बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनः के गर्दैछन् बैंकका सिइओहरु ? कसरी चल्दैछ बैंक ?

बैंकर्स भन्छन्– ग्राहकलाई समस्यामा पार्दैनौँ
शनिबार, १५ चैत २०७६, ११ : ५८
शनिबार, १५ चैत २०७६

कोरोनाभाइरस (कोभिड–१९)को महामारी रोकथामका लागि सरकारले देशलाई लकडाउन गरेको छ । मुलुकको अर्थतन्त्र ठप्प छ । अत्यावश्यक बाहेकका सवै क्षेत्र बन्द छन् ।

तर, अत्यावश्यक क्षेत्रमा पर्ने बैंकहरुले कसरी सेवा दिइरहेका छन् ? के गर्दैछन् बैंकका सिइओहरु ? कसरी चलेका छन् बैंक ? सिस्टमबाट गर्नुपर्ने काम घरबाट सम्भव होला ? बैंकहरुले ग्राहकसँग प्रत्यक्ष सम्पर्कमा आउनुपर्ने आफ्ना कर्मचारीको सुरक्षा कसरी गरिरहेका छन् ? कोरोनाभाइरसको प्रभावले नेपालका बैंकिङ्ग क्षेत्रलाई कस्तो असर गरेको छ ? त यसबारे सवैको चासो हुनु स्वाभाविक हो ।

बैंकर्स संघले आफ्ना ग्राहकहरुलाई सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउन बैंकहरु तयार रहेको बताएको छ । बैंकहरुले पनि एटीएम नभएका शाखा सीमित समयका लागि खुला गर्ने र एटीएममा प्रशस्त पैसा राख्ने व्यवस्था भइरहेको बताएको छ । डिजिटल सेवाहरुलाई प्रोत्साहन गरेका छन् । एउटा बैंकको खातामा रहेको रकम अर्को बैंकको एटीएमबाट निःशुल्क निकाल्न पाउने लगायतका सुविधा बैंकहरुले संकटको यो घडीमा उपलब्ध गराएका छन् ।

लकडाउनको अवधिमा बैंकहरुले आफ्ना ग्राहकलाई कसरी सेवा उपलब्ध गराइरहेका छन् यसबारे हामीले बैंकका सिइओहरुसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, नेपालका ‘क’ वर्गका केही बाणिज्य बैंकका सिइओहरुसँग हामीले गरेको कुराकानी ।

‘प्रहरी, डाक्टर र नर्सलाई जति रिस्क बैंकरलाई छैन’ (पर्शुराम क्षेत्री, सिइओ, ग्लोबल आइएमई बैंक)

सबैभन्दा पहिला म आफ्ना कर्मचारी, ग्राहक अनि सवै नागरिकलाई एउटै सन्देश दिन चाहन्छु कि सवैभन्दा पहिला आफू जोगिनुस् । भाइरस फैलिन नदिन सरकारले गरेको लकडाउनलाई सहयोग गर्नुस् । घरभित्रै बस्नुस् । आशा गरौं, छिटै यो अवस्थाको अन्त्य हुनेछ ।

मुलुक लकडाउनमा छ, अर्थतन्त्र ठप्प छ तर पनि रेमिट्यान्स भने आइरहेको छ । रकम अभाव हुन नदिन र ग्राहकलाई समस्या नहोस् भनेर हामी बैंकर जोखिम मोलेर काम गरिरहेका छौं । सकभर बैंकसम्म आउनेभन्दा पनि डिजिटल प्रविधिबाट कारोबार गर्नुस् ।

हामी पनि सकभर घरबाटै काम गरिरहेका छौं र आवश्यकताअनुसार कार्यालय तथा एटीएममा पैसा भर्न जाने गरेका छौं । कर्मचारीको सुरक्षामा हामी चिन्तित छौं । सुरक्षा सतर्कता अपनाएका छौं तर पनि भाइरसको जोखिम हुन सक्ने भएकाले सतर्कताका लागि अपनाउनुपर्ने सवै उपाय अपनाएर मात्र काममा गएका छौं । म आफै पनि कार्यालय जाने गरेको छु । कर्मचारीको मनोवल बढाउन र ग्राहकको सेवामा कमी नहोस् भनेर लागेका छौं ।

हामीले अहिले भिडियो कन्फेरेन्समार्फत छलफल गरिरहेका छौं । केही निर्णय लिनुपर्दा पनि यहीँबाट लिन्छौं । कारोबारको लागि सिस्टमबाट गर्नुपरेको खण्डमा कार्यालयमै उपस्थित भएका छौं । सरकारले यातायातका लागि उपलब्ध गराएको पास सीमित भएकाले अत्यावश्यक सेवाका लागि जानुपर्ने कर्मचारीका लागि प्रयोग गरेका छौं । विशेष गरेर एटीएममा पैसा भर्नका लागि हामी तयारी अवस्थामा बस्नु पर्छ । यसमा विशेष ख्याल गरेका छौं ।

हाम्रा ग्राहकलाई पैसा निकाल्न नपाएर खाद्यान्न, औषधी किन्न नपाउने अवस्था नआओस भनेर कर्मचारीलाई सतर्क गराएका छौं । हाम्रो कारण ग्राहकले समस्या झेल्न नपरोस् भनेर हामी जोखिम मोलेरै खटिएका छौं । नोटलाई डिसइन्फेक्सन गरी एटीएममा राखेका छौं र शाखाका काउण्टरहरु पनि सीमित अवधिका लागि खोलेर सेवा दिएका छौं ।

हाम्रा शाखा, शाखा प्रमुखलाई फोन गरेर सिधै ग्राहकले सेवा लिन सक्नुहुन्छ । शाखा प्रमुख तथा डिपार्टमेन्टका सम्वन्धित कर्मचारीको नाम र फोन नम्बर सार्वजनिक गरी ग्राहक समक्ष पुर्याएका छौं ।

जसरी फ्रन्टलाइनमा रहेर काम गर्ने प्रहरी, डाक्टर अनि नर्सलाई संक्रमणको जति जोखिम छ त्यस्तो जोखिम बैंकरलाई छैन । हामीले सकेसम्म घरबाटै र डिजिटल्ली काम गरिरहेका छौं । आवश्यक पर्दा पनि विशेष सतर्कता अपनाएका हुन्छौं ।

यतिवेला अत्यावश्यक भनेको एलसी ग्यारेन्टी अनि क्लियरिङको काम हो । हाम्रा कर्मचारीहरु पालैपालो मिलाएर काम गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले स्वास्थ्य सेवासँग सम्बन्धित उपकरण र औषधि आयातका लागि टीटी र ड्राफ्टको सीमा ३० हजार डलरबाट बढाएर एक लाख डलरसम्म पुर्याइदिएको छ ।

अब कोरोनाभाइरससँग सम्बन्धित औषधिजन्य सामाग्री तथा स्वास्थ्य उपकरणहरुको आयातको हकमा एक लाख डलरसम्मको ड्राफ्ट र टीटीको माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । यसको लागि हाम्रा कर्मचारी तयारी अवस्थामा छन् । यसबाट पनि यो महामारीको अवस्थामा सरकारलाई सहयोग पुर्याउन सकिन्छ । महामारीको असर विश्व कै अर्थतन्त्रमा परिरहेको बेला हामीले नाफालाई भन्दा पनि सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।

स्वास्थ्य मन्त्रीले एलसी नखोली सामान मगाउन मिल्ने नीति लिएको बताएसँगै केही राहत भएको छ । यसले संकटको समयमा अत्यावश्यक सामान खरिद गर्न सहज हुने अपेक्षा छ ।

‘अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरेका छौं’ (किरण कुमार श्रेष्ठ, सिइओ, राष्ट्रिय वाणिज्य बैंक)

कोरोनाभाइरसको महामारीको जोखिम न्यूनिकरणका लागि सरकारले पुरै देशलाई लकडाउन गरेसँगै म पनि यतिबेला होम क्वारेन्टाइनमा छु । क्वारेन्टाइनमा बसे पनि बैंकका केही थाँती रहेका कामहरुलाई पूर्णता दिनमा र बैंकका डे टु डे काममा धेरै समय बित्ने गरेको छ ।

हामी अहिले बिदामा छैनौं, मात्र आफूलाई आइसोलेट गरेका हौं । अझ हामी त जनतालाई सेवा दिन हरदम तयार रहनुपर्ने भएकाले घरबाटै गर्न सकिने काम गरिरहेका छौं । आवश्यक पर्दा कार्यालय पनि पुगेका छौं । हाम्रा ७७ जिल्लामा फैलिएका २४० शाखामा समन्वय गर्नेदेखि लिएर विभिन्न कामहरु भइरहेका छन् । सकेसम्म फोनबाटै समन्वय गरेर काम गरिरहेका छौं ।

विशेष सावधानी अपनाएर कार्यालयबाट दिनुपर्ने सेवा पनि दिइरहेका छौं । कर्मचारीलाई कसरी आफू सुरक्षित रहने भन्नेबारे सचेत गराएका छौं । कार्यालय पुग्नैपर्ने अवस्थामा विशेष सावधानी अपनाएका छौं र बाँकी काम घरबाट गरेका छौं ।

विश्व अर्थतन्त्रमै कोरोनाको गहिरो असर परेको छ, यसबाट बैंकिङ्ग क्षेत्र अछुतो हुने कुरै भएन । तत्काल यसको असर कति भनेर आंकलन गर्न सकिने अवस्था पनि छैन । प्रार्थना गरौं, यो संकट छिट्टै अन्त्य होस् र विश्व पुनः उही गतिमा अगाडी बढोस् ।

सबै बैंकहरुले अहिले ग्राहकहरुलाई डिजिटल बैंकिङ्गबाट कारोबार गर्न अनुरोध गरेका छन् र बैंकका शाखाबाट कुनै सेवा लिन परेमा सिधै शाखा प्रमुख वा सम्पर्क व्यक्तिलाई फोन गरेर सेवा लिन सक्ने व्यवस्था गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकले पनि ग्राहकहरुलाई शाखाका सम्पर्क व्यक्तिको फोन नम्बर उपलब्ध गराएर सिधै सम्पर्क गरी सेवा लिने व्यवस्था गरेको छ । कुनै समस्या परेमा बैंकको हटलाइन सेवामा सिधै सम्पर्क गर्न सकिने छ ।

बैंकले सामान आयात गर्न प्रतितपत्र (एलसी), ग्यारेन्टीका लागि फोकल पोइन्टमार्फत काम गरिरहेको छ । अत्यावश्यक सामान आयात गर्नु परेमा मात्र एलसीको सेवा दिइरहेको र अन्यलाई अहिले तत्कालका लागि स्थगित गरिएको छ ।

लकडाउनको अवधिलाई एउटा अवसरको रुपमा पनि हेरेको छु मैले । लामो समयपछि परिवारसँग समय बिताउने अवसर मिलेको छ । दुई छोरा, बुहारी अनि नाति–नातिना छन् । मेरो लागि सवैभन्दा महत्वपूर्ण नातिनातिनासँग समय बिताउन पाउनु हो । लकडाउनले हामीलाई एक पनि गराएको छ । हुन त धेरैजसो समय कार्यालयको काम मै व्यस्त हुन्छ तर पनि बच्चाहरुसँग समय बिताउन पाउँदा अर्कै आनन्द आएको छ ।

बाहिरको स्थिति निकै पिडादायी छ । हामीले आफूलाई कसरी सुरक्षित राखौं, मानसिक तनावको अवस्था त छ नै तर पनि हामीले आफूलाई सुरक्षित राख्न सकेमा परिवार अनि समाज सुरक्षित हुन्छ । त्यसैले घरभित्रै बसौं ।

‘जिन्दगीको महत्वलाई बुझ्ने अवसर मिलेको छ’ (अनिल शाह, सिइओ, नबिल बैंक)

मुलुक लकडाउनमा छ । यो अवधिमा बैंकहरुले डिजिटल प्रविधिबाट र एटीएमबाट मात्रै कारोबार गर्न समस्त ग्राहकहरुलाई आग्रह गर्दै आइरहेका छन् । यस्तैमा हामीले (नबिल बैंक)ले पनि आफ्ना ग्राहकलाई सकभर डिजिटल प्रविधिबाट कारोबार गर्न आग्रह गरेका छौं । यो सेवा अहिले निःशुल्क उपलब्ध छ ।

यो अवधिमा रकमको आवश्यकता पर्ने भएकाले निश्चित समयमात्र भए पनि शाखा खोलेर ग्राहकलाई सेवा दिएका छौं ।  सकेसम्म इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्गको प्रयोग गरी कारोबार गरौं, सम्भव नभएको खण्डमा शाखा प्रमुख अनि शाखाका सम्वन्धित कर्मचारी तयारी अवस्थामा छन् । सिधै सम्पर्क गर्नको लागि शाखा प्रमुख र सम्वन्धित कर्मचारीको फोन नम्बर उपलब्ध छ ।

कर्मचारीलाई कार्यालय जाऊ भन्ने तर आफू नजाने भन्ने हुँदैन । म आफै पनि शाखाहरुमा पुग्ने गरेको छु । सम्भव भएसम्म घरबाटै, नभएको खण्डमा हामी हाम्रा ग्राहकको सुविधाका लागि जोखिम मोलेरै काम गरिरहेका छौं । कार्यालय जानुपरेको अवस्थामा मास्क, पन्जा, सेनिटाइजर अनिवार्य र ग्राहकहरुलाई पनि हात धोएरमात्र भित्र प्रवेश गराएका छौं । कर्मचारी, गार्ड सवैले विशेष सतर्कताका साथ सेवा दिइरहनु भएको छ ।

सकेसम्म सवैजना घरभित्रै बसौं । भाइरसले यो–त्यो भन्दैन, त्यसैले सवैले सजगता अपनाउँ । नोटलाई डिसइन्फेक्सन त गरिएको छ तर पनि एक व्यक्तिबाट अर्कोमा नोट जाने भएकाले भाइरस सर्ने सम्भावना ज्यादा हुन्छ । त्यसैले सकेसम्म डिजिटल प्रविधिको नै प्रयोग गरौं ।

औषधीजन्य, खाद्यान्न र अत्यावश्यक सामान आयात गर्नका लागि मात्रै एलसी, ग्यारेन्टीको काम गर्न सरकारले निर्देशन दिएकाले नबिल बैंकको ट्रेड फाइनान्सका कर्मचारीले पालैपालो यो सेवा दिइरहेका छन् । अन्य सामाग्रीका लागि भने अहिले एलसी ग्यारेन्टी खोल्न बन्द गरिएको छ ।

देशको अर्थतन्त्र राम्रो भएमा ब्ैकिङ्ग क्षेत्र स्वतः राम्रो हुन्छ । कोरोनाभाइरसको महामारीले हामीलाई पनि थला पारेको छ । भूकम्पले भन्दा १० गुणा बढी असर गर्ने प्रष्ट देखाएको छ । हाम्रो देशको अर्थतन्त्रका तीन खम्बा पर्यटन, कृषि अनि जलस्रोत नै हुन् । यी क्षेत्रमा असर पर्ने वित्तिकै बैंकमा सिधा असर पर्छ । हाम्रो अर्थतन्त्रको अर्को महत्वपूर्ण पक्ष भनेको रेमिट्यान्स हो । अहिले रेमिट्यान्स भने आइरहेको छ ।

आजभोलि जिन्दगीको महत्वबोध हुन थालेको छ । कोरोनाभाइरसको महामारी फैलिएसँगै बल्ल जिन्दगीको महत्व बुझ्न थालिएको छ । मैले यो समयमा कार्यालयको काम बाहेक घर परिवारलाई पनि समय दिन भ्याएको छु । किताव पढ्ने, टिभी हेर्ने, आराम गर्ने, सरसफाई, बगैंचा, फुलको हेरचाहमा समय दिन पाएको छु । हामी जति सकारात्मक हुन्छौं, उती रोग प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले पनि आफ्नो लागि समय दिन थालेको छु ।

‘फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार’ भनेजस्तै सकारात्मक सोचौं । कोरोनासँग लड्न हामी आफू बलियो हुनु जरुरी छ । हामी जीवित रहनको लागि सुरक्षित हुनुपर्छ त्यसैले सुरक्षाका उपाय अपनाएर बसौं ।

यो ख्याल ठट्टा होइन, यो कुनै मजाक होइन, जिन्दगीको कुरा हो, जीवित हुनु जरुरी छ त्यसैले घरमै बस्नुहोस् । विश्वको हालको अवस्थाबाट पाठ सिकेर हामीले आफूलाई बचाउनु जरुरी छ ।

‘मानसिक रुपमा बलियो बनौैं’ (अनुपमा खुञ्जेली, सिइओ, मेगा बैंक नेपाल )

मुलुक लकडाउनमा गएसँगै मेगा बैंकले एटीएम नभएका ठाउँका शाखा कार्यालय सीमित अवधिको लागि मात्रै खोल्ने गरेको छ । एटीएम भएका शाखाहरु भने बन्द गरेका छौं ।

हाम्रा लागि कर्मचारी र ग्राहकको सुरक्षा सबैभन्दा महत्वपूर्ण पक्ष हो त्यसैले सकभर कार्यालयबाट भन्दा पनि घरबाटै र डिजिटल प्रविधिबाट कारोबारमा जोड दिएका छौं । सवै शाखाका प्रमृुखहरुको फोन नम्बर सार्वजनिक रुपमा मिडिया तथा बैंकको साइटमा उपलब्ध गराएर आवश्यकताअनुसार सम्पर्क गरी सेवा लिन अनुरोध गरेका छौं ।

हामीले एलसी, ग्यारेन्टी, क्लियरिङका कामका लागि भने कर्मचारीलाई तयारी अवस्थामा राखेका छौं । अत्यावश्यक सामानको आयातका लागि पेमेन्ट गर्नुपर्ने अवस्थामा हामी तयार भएर बसेका छौं ।

बैंकका शाखा प्रमुख, डिपार्टमेन्ट प्रमुखहरु तथा सम्वन्धित कर्मचारीहरुले घरबाटै काम गरिरहेका छन् । ग्राहक तथा सम्वन्धित व्यक्तिहरुसँग सम्पर्कमा छन् । हामीले यो संकटको अवस्थामा कसरी काम गर्ने र कसरी ग्राहकलाई सेवा दिने भनेर ह्वाट्स एपमा ग्रुप बनाएर सरसल्लाह तथा छलफल गर्ने गरेका छौं ।

अहिले हामीले ४३ जिल्लामा सेवा दिइरहेका छौं । जोखिम मोलेर सेवामा खटिदा संक्रमणको डर उत्तिकै छ । यो महामारीमा आफू सुरक्षित भएमा मात्र अर्कोलाई सुरक्षित राख्न सकिने भएकाले सकेसम्म कार्यालय भन्दा घरबाटै काम गर्ने कोशिस गरेका छौं । त्यसैगरी, अहिले यातायातको पनि समस्या छ । सरकारले उपलब्ध गराएको पास सीमित भएकाले पालैपालो कार्यालय जाने गरेका छौं ।

कर्मचारीको मनोवल बढाउन र उनीहरुको सुरक्षाका लागि हामीले सावधानी अपनाएका छौं । कार्यालय जानुपर्दा सुरक्षा सतर्कताका लागि चाहिनै सवै सामान उपलब्ध गराएर ती प्रयोग गरेर मात्र काममा खटिएका छौं ।

विश्व अर्थतन्त्र नै यतिबेला शिथिल बनेको छ । विज्ञहरुले अव विश्वमा २५ करोड जनता बेरोजगार हुन सक्ने अनुमान गरेका छन् । कोरोनाभाइरसको महामारी अझै कति समय लम्बिने हो, थाहा छैन । विश्व नै पीडामा रहेको बेला हामीले आ–आफ्नो ठाउबाट गर्ने भनेको आफूलाई सुरक्षित राख्ने हो । त्यसैले घरमै बसौं, जीवन रह्यो भने र संसार रहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप