास्थ्यकर्मीहरु आफ्नो ज्यान जोखिममा पार्दै भ्याई नभ्याई उपचारमा संलग्न भैरहेका छन् । 

सुरक्षाको दृष्टिकोणले अत्यावश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) को अभावमा कतिपय चिकित्सक नै कोरोना भाइरसको शिकार बन्न पुगेका छन् । 


शहर बजारहरु सुनसान बनेका छन्, मानिसको घुईंचो लाग्ने मुख्य आकर्षक पर्यटकीय स्थलहरुमा शून्यता छाएको छ । गगनचुम्बी भवनहरू खोक्रो आकृतिको रुपमा ठिंगरिंग उभिएर बसेका छन् ।
 पव, बार, रेष्टुरेन्ट र क्लबहरु प्रदर्शनीगृह जस्तो मात्र बन्न पुगेका छन् । फेसन र विलासिताको होडबाजी गर्नेहरु अहिले सुरक्षित जीवनको भीख माग्न बाध्य भएका छन् । भाइरसको संक्रमण र मृत्युदर निरन्तर बढ्दै गएपछि बेलायत सरकारले यसको नियन्त्रणको लागि कडा नीति अपनाएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले विशेष घोषणा मार्फत बेलायतमा लकडाउन गर्ने निर्णय गरेका छन् । यसो त जोन्सन नै पनि कोरोना संक्रमित भएका छन् । उनले सरकारी कामकारबाही आइसोलेनमार्फत नै गर्ने बताएका छन् । 

 कोरोना भाइरस विरुद्ध लड्ने नयाँ नीति लिँदै बेलायत सरकारले तीन हप्ताको लागि लकडाउनको घोषणा गरेको छ । 


अत्यावश्यक खाद्य सामग्री  र औषधि बाहेकका सम्पूर्ण पसल बन्द गरिएको छ । खाद्य संकट आउनसक्ने अनुमान गरेर पहिलादेखि नै बजारमा हाहाकार मच्चिएको थियो । 

घन्टौं लाममा बसेर सामानको जोहो गर्नेको रमिता देख्न सकिन्थ्यो । तर अनावश्यक अफबाह फैलाएको भन्दै पसलहरुमा सीमित संख्यामा खरिद गर्न पाउने नियम लागू गरिएको छ । 

पसलमा जाँदा सीमित व्यक्तिलाई प्रवेश गर्न दिने र पसलभित्र पनि कम्तिमा दुई मिटरको दूरी राखेर बस्नुपर्ने व्यवस्था गरिएको छ ।

लकडाउनलाई प्रभावकारी बनाउन बिहीबारबाट प्रहरीलाई विशेष अधिकार प्रदान गरिएको छ । 

लकडाउनको उलंघन गर्ने व्यक्तिलाई ६० पाउण्डसम्म जरीवाना गर्न सक्ने अधिकार शुक्रबारबाट प्रहरीलाई प्रदान गरिएको छ । १४ दिनभित्र उक्त जरिवाना तिरेको खण्डमा ५० प्रतिशत छुट गरि ३० पाउण्ड मात्र तिरे हुनेछ भने पुनः यस्तो क्रियाकलापमा संलग्न भएको देखिएमा दुई गुणा अर्थात १ सय २० पाउण्ड जरिवाना तिर्नुपर्नेछ । जरिवाना तिर्न अटेर गरेमा अदालती कारवाही गरिने बताइएको बताइएको छ ।

खाद्यसामग्री, औषधि खरिद गर्न, घरबाट सम्भव नहुने अत्यावश्यक काममा जान, शारीरिक व्यायाम साइक्लिङ, रनिङकालगायत लागि दिनको एकपल्ट पार्कमा एक्लै वा एकाघरको परिवारका सदस्यका साथ जान र मेडिकल प्रयोजन वा अशक्तहरुलाई मद्दत गर्नका लागि भने घर बाहिर निस्कन पाइनेछ । 

अन्तर्राष्ट्रिय उडानहरुलाई रोक लगाएका कारण भिजिट भिसा तथा अन्य भिषामा आउनेहरु अहिले अलमलमा परेका छन् । तर यसबाट उनीहरुलाई कुनै असर नपर्ने सोलिसिटर दीपक भट्टराईले बताएका छन् ।

 भिसा सकिएको वा सकिन लागेको छ भने होम अफिसमा सम्पर्क गरेर भिसा अवधि थप गर्न सकिने उनले बताएका छन् । त्यस्तै भिजिट भिसामा आएकालाई कोरोनाको संक्रमण देखिएमा सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको छ । अन्यथा सम्पूर्ण उपचार खर्च आफैले व्यहोर्नुपर्ने हुन्छ ।

त्यसैगरी स्टुडेन्ट भिसा ‘टियर फोर’ अन्तर्गत रहेका विद्यार्थीहरुले ६० दिनसम्म कलेज वा युनिभर्सिटी नगएको खण्डमा सम्बन्धित कलेज वा युनिभर्सिटीले होम अफिसलाई जानकारी गराउनुपर्ने र भिसा खारेज गर्ने  प्रक्रिया रहेको छ । तर कोरोना भाइरसका कारण कलेज वा युनिभर्सिटी जान नसकेमा यो नियम लागू नहुने सोलिसिटर भट्टराईले बताएका छन् । 

त्यस्तै ‘टियर टू’ अन्तर्गत वर्क परमिटमा रहने विद्यार्थीले २८ दिनसम्म काममा नगएको खण्डमा कम्पनीले होम अफिसलाई खबर गर्नुपर्ने व्यवस्था भएपनि कोरोना भाइरसका कारण काममा जान नसकेमा पनि यो नियम लागू नहुने भएकाले ढुक्क भएर बस्न  भट्टराईले अनुरोध गरेका छन् ।

नेपाल भ्रमणका सिलसिलामा हाल नेपालमा नै रहेका भूपू गोर्खाहरुले पाउँदै आइरहेको पेन्सन क्रेडिटलाई निरन्तरता दिने बारेमा कुटनीतिक पहल भैरहेको र यस बारेमा रक्षा मन्त्रालय पनि सकारात्मक रहेकाले सबैलाई ढुक्क रहन बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर  सुवेदीले आग्रह गरेका छन् ।


 सामान्यतया बेलायतभन्दा बाहिर गएको खण्डमा पेन्सन क्रेडिटलाई निरन्तरता दिन ४ हप्ताभित्र फिर्ता आइसक्नुपर्ने प्रावधान रहेको छ । 

नेपाल गएका भूपू गोर्खाहरुको पेन्सन क्रेडिट, भिजिट भिसामा आएका नेपालीहरुको भिसा लगायतका कानुनी समस्याहरुमा अहिलेको अपवादजनक परिस्थितिलाई ध्यानमा राखेर सरकारले विशेष व्यवस्था गर्ने सोलिसिटर राजु थापाले बताएका छन् ।

यहाँको आर्थिक अवस्था सुधार्न र बेलायती जनताको हितलाई मध्यनजर गर्दै प्रधानमन्त्री बोरिस जोन्सन र अर्थमन्त्री ऋषि सुनाकले बेलायातवासीका लागि विभिन्न प्रकारका राहत प्याकेजको घोषणा गरेका छन् ।

 कोरोना पीडित कामदारको सुविधालाई मध्यनजर गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले कुनै कामदार विरामी भएको खण्डमा पहिलो दिनदेखि नै तलब दिनुपर्ने र कोरोनाकै कारण बेरोजगार बस्नुपरेमा सरकारको तर्फबाट ८० प्रतिशतसम्म तलब दिने व्यबस्था गरेबाट कामदारलाई निकै राहत पुग्न सक्ने अनुमान गरिएको छ ।


बेलायतमा कोरोना संक्रमणका कारण दुई नेपालीको मृत्यु भएको पुष्टि भएको छ भने एक नेपाली महिलामा संक्रमण देखिएकोमा उनी निको भएर घर फर्किसकेका छन् । अन्य नेपालीमा संक्रमणको जानकारी आएको छैन । यद्यपी बेलायतमा अध्ययनरत तथा विभिन्न पेसा व्यवसायमा रहेका नेपाली प्रभावित भने भएका छन् । अहिलेको यो विषम परिस्थितिमा नेपालीहरु बेलायत सरकारले घोषणा गरेको लकडाउनको पालना गरेर बसिरहेका छन् । 

बेलायतमा शुक्रबारसम्म ११ हजार ६५८ जनामा कोरोनाको पुष्टि भइसकेको छ भने यसबाट दुई नेपालीसहित ५७८ जनाको मृत्यु भइसकेको छ।  यस्तै १३५ जना निको भएर घर फर्किएका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप