शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राजविराजमा ग्यासको अभाव, उपभोक्ता मारमा

शनिबार, १५ चैत २०७६, १५ : १३
शनिबार, १५ चैत २०७६

सप्तरी । कोरोना भाइरसको महामारीलाई रोकथाम गर्न नेपाल सरकारले अह्वान  गरेको  लकडाउनले अहिले सप्तरी जिल्लाको राजविराजसहित विभिन्न ठाउँमा खाना पकाउने ग्यास अभाव भएको छ  ।  

कोरोना भाइरस नियन्त्रण गर्न सरकारले अह्वान गरेको लकडाउनले जिल्लाको विभिन्न ठाउँका बजार, पसल पूर्णरुपमा बन्द भएका कारण सहज रुपमा ग्यास उपलब्ध नभएपछि उपभोक्ताले गुनासो गरेका छन् । राजविराजका ग्यास विक्रेता ग्यास अभाव रहेको भन्दै उपभोक्तालाई बढी मूल्यमा बिक्री वितरण गरी केही स्थानमा ग्यासको कालोबजारीसमेत भइरहेको उपभोक्ताले  बताएका छन्  । 

राजविराज बजारमा विगत पाँच दिनदेखि सबैतिर ग्यास खोज्दा ग्यास नभेटेको  र ग्यासको अभावमा अहिले  हिटर र राइसकुकरमा खाना पकाएर खानुपर्ने अवस्था आएको राजविराज–३ का रोशन गोइतले गुनासो गरे ।  ग्यास उद्योगबाट १५  दिनदेखि थप ग्यास नआएकाले  आ–आफ्ना पसल बन्द गरिएको राजविराजको कञ्चनपुर रोडमा रहेका कमख्या ग्यास डिलरका विक्रेता वैजनाथ दासले बताए । लकडाउनले बाहिर निस्कने अवस्था नरहेकाले समस्या परेको ग्यास बिक्रेता दासको भनाइ छ । 

कोशी ग्यास डिलर राजविराजका अनुसार राजविराज नगरपालिका क्षेत्रभित्रै तीन हजार ग्राहक रहेको भन्दै समयमा ग्यास नआएका कारण अहिले ग्यासको हाहाकार भएको जनाएको  छ  । ग्यास  डिलरमा विगत १०÷१५  दिन अगाडि खाली  सिलिन्डर लाइनमा लगाएकाले अहिले ग्यासको अभावमा उनीहरुलाई  दिनसमेत नसकेको ग्यास विक्रेताले बताएका छन्  । राजविराज बजार क्षेत्रमा सुविधा, कोशी, कमख्या, प्रिमिया, सुपरलगायत एक दर्जन  डिलर रहे पनि अहिले ती डिलरमा ग्यास अभाव रहेको डिलरका विक्रेताको भनाइ छ  ।  

ग्यास गोदाममा खाली सिलिन्डर मात्र जम्मा रहेको भन्दै भरेको  सिलिन्डर आएपछि र ग्यास बाँड्ने व्यवस्था स्थानीय प्रशासनले मिलाए मात्र ग्यास विक्री वितरण गर्न सहज हुने कोशी ग्यास विक्रेता राजेश कर्णले बताए । यता नेपाल आयल निगम विराटनगर डिपोले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर राखेका कारण ग्यासको समस्या भएको जनाएको छ  । त्यस्तै राजविराजका पम्प बन्द हुँदा पेट्रोलियम पदार्थको समेत समस्या भएको सर्वसाधारणको गुनासो छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप