केन्द्रीय संस्करण

कोरोना र अर्थतन्त्रमा यसको प्रभाव

person explore access_timeचैत १५, २०७६ chat_bubble_outline0

-हुमराज भुसाल 

विश्व यतिबेला कोभिड–१९ को सङ्क्रमणबाट प्रभावित भएको छ । सन् २०१९ को अन्तिम साता चीनको उहान सहरबाट फैलिएको यो रोगलाई संयुक्त राष्ट्र सङ्घ स्थापनापछिको गम्भीर सङ्कटका रूपमा लिइएको छ । जुन तथ्यलाई यसका बारेमा भइरहेका विभिन्न अध्ययन अनुसन्धानले पनि प्रमाणित गरिरहेका छन् ।

सन् २०१९ को अन्तिम साताबाट फैलिएको यस रोगबाट यो लेख तयार पार्दासम्म विश्वका १९६ देश र एक अन्तर्राष्ट्रिय पानीजहाज यस रोगबाट पीडित बनिसकेका छन् । जसमा ४ लाख ५० हजार बढी मानिसहरु पीडित बनेकोमा २१ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यस रोगलाई पूर्ण रूपमा मानव नियन्त्रित गर्न करिब दुई वर्ष लाग्ने र नियन्त्रणका लागि विभिन्न किसिमका प्रयासहरु भइरहेका छन् । यो माहामारीमा परी ज्यान गुमाउन पुगेका हरेक मृत्य आत्माको चीर शान्तिको कामना गर्दै यो लेखलाई अगाडि बढाउँदै छु । 

कोरोनाका कारणले विश्व अर्थतन्त्रमा निकै नै नकारात्मक असर परेको छ भने शक्तिशाली अर्थतन्त्र भएका देशहरु चीन, अमेरिका, जापान, इटाली, बेलायत जस्ता मुलुकको अर्थतन्त्रमा निकै नकारात्मक प्रभाव परिरहेको कुरा ती देशको बाह्य तथा आन्तरिक व्यापार पूर्ण रूपमा असफल भएका घटनाले प्रमाणित गरिरहेका छन् । यसैगरी कोभिड–१९ को प्रभाव विकासोन्मुख देशहरुमा समेत तीव्र गतिमा परिरहेको छ ।

यसर्थ यसको प्रभाव विकसित तथा विकासोन्मुख दुवै अर्थतन्त्रमा परिरहेको छ । कोभिड–१९ को कारणले विश्व अर्थतन्त्र दुई दशक पछाडि धकेलिएको कुरालाई विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताले बताइरहेका छन् । कोरोना भाइरसको कारणले विकसित र विकासोन्मुख देश बीचको आर्थिक खाडल अझ बढी तीव्र गतिमा बढ्ने पूर्वानुमान गरिएको छ भने विकासोन्मुख देशको आयात तथा निर्यातको अवस्था विकराल परिस्थितिबाट गुज्रिरहेको छ ।

विश्व अर्थतन्त्रमा एक करोडभन्दा बढी मानिसले आफ्नो दैनिक रोजगारी गुमाएका छन् । विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय उद्योगहरुले आफ्नो उत्पादन क्षमतामा भारी मात्रामा कटौती गरिरहेका छन् । यसैगरी हरेक विकसित र विकासोन्मुख देशले आफ्नो विकास खर्चको रकमलाई रकमान्तर गरी कोभिड–१९ बाट बच्ने उपायको खोजी गरिरहेका छन् । यस लेखमा यस माहामारीले अर्थतन्त्रमा कस्तो प्रभाव पर्दछ भन्ने विषयमा यस लेखमा विश्लेषण गर्ने प्रयास गरिएको छ । जसमा विभिन्न अन्तर्राष्ट्रिय समाचार ऐजिन्सीहरुको प्रतिवेदनलाई आधार मानिएको छ ।

१. बैङ्क तथा वित्तीय संस्थामा पर्ने प्रभाव
कोभिड–१९ को अत्यन्तै नराम्रो प्रभाव विश्व अर्थतन्त्रमा बैङ्क तथा वित्तीय संस्थाले भोग्नु परिरहेको छ । आज संसारका सबै मुलुकका सार्वजनिक तथा व्यक्तिगत हरेक कारेबार वित्तीय संस्थाबाट हुने गरेका छन् । बैङ्क तथा वित्तीय संस्थाहरुले विभिन्न क्षेत्रमा गरेको लगानीबाट प्राप्त हुने प्रतिफल सन् २०२० का कुनै महिनामा आएको छैन । बैङ्क तथा वित्तीय संस्थाले आफ्ना बचतकर्तालाई उनीहरुको बचतको रकम भुक्तानी गर्नुपर्ने बाध्यकारी अवस्था छ । जसका कारणले वित्तीय संस्थाहरुले आम्दानी र बचत तथा लगानीको बीचमा सन्तुलन कायम गराउन सकिरहेका छैनन् । आम्दानी र बचतका बीचमा प्रतिकूल अवस्था सिर्जना हुँदा बैङ्क तथा वित्तीय संस्था र सरकार स्वयंले आगामी दिनहरूमा तरलताको अभावको स्थिति सामना गर्नुपर्ने बाध्यकारी अवस्था आउने कुरालाई समुद्राको क्षेत्रमा कार्यरत विभिन्न अन्तर्राष्ट्रिय सङ्घ संस्थाले प्रक्षेपण गरिरहेका छन् । 

२ सार्वजनिक खर्चमा वृद्धि
आज संसारका सम्पूर्ण कोभिड–१९ पीडित मुलुकले आफ्नो हरेक विकास खर्चमा कटौती गरेर कोरोनाका बिरामीको उपचारलाई प्राथमिकतामा राखेर काम गर्नु परिरहेको छ । जसका कारण ती देशको साधारण खर्चमा वृद्धि आएको छ भने आकस्मिक रूपमा गर्न परिरहेको यस खर्चले गर्दा देशहरुको विकासात्मक गतिविधि पूर्णरूपमा रोकिएका छन् । विश्वव्यापी महामारीबाट बच्न विभिन्न प्रकारका अध्ययन, अनुसन्धान गर्न विभिन्न प्रकारका क्रियाकलाप सञ्चालन गर्दा हरेक देशले घाटा बजेटको निमार्ण गर्नुपर्ने र विभिन्न व्यावसायिक प्रतिष्ठानको घाटा पनि सरकारी तवरबाट नै पूरा गर्नुपर्ने बाध्यकारी परिस्थितिका कारणले गर्दा देशको सार्वजनिक खर्च बढिरहेको छ । अर्थतन्त्रमा सरकारी खर्चको मात्रामा आकस्मिक रूपमा वृद्धि हुन जाँदा त्यसले अर्थतन्त्रमा प्रतिकूल भुक्तान सन्तुलन, मुद्रास्फीति, बजार मूल्यमा प्रतिकूलता, समष्टिगत माग र आपूर्ति बीच असन्तुलन, हस्क्षेपकारी विनिमयदर प्रणालीको अभ्यास जस्ता मौद्रिक समस्या पनि सिर्जना हुनेछन् । 

३ श्रम र ज्यालादरमा प्रभाव 
कोभिड–१९ को विशेष प्रभाव श्रम र श्रमिको ज्यालादरमा पर्ने पूर्वानुमान गरिएको छ । विशेषगरी पुँजीपति तथा उद्योगपतिहरुले श्रमिकको ज्यालादर निर्धारण गर्दा यस्तो महामारीको समयमा उसको सीमान्त उत्पादकत्वलाई केन्द्रमा राखेर काम गर्ने भएकाले हो । यो समयमा श्रमिकको वास्तविक ज्याला र मौद्रिक ज्यालादरका बीचमा निकै नै ठूलो अन्तर पैदा हुने गर्दछ । अल्पकालीन समयमा श्रमिकहरुले आफ्नो दैनिक जीवनस्तर सञ्चालन गर्नको लागि कम मौद्रिक ज्यालादरमा पनि काम गर्न बाध्य हुनेछन् ।

जसबाट लगानीकर्ता वा रोजगारदाताले अनुचित लाभ उठाउने छन् । यसकारण अल्पकालीन समयमा महामारीबाट श्रमिक वर्ग प्रत्यक्ष रूपमा पीडित बन्ने सम्भावना बढिरहेको छ । यसका साथै अल्पकालीन समयमा श्रमको आपूर्र्तिमा आउने कमीका कारणले गर्दा अधिक सङ्ख्यामा श्रमिकहरु बेरोजगार भई बस्नुपर्ने विवश अवस्था सिर्जना हुनेछ । जसको प्रभाव अर्थतन्त्रको समष्टिगत मागका क्षेत्रमा पनि नकारात्मक रूपमा देखापर्ने गर्दछ । विदेशी मिडियाका अनुसार चीनमा मात्रै ४० लाख रोजगारी गुमेका छन् भने अन्य विकसित तथा विकासोन्मुख दुवै अर्थतन्त्रमा रोजगारी कटौती हुँदै गइरहेका छन् । यसका कारण विकासोन्मुख देशहरुमा गरिबीको सङ्कटका रूपमा थप कैयौँ वर्षसम्म कायम रहनेछ । 

४ लगानी र ब्याजदरका क्षेत्रमा प्रभाव 
कोरोना भाइरसका कारणले विश्व अर्थतन्त्रमा विगतमा गरिएको लगानी र निर्धारण गरिएको ब्याजदरलाई पुनः परिभाषित गर्नुपर्ने स्थितिको सिर्जना भएको छ । विश्व अर्थतन्त्रमा सञ्चालन गरिएका विभिन्न नयाँ नयाँ खोज अनुसन्धानमा गरिएको लगानी तत्काललाई स्थगित गरेर कोरोनाको रोकथाममा गर्नुपर्ने भएको छ । विभिन्न अनुसन्धानमा गरिएको लगानीको ब्याज छुट वा ब्याजको दर न्यून गर्नुपर्ने स्थितिको पैदा भएको छ, जसका कारणले लगानीकर्ताको लगानी फिर्ता आउने सम्भावना कायम रहन्छ । कोरोनको कारणले गर्दा विश्व अर्थव्यवस्थामा विकास निमार्ण तथा अन्य गतिविधि सञ्चालन गर्नको लागि पैसाको अभाव परिरहेको छ ।

यसले अल्पकालीन समयमा ब्याजको दरमा वृद्धि ल्याउने गर्दछ जुन आर्थिक विकासका लागि बाधक मान्निछ । वर्तमान समयमा निजी क्षेत्रका लगानीकर्ताहरु एकदमै त्रसित बनेको अवस्था छ किनकि उनिहरुको वैदेशिक व्यापारको स्थिति कोमामा गएको बिरामी सरह छ । विकासोन्मुख देशले लिएको दुई पक्षीय तथा बहुपक्षीय ऋणको ब्याज पनि तिर्न नसक्ने स्थितिको सङ्केत यो जैविक सङ्कटले गरेको हुनाले ती देशको अर्थतन्त्र ऋणको पासोमा पनि पुग्न सक्ने भनेर विश्व अर्थतन्त्र जगतमा चिन्तन व्यक्त भइरहेका छन् ।

५ उत्पादकत्वमा प्रभाव
कोभिड–१९ को नकारात्मक प्रभाव उत्पादनका क्षेत्रमा पनि परिरहेको छ । विश्व प्रसिद्ध उत्पादन कम्पनीहरुले आफ्नो उत्पादन क्षमतामा ५० प्रतिशतभन्दा बढीका दरले कमि ल्याएका छन् भने नाइक र एडिडास जस्ता कम्पनीले पूर्ण रूपमा उत्पादन गतिविधि बन्द गरेका छन् । यसरी उत्पादनमा कटौती तथा बन्द गर्नुको मुख्य कारण हरेक प्रकारका यातायातका साधनको सञ्चालनमा लगाइएको अस्थायी बन्देज साथै विकसित तथा विकासोन्मुख देशमा विलासी तथा आरामदायी वस्तुको मागमा आएको कमी एवं अत्यावश्यक तथा मेडिकल सामग्रीको मागमा आएको तीव्र वृद्धिलाई लिन सकिन्छ । अल्पकालीन तथा दीर्घकालीन दुवै समयमा मेडिकल तथा अत्यावश्यक क्षेत्रका उत्पादनले मात्र विश्व अर्थतन्त्रको उत्पादकत्वमा सकारात्मक प्रभाव पार्न नसक्ने भएकाले सबै प्रकारका वस्तु तथा सेवाको उत्पादकत्वमा वृद्धि आउनु आवश्यक हुन्छ तर कोरोना यी सबै क्षेत्रको उत्पादन क्षमतामा नकारात्मक परिवर्तन ल्याएको छ ।

अल्पकालीन समयमा उत्पादकले उत्पादनका विभिन्न साधन स्रोतमध्ये श्रमलाई आफ्नो इच्छानुसार प्रयोग गर्न सक्ने क्षमता राख्ने भए पनि यो महामारीले विश्व अर्थतन्त्रमा श्रमिकलाई उत्पादन कार्यबाट वञ्चित गराई राखेको छ । जसका कारणले गर्दा विकसित तथा विकासोन्मुख दुवै अर्थतन्त्रले अबका केही वर्ष न्यून उत्पादकत्वको कारणले सिर्जना हुने अन्य सङ्कटहरुको पनि सामना गर्नुपर्ने बाध्यता पनि आउनेछ । विशेषगरी कोरोना भाइरसले उत्पादनका दुवै प्रविधि श्रम प्रधान र प्रविधि प्रधानमा ऋणत्मक योगदान गरेका कारणले विश्व अर्थतन्त्रको उत्पादकत्वमा प्रभाव परिरहेको छ, जुन केही वर्षसम्म कायम रहिरहनेछ ।

६ प्रतिव्यक्ति आयमा प्रभाव 
यो महामारीका कारणले गर्दा विश्व अर्थतन्त्रमा नियमित रूपमा सञ्चालित हुन सकिरहेको छैन । त्यसकारण विश्व अर्थतन्त्रमा लगानीका वातावरण बन्द अवस्थामा छन् । जसको कारणले श्रमिकको समष्टिगत मागमा निरन्तर रूपमा कमी आई रोजगारीका अवसरहरु दिन प्रतिदिन बन्द हुँदै गइरहेका छन् । सन् २०२० मा विकसित तथा विकासोन्मुख दुवै मुलुकको प्रतिव्यक्ति आय तथा क्रयशक्ति क्षमतामा क्रमशः गिरावट आउनेछ र यसले गर्दा विश्वको पुँजी निर्माणको गतिमा ब्रेक लाग्नेमा दुई मत छैन । हरेक देशका पुँजी निर्माणको मुख्य स्रोत प्रतिव्यक्ति आय हो र यस्तो आय जति धेरै हुन्छ त्यति नै बढी पुँजी निर्माणका आवश्यक सर्तहरु क्रियाशील हुने गर्दछन् तर यो कोरोना भाइरसले करोडौँ मानिसको रोजगारी कटौती गरेको छ भने त्यति नै सङ्ख्यामा रहेका व्यक्तिको प्रतिव्यक्ति आम्दानीमा पनि कमी ल्याएको छ । 

७ जनसाङ्ख्यिक प्रभाव 
विश्व मानव सभ्यतालाई निरन्तरता दिनको लागि जनसाङ्ख्यिक घटनाहरु जन्म, मृत्यु तथा बसाइँ सराइमा प्राकृतिक बाहेकका अन्य अवरोधहरु आउनु हँुदैन तर यो महामारी सुरुमा प्राकृतिक रूपमा रहँदै मानवीय प्रयासबाट नियन्त्रण गर्न नसकिएको कारणले गर्दा यसले सम्रग मानव सभ्यता माथि नै चुनौती पेस गरेको छ ।

यति मात्र नभई कोरोना भाइरसले मानिसरुलाई मनोवैज्ञानिक रूपमा पनि आक्रान्त पारेको कारणले गर्दा मानव सभ्यतालाई दिगो बनाउन आवश्यक सन्तान पुनः उत्पादन गतिविधिमा लाग्न सकिरहेका छैन । जसको नकारात्मक असरहरु आगामी ५ वर्षपछि देखा पर्नेछन् । यसभन्दा अगाडि पहिलो र दोस्रो युद्धको समाप्तिको छ सात वर्षपछि जनसाङ्ख्यिक समस्या विश्वले भोगेको थियो । जुन पुनः कोरोना भाइरसको कारणले विश्व जनसाङ्ख्या देखाउनेमा कुनै शङ्का छैन ।

हाल देखा परेको यो सङ्कट छिटै समाधान होस र यसैका कारणले आगामी दिनमा कसैले पनि ज्यान गुमाउन नपरोस् । सबैमा सकारात्मक सोचको विकास गरौँ । 
 

स्रोत :

1.    Aguiar, A. Chepeliev, M. Corong ,E. McDougall R. &Vander Mensbrugghe D. (2019)
2.    OECD (2020) http: www.oecd.org

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.