बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना संक्रमित चौथो व्यक्तिले क–कसलाई भेटे ? प्रहरीले थाल्यो खोजबिन

धनगढीका एम्बुलेन्स चालकले संक्रमित युवाका परिवारलाई अस्पताल लैजान मानेनन्
शनिबार, १५ चैत २०७६, ११ : ५०
शनिबार, १५ चैत २०७६

कैलाली । चैत्र ११ गते सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका युवक कोरोना भाइरस संक्रमित भएको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले उनले क–कसलाई भेटे भन्नेबारेमा खोजबिन सुरु गरेको छ । 

धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय ती युवा नेपाल आएपछि कुन ठाउँ गए र क–कसलाई भेटे भन्नेबारेमा खोजबिन गर्न थालिएको  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं डीएसपी दक्ष कुमार बस्नेतले जनाएका छन् ।

 युवक युएईको दुबईबाट भारतको राजधानी दिल्ली हुँदै चैत ७ गते काठमाडौ आइपुगेको खुल्न आएको प्रहरीले जनाएको छ । 

यस्तै चैत ८ गते बुद्धएरको फ्लाइटमा उनी नेपालगन्ज पुगेका थिए भने लगत्तै सार्वजनिक यातायातमा धनगढी पुगेका थिए । 

८ गते धनगढी पुगे पछि ३ दिन सम्म युवकले धेरै जना भेटेको हुनसक्ने प्रहरीको अनुमान छ । डीएसपी बस्नेतले भने, ‘हामीयसबारे बुझ्दैछौं । युबक ११ गते मात्र अस्पतालमा भर्ना भएकाले यसबीचमा उनले धेरैजनासँग भेटघाट गरेका हुन सक्छन् ।’

उनका अनुसार प्रहरीले अहिले परिवारका सदस्य र आफन्तलाई घरमा सुरक्षित रुपमा बस्न भनेको छ ।  यस्तै उनीहरुमा कोरोना भए–नभएको जाँच्न आजै स्वाबको नमुना परीक्षणका लागि काठमाडौं पठाउने तयारी गरिएको छ ।  संक्रमित युवाका परिवारमा ८ जना सदस्य छन् ।

संक्रमितका परिवारलाई लिन जाँदा....
कोरोनाको आशंकामा सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका ती युवामा शुक्रबार कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।  लगत्तै शुक्रबार साँझ प्रहरी उनका परिवारलाई लिन धनगढी उपमहानगरपालिका वडा नम्बर ५ स्थित घरमा पुगेको थियो ।

तर, कुनै पनि एम्बुलेन्स चालकले कोरोना भाइरसबाट संक्रमित व्यक्तिका परिवारलाई बोक्न नमान्दा प्रहरी मध्यरातमा रित्तै फर्किनुपरेको छ ।

प्रहरी संक्रमितका परिवारका सबै सदस्यलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राख्नका लागि लिन गएको थियो । प्रहरी स्रोतका अनुसार, संक्रमितका परिवारका सदस्य रहेको थाह पाएपछि कुनैपनि एम्बुलेन्स चालक उनीहरुलाई अस्पतालसम्म लैजान तयार भएनन् ।

प्रहरीले मध्यरातिसम्म एम्बुलेन्स चालकहरुलाई उनीहरुलाई अस्पताल पुर्याउन निकै आग्रह गरेको थियो । तर, प्रहरीको आग्रह कुनै चालकले मानेनन् । एम्बुलेन्स चालकले उनीहरुलाई ल्याउन नमानेपछि प्रहरीको टोली राति करीब १२ बजे त्यतिकै फर्केको थियो ।

एम्बुलेन्स चालकहरुले सुरक्षा कवच नभएको भन्दै एम्बुलेन्स चलाउन नमानेका हुन् । संक्रमित सेती प्रादेशिक अस्पतालमा छन् । घरमा उनका बुवा आमा, दाजु भाउजु, भतिजी, उनकी पत्नी र छोरी सहित आठ जना छन् ।

एम्बुलेन्स चालकले उनीहरुलाई बोक्न नमानेपछि प्रहरीले पैदल अस्पताल ल्याउने कोसिस गरेको थियो । तर, परिवारका सदस्यले मानेनन् । उनीहरुलाई अस्पतालमा ल्याउन नसकिएपछि प्रहरीले घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।

कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आज उनीहरुको ‘स्वाव’ परीक्षण गरिने जनाए ।  उनले परिवारलाइ आइसोलेसनमा राखिने र संक्रमित व्यक्तिसंग सम्पर्कमा आएका व्यक्तिहरुको खोजी कार्य भइरहेको बताए ।

दुबईबाट काठमाडौं फर्किएका युवाले काठमाडौंबाट धनगढीको सोझो टिकट नपाएपछि बुद्ध एयरमार्फत नेपालगंज अवतरण गरी बस चढेर धनगढी पुगेको बताइएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप