सहमतिको सरकार बन्नुपर्ने काँग्रेसको माग छैन ः प्रवक्ता शर्मा
काठमडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहमतिको सरकार बन्नुपर्ने आफ्नोको माग नभएको बताएको छ । आइतबार पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटमार्फत अहिलेको अवस्थामा सहमतिको सरकार बन्नुपर्ने माग पार्टीको नरहेको र यसबारे कुनै छलफल पनि नभएको बताएका हुन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले चैत १३ साँझ आफ्नो भिडिओ सन्देशमा 'संकटका बेला दुनियाँमा सहमतिको सरकार बनाउने प्रचलन रहेको र आवश्यक परे सहमतिको सरकार बनाउन सक्नुपर्छ' भनेका थिए । उनको उक्त अभिव्यक्तिपछि सहमति सरकारबारे काँग्रेसको आधिकारिक धारणा के हो भन्ने प्रश्न उठेको थिए।
प्रवक्ता शर्माले भने, ‘सहमतिको सरकार बन्नुपर्ने काँग्रेसको माग छैन । यसबारे कुनै छलफल पनि भएको छैन।’
सरकारलाई सघाउनु, सुझाव र दवाव दिनु नै प्रमुख प्रतिपक्षको कर्तव्य हुने शर्माले ट्वीटरमा उल्लेख गरेका छन्। ‘सरकारमा सँगै नभएर पनि सँगै लड्न सकिन्छ,’ उनले भनेका छन्, ‘यही हो काँग्रेसको आधिकारिक धारणा।’