शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना नियन्त्रण कोषमा बागमती सरकारले छुट्टयायो ५० करोड

सोमबार, १७ चैत २०७६, १९ : ३२
सोमबार, १७ चैत २०७६

हेटौडा । बागमती प्रदेश मन्त्रिपरिषदको सोमबार हेटौडामा बसेको बैठकले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारकोषमा ४० करोड रुपैया थप्ने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलकाअनुसार १० करोड रुपैयाको कोषलाई अब ५० करोड पुर्याइएको छ।

प्रदेशका प्रत्यक्ष निर्वाचनतर्फका ६६ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यको संयोजकत्वमा समानुपातिक सदस्य, स्थानीयतहका जनप्रतिनिधि, राजनीतिक दलको प्रतिनिधित्व गराइने अनुगमन समिति बनाउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ।

प्रदेश मन्त्रिपरिषदको आइतवार बसेको बैठकले कोरोना भाइरस संक्रमण,नियन्त्रण तथा उपचार सहयोग कार्यविधि २०७६ स्वीकृत गरी महानगरपालिकालाई २० लाख रुपैया, उपमहानगरपालिकालाई १५ लाखरुपैया, नगरपालिकालाई १२ लाख रुपैया र गाउँपालिकालाई १०लाख रुपैया सहायता उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए।

मन्त्री जम्कट्टेलका अनुसार जिल्ला विपद व्यवस्थापन समितिलाई पाँच लाख रुपैया पनि सोही कोषबाट उपलब्ध गराउने निर्णय गरिएको छ। सो रकम कोरोना संक्रमण रोकथाम एवं उपचार, आइसोलेसन तथा क्वारेन्टाइन निर्माण, मेडिकल सामग्री खरिद, बिपन्न परिवारलाई राहतका लागि स्थानीय सरकारले खर्च गर्न सक्नेछन्।

बागमती प्रदेशले कोभिड- १९ को पहिचान रोकथाम,परिक्षण तथा उपचारका लागि १३वटै जिल्लालाई तयारी अवस्थामा राखेको छ। बागमती प्रदेशमा काठमाडौ बाहेकका जिल्लामा सोमबारसम्म ५४० वटा आइसोलेसन वेड तयार भएका छन् ।

रसुवामा ३५, नुवाकोटमा ९, धादिङमा ३८, दोलखामा ४८, सिन्धुलीमा २३, सिन्धुपाल्चोकमा १७, काभ्रेमा २१, चितवनमा ११३, मकवानपुरमा ६, ललितपुरमा १४६ रामेछापमा ४८ र भक्तपुरमा २५ गरी ५४० आइसोलेसन वेड तयार रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। ती जिल्लामा ८१ व्टा अस्पताल रहेका छन् । ती१२ वटा जिल्लाले आइसोलेसन कक्ष, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पिपिइ, सरसफाइ र डिस्इन्फेक्सन सम्बन्धी सामान प्रदेश र संघबाट अपेक्षा गरेका छन्।

हालसम्म १६८जना शंकास्पद बिरामीलाई व्यवस्थापन गरिएको सो मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार धादिङमा २८जना, काभ्रेमा १०जना, चितवनमा १०८ जना र ललितपुरमा१८ जना शंकास्पद बिरामीलाई व्यवस्थापन गरिएको छ।

तीमध्ये३४ जना शंकास्पद बिरामीको आइतवार व्यवस्थापन गरिएको थियो। काभ्रेमा १४ जना र ललितपुरमा ६जना कोभिड- १९ का शंकास्पद बिरामी रहेका छन् । नुवाकोटमा ५०, सिन्धुलीमा १०५, सिन्धुपाल्चोकमा १२, ललितपुरमा ५५ गरी २२२ वटा परसनल प्रोटेक्टिभ इक्वीप्मेन्ट रहेका छन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप