शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज : ५ लाखको ज्यान लिने स्पेनिस गृहयुद्धको अन्त्य

शनिबार, १५ चैत २०७६, ०७ : ४०
शनिबार, १५ चैत २०७६

आज २८ मार्च । १९३९ मा आजकै दिन जनरल फ्रान्सिस्को फ्रान्कोको राष्ट्रवादी फौजले म्याड्रिड कब्जा गरेसँगै २ वर्ष ८ महिना चलेको स्पेनिस इतिहासकै सर्वाधिक भयावह गृहयुद्ध समाप्त भएको थियो । गृहयुद्धमा झन्डै ५ लाखले ज्यान गुमाएका थिए  ।

सन् १९३१ मा तत्कालीन राजा अल्फोन्सो तेह्रौंले स्पेनको शासन प्रणालीबारे निर्णय लिन जनमतसंग्रह गराएपछि अधिकांश मतदाताले उदार गणतन्त्रको पक्षमा मत हाले,  अल्फोन्सो निर्वासित भए । मध्यमवर्गीय उदारवादी र उदार समाजवादीहरु सत्तामा आए । स्पेन गणतन्त्रिक बनेको यो दोस्रो अवसर थियो । यसअघि पहिलोपटक (११ फेब्रुअरी १८७३ देखि २९ डिसेम्बर १८७४ सम्म) पनि गणतन्त्र थियो ।

गणतन्त्र फर्किएको सुरुवाती पाँच वर्ष सुधारका कार्यक्रमहरु देखिए । क्याटालोनिया र बस्कजस्ता उदार मानिएका राज्यले स्वायत्तता पाए । यसपछि असन्तुष्ट जमिनदार वर्ग, चर्च र ठूलो संख्यामा सैनिक समुहले दोस्रो गणतन्त्रको विरोधमा हिंसा सुरु गरे । यसैअन्तर्गत, जुलाई १९३६ मा जनरल फ्रान्कोले मोरक्कोमा सैनिक विद्रोहको नेतृत्व गरे । यससँगै स्पेन राजावादी–राष्ट्रवादी र गणतन्त्रवादी खेमामा विभाजित भयो । । फ्रान्कोको फौजले गणतन्त्रवादीको नियन्त्रणमा रहेको सेन्ट्रल तथा उत्तरी स्पेनका धेरै भूभाग कब्जा ग¥यो । क्याटालोनियामा  गणतन्त्रवादीको नियन्त्रण रहिरह्यो ।

१९३७ मा फ्रान्कोले स्पेनको फासिस्ट पार्टी फालांगेको झन्डामुनी राष्ट्रवादी–राजावादी दस्ताहरुलाई एकत्रित गरे । यता, गणतन्त्रवादीहरु कम्युनिष्टसँग मिले । इटली र जर्मनीले फ्रान्कोलाई हवाईजहाज, ट्याङ्क र सेनासहित ठूलो सहयोग गरे । यता, गणतन्त्रवादीलाई सोभियत युनियनले सहयोग ग-यो । फ्रान्सका सानो संख्याका कम्युनिष्ट र अमेरिकाका केही समुह पनि गणतन्त्रवादीका पक्षमा थिए । यी विदेशी निकायले युद्धको अन्त्यसम्म म्याड्रिडमा सुरक्षा दिइरहेका थिए । जुलाई १९३८ मा राष्ट्रवादीहरु मेडिटेरानियन समून्द्रमा पुगे र गणतन्त्रवादी आधा भूभागमा खुम्चिए ।

अर्को, जनवरी १९३९ मा फ्रान्कोले क्याटालोनियाको राजधानी बार्सिलोना र लगत्तै पूरै क्याटालोनिया कब्जा गरे । यसपछि रिपब्लिकनले शान्तिवार्ता गर्न आग्रह गरेको थियो, तर फ्रान्कोले अस्विकार गरे । २८ मार्चमा म्याड्रिड गुमाएपछि गणतन्त्रवादीको अन्तिम फौजले १ अप्रिलमा आत्मसमर्पण ग-यो र फ्रान्कोले विजय घोषणा गरे । यही दिन फ्रान्कोले चर्चमा आफ्नो तरबार राख्दै स्पेनमाथि आक्रमणको प्रयास नभएसम्म फेरि तरबार नझिक्ने प्रतिबद्धता जनाए । यी तानाशाहले यसपछि आजीवन अर्थात् २० नोभेम्बर १९७५ सम्म एकलौटी शासन चलाए, उनले आफ्ना लागि ‘काउडिल्लो’ नाम राजा सरहको शक्तिशाली पद सिर्जना गरेका थिए । फ्रान्कोले आफु जीवित छँदै पूर्व राजा अल्फोन्सोका नाति जुवान कार्लोस पहिलोलाई उत्तराधिकारी घोषणा गरेका थिए । उनको निधनपछि जुवान कार्लोस स्पेनका राजा बने । राजा जुवानले फ्रान्कोझैं सैनिक शासनलाई निरन्तरता दिएनन्, बरु शासनप्रणालीमा सुधार गरेर स्पेनलाई संवैधानिक राजतन्त्रात्मक देश बनाए । २०१४ मा जुवानले गद्दी परित्याग गरेपछि छोरा फिलिप छैटौँ राजा बने ।

अरु के– के भयो ?

१९३० – टर्कीमा शहरहरुको नाम परिवर्तन गरियो । राजधानी ‘अंगोरा’ को नाम ‘अंकारा’ र ‘कन्सटानिनोपल’ को नाम फेरेर ‘इस्तानबुल’ राखियो ।

१९४१ – नजरबन्दमा रहेका भारतीय नेता सुभासचन्द्र बोस कलकत्ताबाट भागेर बर्लिन पुगे ।

१९६२– सिरियामा सैनिक विद्रोहपछि राष्ट्रपति नाजिम अल कुद्सी देश छाडेर भागे ।

१९६५– मार्टिन लुथर किङले अश्वेत अमेरिकीहरुको अधिकारका लागि अलाबामा राज्यको राजधानीमा २५ हजारको जुलुस निकाले ।

१९८१ – थाइल्यान्डको राजधानी बैंककमा इन्डोनेशियाली विद्रोहीले एक विमान अपहरण गरे ।

२००५ – इन्डोनेशियाको सुमात्राद्वीपको पश्चिमबाट आएको प्रलयकारी भूकम्पले ९ सयभन्दा धेरैको ज्यान लियो । भूकम्पको धक्का १ हजार किलोमिटर पर थाइल्यान्डको राजधानी बैंककसम्म महसुस गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अन्वेषण अधिकारी
अन्वेषण अधिकारी
लेखकबाट थप