बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
कविता

सेता कपडा लगाउनेहरु

शनिबार, १५ चैत २०७६, १३ : ३१
शनिबार, १५ चैत २०७६

–दीपक एमसी

आमा !
मलाई तपाईंले सिकाउनुभो–
भगवान मन्दिरमा हुन्छन् भनेर !
सानो मान्छेलाई सायद थोरै
बुझ्न सम्झन सक्दैन धेरै
भनेर होला तपाईंले ।
आज तपाईंले भनेका जस्तै भगवान
सेता कपडा लगाएर
मन्दिरमा हैन– हस्पिटलमा व्यस्त छन !
सायद सानोमा तपाईंले मलाई
फकाई फकाई
सम्झाएका भगवान यिनै होलान् !

आमा अब म धजा चढाउँदा
सेतो मात्रै चढाउँछु !
मलाई सेतो रङसँग
प्रेम भएको छ
भक्ति भावले भरिएको छ
म यी सेता कपडा लगाउनेलाई
तुलना गर्दछु– भगवानसँग मात्रै हैन
वीर योद्धाहरुसँग पनि
मलाई लाग्छ यिनीहरू भक्ति थापा हुन् !
अमरसिंह हुन् अनि वीर बलभद्र पनि !
अग्रमोर्चामा रहेर लडिरहेछन्
तपाईं हाम्रा खातिर

सुन्छु इटालीमा एक सेतो कपडा लगाउनेले
ज्यान आहुती दिइन् अरे !
हाम्रा वीर सहिदले जस्तै
अनि फेरि तुलना गर्दछु
यी सेता कपडा लगाउनेहरुलाई
दशरथ चन्द, धर्मभक्त माथेमा,
शुक्रराज अनि गङ्गालालसँग पनि
दुस्मनसँग लड्दा लड्दै
जब दुस्मनले कब्जा गर्यो
ती सेता कपडा लगाउनेलाई
उनले आफ्नो प्रवाह नगरी
हाम्रै खातिर ज्यान उत्सर्ग गरिछन् !
दुस्मनहरु सलबलाउँछन् भनेर 
दुस्मनसँग लड्ने त्यो मनलाई सलाम !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप