शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड–१९ विरुद्धको युद्धमा विश्वका चुनौती

शनिबार, १५ चैत २०७६, ०८ : ३८
शनिबार, १५ चैत २०७६

कोभिड–१९ नामकरण गरिएको कोरोना भाइरसले अहिले संसारलाई नै आतङ्कित बनाएको छ । चीनको उहान सहरलाई केन्द्र बनाएर उब्जिएर महामारीका रूपमा विश्वभरी फैलिएको यस नयाँ भाइरसले ठूलो मानवीय क्षति गरेको छ । साथै विश्व अर्थतन्त्रमा एकदमै नकारात्मक प्रभाव पार्दै गएको छ । २१औँ शताब्दीका शक्ति सम्पन्न मुलुकहरुको प्रविधियुक्त स्वास्थ्य व्यवस्थालाई पनि चुनौती दिँदै यस भाइरसले विश्वसामु गम्भीर सङ्कट सिर्जना गरेको छ ।

विश्व अहिले बन्दप्रायः अर्थात् लक डाउनको अवस्थामा छ । कोराना भाइरससँग विश्वले युद्ध छेडेको छ तर विगत दुईवटा विश्व युद्धभन्दा पृथक् प्रकारले । युद्ध लड्ने हतियारहरु फरक छन् । सबै राष्ट्रहरु अलग अलग भएर एक्लाएक्लै चुनौतीपूर्ण युद्धमा होमिएका छन् । करिब २०० भन्दा बढी राष्ट्रहरुमा आर्थिक सामाजिक क्रियाकलापहरु ठप्प छन् । मानिसहरु घररुपी बन्दीगृहमा कैद छन् । अस्पताल र अस्थायी स्वास्थ्य शिविरहरु युद्ध मोर्चामा परिणत भएका छन् । शक्तिशाली राष्ट्रका सरकारहरु परीक्षणमा छन् । युद्ध मोर्चामा विजयी हुन्छन् वा युद्ध मैदानबाट पराजित हुन्छन् वा आत्मसमर्पण गरेर फर्किन्छन् । यो विश्व युद्धले एउटा नयाँ विश्व समीकरण एवं शान्तिपूर्ण राजनीतिक तथा आर्थिक उथलपुल ल्याउने सम्भावना पनि उत्तिकै छ ।

पछिल्लो समयमा कोभिड–१९ आतङ्क अलि मत्थर भए पनि कोराना भाइरस लगायतका कारणले चीनको अर्थतन्त्रकोे वृद्धि विगत ३० वर्ष यताकै मन्द छ भने पछिल्लो समयमा करिब ४० लाख सक्रिय जनसङ्ख्याले रोजगारी गुमाउने आकलन गरिएको छ । यस वर्षको सुरुवातमै कोरोना भाइरसका कारण चीनको अर्थतन्त्र झन् प्रभावित हुने देखिएको छ । पहिलो त्रैमासमै चीनको आर्थिक वृद्धि दर अघिल्लो वर्षको ६ प्रतिशतको तुलनामा ४.५ प्रतिशतमै सीमित भएको छ । देशै बन्द हुने अवस्थाले गर्दा चीनको करिब ४२ प्रतिशत अर्थतन्त्र प्रभावित हुने अनुमान गरिएको छ ।

तत्कालीन अवस्थामा बैङ्किङ क्षेत्रमा ऋणीहरुलाई कर्जा भुक्तानी गर्न अप्ठ्यारो भएको छ, जसले गर्दा करिब १.१ ट्रिलियन अमेरिकी डलरसम्म खराब कर्जा पुग्ने अनुमान गरिएको छ । चीनको एयरलाइन्स क्षेत्र बन्द भएका कारण करिब १२.८ अर्ब अमेरिकी डलर राजस्व गुम्ने सम्भावना रहेको छ ।

OECD Interim Economic Assessment (March 2, 2020, प्रतिवेदन अनुसार विश्व  अर्थतन्त्रमा समग्र रूपमा करिब ०.५ प्रतिशतले आर्थिक वृद्धि घट्ने सम्भावना रहेको छ । विश्व अर्थतन्त्रको आर्थिक वृद्धिदर अघिल्लो वर्षको २.९ प्रतिशतको तुलनामा सन् २०२० मा २.४ प्रतिशतमै सीमित हुने सम्भावना देखिएको छ । तर यदि लामो समयसम्म कोरोनालाई नियन्त्रण गर्न सकिएन भने करिब १.५ प्रतिशतले नै विश्व अर्थतन्त्रको आर्थिक वृद्धि घट्ने सम्भावना रहन्छ । विश्वव्यापी रूपमा एयरलाइन्स उद्योगले करिब २१ अर्ब अमेरिकी डलर गुमाउने सम्भावना रहेको छ । बेरोजगारीको समस्या टड्कारो हुनेछ । अमेरिकामा एकै सातामा मात्र करिब ३० लाख नागरिक बेरोजगार भई बेरोजगार भत्ताका लागि सूचीकृत गरेको तथ्य सार्वजनिक भएको छ ।

यसैबीच भारतले कोरोना प्रभावितलाई १७ अर्ब रुपियाँको राहत प्याकेज ल्याएको छ भने ८ करोड गरिबलाई ३ महिना निःशुल्क रासनको व्यवस्था गर्ने घोषणा गरिएको छ । कोरोनाको सङ्क्रमणले विश्व अर्थतन्त्रमा छोडेर जाने नकारात्मक प्रभावसँग साझा रूपले लड्न जी–२० समूहका राष्ट्रहरुले विश्व अर्थतन्त्रमा करिब ५ ट्रिलियन अकेरिकी डलर लगानी गर्ने प्रतिबद्धता भरखरै भएको छ । दक्षिण एसियामा सार्क राष्ट्रहरुको साझा पहल कसरी अघि बढ्ने हो त्यो भने हेर्न बाँकी नै छ । 

नेपालमा पनि कोरोनाको निकै जोखिम क्षेत्रभित्र पर्दछ । चीन, युरोपेली राष्ट्रहरु र अमेरिकालाई कोराना भाइरसले आफ्नो चपेटा लिएको करिब ३ महिनापछि मात्र नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गर्नुका साथै आन्तरिक सप्ताहव्यापी लक डाउन गरेको अवस्था छ र यो समय लम्बिने प्रबल सम्भावना छ । तर कोरोना भाइरससँग लड्ने प्राविधिक तयारी तथा प्रभावित अर्थतन्त्र तथा जनताको तह र तप्कालाई आवश्यक पर्ने राहतसम्बन्धी तयारी त्यति भरपर्दो मान्न सकिने अवस्था छैन । मानिसको आवागमनबाट कोरोना भाइरस सङ्क्रमण हुने हुँदा पछिल्लो समय चैत १ गते यता मात्र नेपालमा तेस्रो मुलुक वा अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउनेको सङ्ख्या करिब १५ हजारको हाराहारीमा रहेकोछ भने १० दिनमा मात्र राजधानीबाट बाहिरका सहर र गाउँतिर जाने मानिसको सङ्ख्या करिब १२ लाख रहेको अनुमान छ । यसैगरी भारतको सीमा नाकाबाट नेपाल पस्ने मानिसहरुको सङ्ख्या करिब ५ लाख रहेको अनुमान छ । पछिल्लो समयमा भएको यस्तो प्रकारको भिडभाडपूर्ण आवागमनले हामी कहाँ भाइरस सङ्क्रमणको जोखिम अत्यन्त बढेको छ । यसलाई व्यवस्थापन गर्न तीनै तहका सरकारहरु क्रियाशील हुनु पर्दछ ।

यस्तो परिस्थितिमा हाम्रो जस्तो कमजोर अर्थतन्त्र भएको मुलुकमा कोराना भाइरसको प्रभाव ठूलै कहरको रूपमा लामो समय रहन सक्छ । एसियाली विकास बैङ्कले गरेको आकलन अनुसार अर्थतन्त्रमा आर्थिक वृद्धि करिब ३६.७८ मिलियन अमेरिकी डलर (०.१३ प्रतिशत) बराबर घट्ने सम्भावना रहेको छ । तर कोरोना प्रकोपलाई अपेक्षित समयमै रोक्न सकिएल भने यो आकडा बढ्न सक्ने सम्भावना पनि उत्तिकै छ । अहिले यसले अर्थतन्त्रमा विभिन्न प्रकारले असर गर्न थालिसकेको छ ।

मलुक बन्दप्राय अवस्थामा छ । या परिस्थिति अझै लम्बिने हो भने वस्तु तथा सेवाको माग, पर्यटन तथा ट्राभल व्यवसाय, व्यवसाय, आन्तरिक तथा बाह्य व्यापार एवं समग्र उत्पादन प्रणाली, आन्तरिक तथा वैदेशिक रोजगारी एवं रेमिट्यान्स, आपूर्ति व्यवस्था, जनस्वास्थ्य, विकास तथा पूर्वाधार निमार्ण आदिमा ठूलो नकारात्मक असर पर्ने देखिन्छ । 

यस्तो अवस्थामा कोभिड–१९ को सङ्क्रमणबाट मानव स्वास्थ्य तथा जनधनको क्षति जोगाउन रोकथाममूलक कार्यक्रमका साथै उपचारात्मक प्रणालीमा आवश्यक साधन स्रोत सहित दक्ष जनशक्तिको प्रभावकारी व्यवस्थापन गर्न जरुरी छ । यसैगरी अर्थतन्त्रको स्वास्थ्य जोगाउन र अर्थतन्त्रका प्रभावित सङ्काय वा क्षेत्र, नागरिकहरु तथा गरिखाने वर्गलाई राज्यका सेवा प्रवाहीकरण आर्थिक राहत प्रदान तथा उद्धार गर्न आवश्यक उपायहरु पहिल्याउँदै सरकारले तत्कालीन तथा अल्पकालीन राहत एवं दीर्घकालीन एकीकृत कार्य योजना घोषणा गरी युद्धस्तरमा कार्यान्वयन गर्नु पर्दछ । अब यसैमा सरकारको परीक्षण हुनेछ । कोरोनाले संसारका सरकारहरुलाई नै चिनाउने छ ।    

[email protected]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जनक शाह
जनक शाह
लेखकबाट थप