बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पाटन अस्पतालले सातामै गर्‍यो १०० पिपिइ उत्पादन

आइतबार, १६ चैत २०७६, १७ : १८
आइतबार, १६ चैत २०७६

ललितपुर । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमण बढेसँगै नेपालले विशेष स्वास्थ्य सुरक्षा सतर्कता अपनाएको छ । सीमित स्रोत साधनबीच पनि सङ्कट समाधानका लागि पहल गरिरहेको छ । कोभिड–१९ को अत्यावश्यक स्वाथ्यकर्मीलाई आवश्यक सामग्री व्यवस्थापनका लागि आन्तरिक र अन्तर्राष्ट्रिय जोहो गरिरहेको छ ।

आज मात्रै चीन सरकारको सहयोगमा १३ हजार केजी मेडिकल सामग्री ल्याइएको छ । चीनको सीमा नाकाबाट पनि औषधिमूलक सामग्री काठमाडौँ आइपुग्ने क्रममा छ । यसरी बाहिरी जोहोसँगै आन्तरिकरूपमा अत्यावश्यक सामग्री व्यवस्थापन भइरहेको छ । 

पाटन अस्पतालले यहाँ कार्यरत चिकित्सकको सुरक्षाका लागि गत सातादेखि आफैँले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ) बनाउन थालेकामा अहिलेसम्म झण्डै १०० थान कपडा तयारी गरिसकेको छ । तीमध्ये धेरै प्रयोगसमेत भइरहेको अस्पताल प्रशासनले जनाएको छ । 

अहिले काठमाडौँ उपत्यकादेखि उपत्यका बाहिरका अस्पतालमा समेत आवश्यक सामग्री  अभाव रहेको छ । कोभिड–१९ को सङ्क्रमण नेपालभित्र देखिन थालेसँगै निजी अस्पतालले रुघाखोकी लागेका बिरामीलाई समेत उपचार नगरेको गुनासो आइरहँदा यस अस्पतालले भने उपचारका लागि आवश्यक श्ययाको तयारीसँगै आवश्यक सामग्री उत्पादनसमेत शुरु गरेको हो । 

नेपालमा अहिलेसम्म पाँच बिरामीलाई रोग सङ्क्रमण पुष्टि हुँदा विभिन्न अस्पतालमा यी सामग्रीको अभाव भइरहेको छ । त्यो अभावको अवस्था आउन नदिन अस्पतालले भने आफैँ निर्माण शुरु गरेको हो । चीनमा रोगको सङ्क्रमण देखिएपछि नै यहाँ पिपिइ बनाउने योजना बनाइएको अस्पताल निर्देशक विष्णुप्रसाद शर्माले बताए । 

चीनमा देखिएसँगै अस्पतालले भोलि नेपालमा पनि सङ्क्रमण देखिन सक्छ भन्ने सोचेर तयारी शुरु गरेको थियो । उनले भनेर्, नेपालमा नै सङ्क्रमित बिरामी देखिएपछि बनाउन शुरु गरिए पनि यसको तयारी पहिले नै गरिएको थियो ।

अस्पतालले अहिले यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई नै आवश्यक भएकाले पिपिइ बनाउन शुरु गरिएको हो । यस अस्पतालमा अहिले पनि आइसोलेसनमा बिरामी भएकाले तिनलाई उपचारमा संलग्न चिकित्सकले पिपिइ प्रयोग गर्दै आएका छन् । अस्पतालमा पिपिइ बनाउन थालिएको भनेपछि धेरैले अरु अस्पतालका लागि पनि हो ? अस्पतालले बेच्नका लागि बनाएको हो ? भनी सोध्ने गरेको निर्देशक शर्माले बताए । भविष्यमा यहाँका बिरामीलाई चाहिनेभन्दा बढी हुँदा अरु अस्पताललाई सहयोग पनि गर्न सकिने उनले बताए । उनले भने, ‘अहिलेको उत्पादनको अवस्था हेर्दा अरुलाई दिन सकिने अवस्था भने आइसकेको छैन ।’

अस्पतालले एक साताको अवधिमा अहिलेसम्म १०० पिपिइ निर्माण गरेको हो । यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने अस्पतालको योजना छ । आवश्यक पर्ने सामग्रीको पहिले नै जोहो गरिरहेको अस्पतालले जनाएको छ । 

यो अस्पताललाई सरकारले कोभिड–१९ को केन्द्र अस्पतालका रूपमा तोकेको छ । अस्पतालले सङ्क्रमित व्यक्तिलाई उसको अवस्थाअनुसार उपचारका लागि तयारी गरेको छ । रुघाखोकी र ज्वरोका कुनै पनि बिरामी अस्पताल पुगेपछि उसलाई छुट्टै राख्ने श्यया (आइसोलेसन बेड) को व्यवस्था गरिएको छ । यही श्ययामा बिरामीलाई सङ्क्रमण परीक्षण हुने गरेको निर्देशक शर्माले बताए । परीक्षणमा पोजेटिभ देखिँदा ती व्यक्तिलाई राख्ने छुट्टै १५ श्यया रहेको छ । बिरामीलाई यी श्ययामा नै उपचार शुरु हुनेछ । यस अस्पतालमा अहिलेसम्म परीक्षण भएका एक जना पनि बिरामीमा सङ्क्रमण देखिएको छैन । उनले भने, ‘कुनै पनि समयमा सङ्क्रमित बिरामी आउन सक्छ भनी हामीले आवश्यक तयारी गरिरहेका छौँ ।’

अस्पतालमा अहिले २० वटा सघन उपचार कक्ष रहेका छन् । कतिपय श्ययामा अहिले अरु रोगका बिरामी रहेका छन् । अरु रोगका बिरामीलाई व्यवस्थापन गर्दै कक्ष आवश्यक पर्दा कोभिड–१९ का गम्भीर खालका बिरामीलाई उपचार गर्ने तयारी भइरहेको छ । उनले भने, ‘सघन कक्षको व्यवस्थापन कसरी गर्ने भनी हामी अहिलेदेखि नै तयारी अवस्थामा छौँ ।’

तत्कालका लागि अस्पतालले गरेको व्यवस्थापन अपर्याप्त नभएको निर्देशक शर्माले बताउनुभयो । भविष्यमा माहामारीकै अवस्था आउँदा अपर्याप्त भए पनि अहिलेको अवस्था पर्याप्त हुने देखिएको छ । ‘हब’ अस्पताल मात्रै नभएर जिल्लामा रहेका अस्पतालले पनि उपचारका लागि तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ छ । उनले भने, ‘सङ्क्रमित बिरामी एक ठाउँबाट अर्को ठाउँमा पु¥याउँदा फैलनसक्ने भएकाले त्यही स्वास्थ्य संस्थाले तयारी गर्न खाँचो छ ।’

अस्पतालमा अहिले ६ जना आइसोलेसनमा छन् । ती व्यक्तिलाई परीक्षण गरेर नेगेटिभ देखिएपछि मात्रै घर फर्काइनेछ । कोभिड–१९ फैलन थालेदेखि अहिलेसम्म सङ्क्रण नेगेटिभ देखिएका ३२ जना घर फर्किएको अस्पतालले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप