बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना सन्त्रास सहर हुँदै गाउँमा

शुक्रबार, १४ चैत २०७६, १८ : ३२
शुक्रबार, १४ चैत २०७६

-नगिन्द्र शाही ‘नेसनल’

राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै नेपाल सरकारले अहिले देश पूरै लकडाउन गरेको छ । आम नागरिकको ज्यान सुरक्षाका निम्ति यो लकडाउन आवश्यकता मात्र होइन अनिवार्य थियो ।

लकडाउनको सही पालना गर्नु भनेकै आफू जहाँ छौँ त्यहाँ सुरक्षित भएर बस्ने हो । आफू पनि बचौँ अरूलाई पनि बचाउ भन्ने हुन्छ । कोरोनाबाट सुरक्षित हुने भनेको गाउँदेखि सहर गएर वा सहरदेखि गाउँ आएर हुने होइन । हामी विदेश, स्वदेश, गाउँ र सहर जहाँ भए पनि केही फरक छैन । फरक त हामी कति सुरक्षित छौँ भन्ने मात्र हो । आफू सुरक्षित हुन आफन्त भएको ठाउँमा जान यात्रा गरिराखेका छौँ । तर त्यो यात्रा असुरक्षित छ ? त्यसले घरपरिवार, आफन्त र गाउँ, समाजका निम्ति मृत्युको कोसेलीमा परिणत हुन सक्छ । 

कोरना (कोभिड–१९) अहिले विश्वमा कहर मचाई रहेको छ । कोरोनाका कारण विश्वका विकसित देशलाई समेत आतङ्कित बनाएको छ । कोरोना महामारीले विश्वका लाखौं लाख नागरिक सङ्क्रणमित भएका छन् । यो महामारी विश्वव्यापी चुनौतीको विषय बनेको छ । 

सहरतिर सतर्कता गाउँतिर असुरक्षा
जनताको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले लकडाउ घोषणा गर्यो । त्यस्तै भारतले पनि लकडाउन घोषणा गर्यो । नेपालको लकडाउन घोषणाले काठमाडौँ लगायत सबै सहरमा विभिन्न पेसा व्यवसाय गरी बसेका नागरिकहरु आफ्नो गाउँतिर फर्केका छन् । कतिपय गाउँ फर्कन नपाएको अवस्था पनि छ ।  भारतमा अस्थायी रोजगारीका निम्ति गएका नेपालका विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश नागरिक भारतमा भएको लकडाउनको घोषणाले घर फर्केका छन् । भारतबाट घर फर्किने कुरा आफैमा नराम्रो त होइन तर हामी अहिलेको अवस्थामा कति सुरक्षित भएर फर्केका छौँ, त्यो अहिले सबैको सरोकार र चासोको विषय हो । हामी कतै कोरोनाको सङ्क्रमण भएर त घर फर्किंदै छैनौँ ? के मेरो कारणले मेरो घरपरिवार मेरो गाउँ अप्ठ्यारोमा पर्ने त होइन ? यो कुरा सहर र भारतबाट घर आएका सबैले सोच्न जरुरी छ । जुन सोचाइले हाम्रो घरपरिवार मात्र होइन सिङ्गो समाजलाई कोरोना जस्तो महामारीबाट बच्न मदत गर्ने छ ।

सरकारले घोषणा गरेको लकडाउनपछि सहर र गाउँका दृश्यमा फरक अनुभूति गर्न पाइएको छ । सहरको बाहिरी वातावरण सुनसान देखिन थालेको छ । सूचना, प्रविधि, सामाजिक सञ्जाल र सरकारको लकडाउनले सकारात्म प्रभाव पारेको छ । छिटफिट बाहेक आम नागरिकमा स्वास्थ्यलाई लिएर संवेदलनशीलता बढेको सहरहरुको दृश्य हेर्दा अनुभूति गर्न सकिन्छ । तर गाउँको बाहिरी वातवरण हेर्दा विगतभन्दा चहल पहल बढेको देखिन्छ । काठमाडौँ लगायत अन्य सहरतिर अध्यन गर्न गएका विद्यार्थीदेखि भारतमा अस्थायी रोजगारीका निम्ति गएका अधिकांश यो बीचमा घर फर्केका छन् । काठमाडौँ नयाँ बसपार्कमा देखिएको भिड नेपागञ्जको नाका रुपडिया र कञ्चनपुरको गौरीफन्टामा देखिएको भिड अहिले गाउँमा पुगेको छ । घर फर्केकाहरुले नासो के ल्याए त्यो हेर्न बाकी छ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशमा सहरको सङ्ख्या थोरै गाउँको सङ्ख्या धेरै भएका प्रदेश हुन् जहाँका अधिकांश जनताको भारत र नेपालका अन्य सहरमा नगई चुलोमा रोटी पाक्दैन । भारत र नेपालमा भएका सीमाहरु अधिक प्रयोग गर्ने नागरिक यी दुई प्रदेशकै नागरिकहरू पर्छन् । ती  नाकाबाट आएका मान्छे सीधै हुम्ला, जुम्ला, कालिकोट र बैतडी, दार्चुला, अछाम हुँदै बाजुरा पुगेका छन् । जसले गर्दा पछिलो समय गाउँमा मान्छेहरुको चहलपहल बाक्लिँदै गइरहेको छ । धेरै मान्छेको गाउँ प्रवेशले गाउँहरुमा चहलपहल बढ्ने नै भयो । तर यो चहल पहल दसैं तिहार जस्तो रमझममा परिणत हुन नदिन स्थानीय सरकारको अभिभावकत्वको खाँचो देखिएको छ । कुनै सवारी साधनमा होस् वा भागेर, दौडेर जसरी भए पनि गाउँ पुग्ने नागरिकको तीव्र इच्छा जो देखिएको छ त्यसले समाजलाई कोरोनाको भड्खालोमा हुत्याउन सक्छ । 

सचेतनाबिनाको आत्मविश्वास
कोरोनाको सङ्क्रमण विश्वबाट बीस हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको छ । कोरोना निर्मूलका निम्ति आजको दिनसम्म कुनै भ्याक्सिन बनेको छैन । यो महामारीको नियन्त्रर्ण भनेकै सङ्क्रमितको स्वास्थ्य, स्वास्थकर्मीको नियमित निगरानीले मात्र यो रोगको नियन्त्रण गरिएको छ । स्वास्थ्यकर्मीको निगरानीबाट संसारका लाखौँ लाख मान्छेहरु सञ्चो भएर घर फर्केका पनि छन् । जुन देशका नागरिकहरुले कोरोना प्रकोपको गम्भीरता बुझी स्वास्थ्य संवेदनशीलता अपनाए त्यहाँ मानवीय क्षति कम भएको छ । जहाँ सचेतनाबिनाको आत्मविश्वास प्रदर्शन भयो । त्यस देशका धेरै नागरिकहरुले ज्यान गुमाउनु परेको छ ।

नेपाल एक विकाशील देश हो जहाँ विकास र पूर्वाधार संरचना भने जति उपलब्ध छैनन् । विकास अन्य संरचनाभन्दा शिक्षा र स्वास्थ्यका संरचनाहरु स्थानीय स्तरमा भए पनि ती संरचनामा अहिलेको जनताको माग सम्बोधनको अभाव छ । त्यही संरचनाले कोरना जस्तो महामारीको प्रकोप गाउँमा फैलियो भने यसको नियन्त्रण गर्ने कुरा असम्भव छभन्दा पनि हुन्छ । 

कोरना कहर गाउँसम्म फैलिएको छ । गाउँलेको भाग्य नै भन्नुपर्ने हुन्छ आजको दिनसम्म कोरोनाको प्रकोप कसैमा देखिएको छैन । कोरोनाको प्रकोप शून्य बनाउन सकिन्छ । सरकार र स्वास्थ्यकर्मीले भने बमोजिम अनुशासन कायम गर्दै दैनिकी सञ्चालन गर्न सके । कोरोना जस्तो महामारीबाट बच्ने नाममा समाजमा व्याप्त रुढिवादी परम्परा अगाल्दै देवी, देवता वा धामी, झाँक्री भकल गर्नेजस्ता सचेतनाबिनाको आत्मविश्वास गर्ने खतरा पनि गाउँमा त्यतिकै देखिन्छ । यो रोग केही होइन यसबाट मलाई, मेरो परिवारलाई केही हँुदैन, हाम्रो हावापानी स्वच्छ छ । यसबाट लड्न सक्छौँ भन्ने दुस्साहससमेत कसैकसैले भन्ने समेत गरेको गाउँमा सुनिन्छ । यस्ता दुस्साहसवादी चिन्तनले पनि यो क्षेत्रका बासिन्दामा प्रभाव पार्ने देखिन्छ । 

संवेनशील क्षेत्रको पहिचान
विश्व स्वास्थ्य सङ्गठनले नेपाल कोरोना महामारीका निम्ति अति संवेदनशील देश भएको पूर्व जनाउ गरेजस्तै नेपाल सरकारले पनि नेपालभित्र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई अति संवेदनशील प्रदेशको रूपमा राखी काम कारवाही गर्न पर्ने देखिन्छ । यी दुवै प्रदेश सूचना, प्रविधि, जागरुक चेतना र स्वास्थ्य संरचनाको क्षेत्रमा अन्य प्रदेशको तुलना धेरै पछाडि छन् । छिमेकी देश भारतसँगको अव्यवस्थित आवत जावत यी दुई प्रदेशकै नागरिकहरुले  विगतदेखि गर्ने गरेका छन् ।

जुन आवत जावत आधिकारिक नाकाबाहेक अन्य सीमा क्षेत्रबाट पनि भइराखेको हुन्छ । जो अहिले पनि रोकिएको छैन । अर्कोथरी भौगोलिक जटिलताका कारण प्रदेश र स्थानीय सरकारले दिने सेवा पनि भनेको समयमा उपलब्ध गराउन नसकिने बाध्यता छ । अन्य सेवा जस्तो जसले दिँदा पनि हुने स्वास्थ्य सेवा नभएकाले अर्को प्राविधिक बाध्यता पनि त्यतिकै छ । त्यसैले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका दूरदराज गाउँमा बसोवास गर्ने नागरिकलाई कोरोना जस्तो महामारीबाट सुरक्षित गर्न तिनै तहका सरकारको विशेष सहकार्यको आवश्यकता देखिएको छ ।  

अन्त्यमा
विश्वव्यापी आतङ्कका रूपमा फैलिएको कोरना महामारीबाट नागरिकलाई सुरक्षित गर्न केन्द्र सरकारले अहिलेसम्म गरेका कामहरु प्रशंसनीय छन । जुन काम स्थानीय सरकारले पहलकदमी लिदै गाउँ तहसम्म पुर्याउनु सक्नुपर्दछ ।

अहिले घर पुग्न धेरै नागरिकहरु बीच बाटोमा पैदेल यात्रामा छन् । तिनीहरुको यात्रा सहज बनाउँदै तिनीहरुको स्वास्थ्य रेखदेख गर्न स्थानीय सरकारले गर्न सक्नुपर्छ । सम्र्पकमा आएकाको मात्र स्वास्थ्य जाँच गर्ने नआएकाहरुको अनदेखा भयो भने त्यसको असर सिङ्गो समाजलाई पर्ने देखिन्छ । यतिबेला सही सूचनाको सम्प्रेषण कसरी गर्न सकिन्छ ? त्यस्ता संयन्त्रहरुको निमार्णमा प्रदेश र स्थानीय सरकारको ध्यान जान जरुरी देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप