शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उहानबाट फर्केका नेपाली विद्यार्थीले यसरी सम्झे त्यो संकटको क्षण

आइतबार, १६ चैत २०७६, १६ : ०८
आइतबार, १६ चैत २०७६

जनकपुर । हरेक समय व्यस्त रहने चीनको उहान शहर पूर्ण सुनसान भएको देख्दा आफंलाई विश्वास लागिरहेको थिएन् । तर, अन्य कुनै विकल्प थिएन, कोरोना संक्रमणबाट बाच्नका लागि । त्यो बिकराल अवस्था देख्दा अति नै त्रासदीपूर्णरुपमा एक कोठाको चार दिवारभित्रै बसेर ती सबै कुराहरुको अनुभव गरिरहँदा निकै नै डर लाग्थ्यो ।

होस्टलको कोठामा बसेको बेला फन्फनी कुदेको एम्बुलेन्सको ‘साइरन’ अहिलेपनि मेरो कानमा गुञ्जयमान हुन्छ । चीनको उहानबाट जनकपुरधाम फर्केका चन्द्रभुषण साहको भोगाइ यति मात्र होइन । चन्द्रभुषण उहानमा ‘मेसिन इन्जिनियरिंग’ मा विद्यावारिधी गरिरहेका छन् । वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा अध्ययन गरिरहेका अधिकांश समय पढाइ लेखाइमा व्यस्त रहन्थे । साथीहरुको कानेफुसीबाट भाइरस संक्रमण भएको बारे सुनेका थिए, चन्द्रभुषणले । तर यकिन चाहिँ भइसकेको थिएन् ।

‘सुरुमा हामीले भाइरस आइसकेको भन्दै हल्ला सुनेका थियौं,’ उनी भन्छन्–‘तर, बजारहरु सबै खुल्ला थियो, जनजीवन सामान्य थियो कसैलाई विश्वास लागेको थिएन् ।’  चीनको नयाँ वर्षमा ठूलो भिडभाड हुने गरेपनि यसपटक खासै चहलपहल नदेखेको उनी बताउँछन् । ‘चिनियाँ नागरिकहरु एक सातासम्म धुमधामका साथ नयाँ वर्ष मनाउने गर्दछन्, कन्सर्टहरुमा भाग लिन्छन्, सपिङ गर्छन्,’ चन्द्रभुषण भन्छन्–‘तर यसपटक त्यस्तो केही थिएन । बल्ल हामीलाई शंका लाग्यो भाइरसको असर रहेछ शायद ।’

‘जनवरी २५ देखि चीनमा एक सातासम्म नयाँ वर्ष मनाइन्छ । त्यसबेला सबै आ–आफ्नो घर फर्कने गर्दछन, तर सरकारले अचानक मेट्रो, बस, रेल बन्द ग¥यो,’ उनी सम्झन्छन्,‘सबै थोक बन्द गरेर सरकारले घरमै बस्न कडा निर्देशन जारी ग¥यो । त्यसपछि एक महिनासम्म हामी कोठा बाहिर निस्कन पाएनौं ।’ चीनियाँ नयाँ वर्ष सुरु हुनु एक दिनपूर्व त्यहाँको सरकारले २४ जनवरीमा लकडाउन गर्यो ।

सुरुमा सामान्य भाइरस रहेको भनिएपनि चीनिया सरकारले ‘लकडाउन’ गरेपछि प्रतिकूल अवस्था आउन सक्ने उनले अनुमान गरिसकेको थियो । चीनको हुबेइ प्रान्त लगायतमा चिनियाँ सरकारले अन्य प्रान्तहरुमा पनि ‘लकडाउन’ गरेपछि भाइरसको प्रकोप भयावहरुपमा बढ्न सक्ने आफूहरुलाई शंका लागेको थियो । विद्यार्थी चन्द्रभुषणले भने ।

उहानमा ‘लकडाउन’ घोषणा पछि बाहिर निस्कन पूर्ण प्रतिबन्ध रहेको भन्दै उनले भने–‘कोरोना संक्रमण फैलिन नदिन हामीले पनि यसको पूर्ण पालन गर्नु जरुरी छ ।’ लकडाउनमा आमनागरिकलाई खानपानको व्यवस्थापन गर्न सरकारले निश्चित समय तोकेर खाद्यान्न पसलहरु खोल्ने अनुमति दिएको उनले सुनाए ।

अमेरिका, भारतलगायतका मुलुकले आफ्ना नागरिकहरुलाई बोलाउन थालेपछि आफूहरु अतालिएको उनले बताए । ‘सबै देशले आफ्नो नागरिकहरुलाई फिर्ता बोलाउन थालेपछि हामी चिन्तित भयौं, पक्कैपनि केही गम्भीर कुरा छ भनेर, त्यसपछि हामीले पनि पहल थाल्यौं । र, अन्ततः सरकारले हामीलाई स्वदेशसम्म पुग्न मद्त ग¥यो,’ चन्द्रभुषणले भने ।

१५ फेबु्रअरीमा नेपाल आएपछि चन्द्रभुषण सहित १ सय ७५ जना खरिपाटीस्थित क्वारेन्टाइनमा १४ दिन बस्नु प¥यो । क्वारेन्टाइन पुग्दा र बाहिर निस्कदा कोरोना ठहर नभएपछि उनी बल्ल आफ्नो घर जनकपुर आइपुगेका छन् ।

कोरोना संक्रमणबाट जोगिन एकमात्र उपाय ‘सेल्फ क्वारेन्टाइन’ रहेको भन्दै उनी यस ‘लकडाउन’ को अवधिमा घरभित्रै बस्न सबैलाई आग्रह गर्दछन् । ‘मैले कोरोनाको उद्गमस्थल उहानलाई हरेको छु, चीन जस्तो मुलुकलाई पनि संक्रमण नियन्त्रण गर्न हम्मे हम्मे भएको छ, चीनको तुलनामा हामी धेरै पछाडी छौं, त्यसैले संक्रमण रोक्न हामी सबै घरमै बस्नुको विकल्प छैन्,’ चन्द्रभुषण भन्छन् । घरभित्र बसेर सरसफाइमा ध्यान दिनसकिए कोरोना संक्रमण फैलिन नदिन ठूलो सहयोग भेट्ने उनको भनाइ छ ।

नेपालमा पनि कोरोना संक्रमण भएको देख्दा चन्द्रभुषणलाई चिन्तित बनाएको छ । ‘संघीय र प्रदेश सरकारले हरसम्भव प्रयास गरिरहेको छ,’ उनले भने,‘शंकास्पदको बढीभन्दा बढी परीक्षण गर्न जरुरी छ । टेस्ट किट बढाएर परीक्षणतर्फ जोड दिनु अहिले सबैभन्दा बढी महत्वपूर्ण छ ।’

वैदेशिक रोजगारीबाट फर्कनेको संख्या प्रदेश २ मा सबै भन्दा बढी रहेको भन्दै उनले उनीहरुको खोजबिन गरी जाँच गराउन सरकारले ध्यान दिनुपर्ने बताउँछन् । संक्रमित नभएपनि विदेशबाट आएकाहरुलाई परीक्षणको लागि १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने उनको सुझाव छ ।

‘लकडाउन’ कार्यान्वयन गराउन नेपाली सुरक्षाकर्मीले ठूलो योगदान दिइरहेपनि नागरिक स्वयं सचेत हुनुपर्ने हो । ‘लकडाउन’ कार्यान्वयन गराउन दिनभर सडकमा खटिरहने सुरक्षाकर्मीलाई उनले आफ्नै खर्चमा मास्क, पञ्जा लगायतका सामग्री समेत वितरण गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप