शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नम्बर २ः कोरोनाभाइरसबाट बच्न स्थानीय तहदेखि अस्पतालसम्मलाई करिब १० करोड खर्च

सोमबार, १७ चैत २०७६, १६ : १६
सोमबार, १७ चैत २०७६

जनकपुर । विश्वव्यापी महामारी घोषित कारोनाभाइरसको संक्रमणबाट बच्न र उपचारका लागि प्रदेश २ सरकारले सामाजिक विकास मन्त्रालयमार्फत मातहतका निर्देशनालय, जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य आपूर्ति व्यवस्थापन, प्रत्येक पालिका, जिल्ला अस्पताल, प्रादेशिक अस्पताल लगायतलाई ९ करोड ३४ लाख रुपैयाँ पठाएको छ ।

प्रदेश सरकारले प्रत्येक पालिकाका गरिब तथा मजदुरलाई ‘लकडाउन’ को अवधिमा खाना खुवाउनका लागि रकमसमेत विनियोजन गरी निकासा गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट ८० लाख रुपैयाँको स्वीकृत लिई विभिन्न स्वास्थ्य विभाग तथा मातहतका अस्पताललाई रकम छुट्याएर पठाएको सामाजिक विकास मन्त्रालय मातहत रहेको स्वास्थ्य महाशाखाका प्रमुख नवलकिशोर झाले जानकारी दिए ।

महाशाखा प्रमुख झाका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालयलाई ८ लाख, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई १५ लाख र जनस्वास्थ्य प्रयोगशालालाई ५ लाख रुपैयाँ सामाजिक विकास मन्त्रालयमार्फत दिइएको छ । त्यस्तै प्रादेशिक अस्पताल जनकपुरलाई १२ लाख रुपैयाँ, प्रदेश नम्बर २ को ८ वटै जिल्ला अस्पताललाई १०–१० लाख रुपैयाँ र प्रत्येक पालिकालाई ५ लाख रुपैयाँको दरले पठाइएको झाले जानकारी दिए ।

क्वारेन्टाइनमा १ सय ५९ र आइसोलेसनमा ५ जना

प्रदेश नम्बर २ मा कोरोना भाइरस संक्रमणको आशंकामा २ सय ५९ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने क्वारेन्टाइनमा रहेका ४७ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । केही दिनयता भारत तथा अन्य मुलुकबाट फर्केर नेपाल आएका २ सय ५९ जना शंकास्पद व्यक्तिलाई प्रदेश नम्बर २ को जिल्लास्थित क्वारेन्टाइनमा राखिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमै सप्तरीमा सबैभन्दा बढी १ सय ३८ जना क्वारेन्टाइनमा छन् । त्यसैगरी रौतहटमा ९२, धनुषामा १२, सिरहामा १०, बारामा ५, सर्लाहीमा २ जना क्वारेन्टाइनमा राखिएको छ भने दुई जनालाई प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा राखिएको छ । आइसोलेसनमा रहेका २ जनाको स्वाब परीक्षणको लागि काठमाडौँमा नमूना पठाइएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत डा. विजय कुमार झाले जानकारी दिए ।

त्यस्तै, विरगंजस्थित नारायणी अस्पतालको आइसोलेसनमा ५ जनालाई राखिएको छ । तीमध्ये ३ जनाको स्वाब संकलन गरि काठमाडौँ पठाइएको थियो । जसमध्ये ३ जनाको नतिजा ‘निगेटिभ’ पाइएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत डा. झाले बताए ।

रौतहटको चन्द्रनगर नगरपालिकास्थित चन्द्रपुर हस्पिटल प्रालिमा आइसोलेसनमा रहेका ३ जनाको स्वाब परीक्षणको लागि चैत १४ गते र चैत १६ गते काठमाडौं पठाइएको उनले जानकारी दिए । धनुषामा १२ जना होम क्वारेन्टाइनमा समेतरहेको उनले बताए ।

डा. झाका अनुसार हालसम्म महोत्तरी र पर्सास्थित क्वारेन्टाइनमा कोही शंकास्पद आएका छैनन् । महोत्तरीमा दुईवटा क्वारेन्टाइन रहेकोमा हालसम्म कसैलाई नराखिएको निर्देशनालयले जनाएको छ । त्यस्तै, सर्लाहीमा २ जना क्वारेन्टाइन र १९ जना होम क्वारेन्टाइनमा र पर्सामा १५ जना होम क्वारेन्टाइनमा रहेको निर्देशनालयले जनाएको छ । बारामा ५ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने बाराको कलैयास्थित अस्पतालमा भर्ना भएका ३ जनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाइएको निर्देशनालयले जनाएको छ ।

डा. झाले भने, ‘रौतहट र बाराका ६ जनाको स्वाब परीक्षणका लागि शुक्रबारै काठमाडौं पठाइए पनि हालसम्म रिपोर्ट आएको छैन ।’ प्रदेश नम्बर २ मा हालसम्म कुनै शंकास्पद बिरामीमा कोरोना संक्रमण पोजेटिभ नदेखिएको निर्देशनालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप