शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मेरो सानो संसार

शनिबार, १५ चैत २०७६, ०८ : ३५
शनिबार, १५ चैत २०७६

छैन,
झ्यालसम्मै आएर
मलाई ब्युँझाउने हिमाल छैन ।
छैन,
दैलोसम्मै आएर
मलाई बोलाउने लालुपाते,सुनाखरी छैन ।
छैन,
गोधुली साँझसम्मै
मसँग खेल्ने भँगेरो, गौंथली छैन ।

मेरो प्रिय गाउँ !
मेरो प्रिय मान्छे !

यतिबेला म
सहरको एक कुनामा
सिमेन्टभित्र कैद छु ।

भुइँ सिमेन्टको,
आकास सिमेन्टको,
भित्ता सिमेन्टको,
दृश्यको क्षेत्रफल सबै सिमेन्टको ।

धन्न !
म सिमेन्ट भइसकेको छुइनँ
यत्तिमै खुशी छु !

संसार चियाउने बहाना-
एउटा टिभी छ
जो देखाइरहन्छ हरदम संक्रमित संसार
र, टिभीबाट गायब छ
क्रान्तिकारी मान्छे !

जीवन चियाउने बहाना-
केही पुस्तकहरू छन्
जसका पात्र र विचारहरू
सायद क्वारेन्टाइनमा छन् !

सडकबाट
एक्कासी हराएको छ
मेरा प्रिय मजदुर साथीहरूको जिवनवादी आवाज !
तिनको जीवन कहाँ होला ?
बेखबर छु ।

उता सरकार व्यस्त छ-
सहयोगमा आएको प्रोटेक्टिभ सामान
सरकारकै मान्छेले नलुकाओस् भनेर ।

यता म व्यस्त छु
घरिघरि हात धुन ।

सरकार र मेरो व्यस्ततालाई छलेर
भाइरस नछिरोस्
मेरो कामना !

म त केवल-
घुम्नुको नाममा
७६ वर्षे बूढा बाउको छेउछाउ घुम्दैछु
जो बनेको छ- तीर्थस्थल

खेल्नुको नाममा
साना छोरीहरूको गुडिया लुकाइदिंदै छु
जो बनेको छ खेलमैदान

यतिबेला म
सहरको एक कुनामा
सिमेन्टभित्र कैद छु ।

ओ अप्रिय कोरोना !

संसार डुलिहिँड्नुपर्ने तिमी
के मेरो सानो संसारमा अट्छौ र ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा