मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

के नेपालमा सङ्क्रमित ५ जना मात्र हुन् त ?

मङ्गलबार, १८ चैत २०७६, ०९ : ५३
मङ्गलबार, १८ चैत २०७६

डिसेम्बर ३१, २०१९ मा पहिलो पटक चीनको उहानमा देखिएको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण आजको मितिसम्म आइपुग्दा विश्वका २०१ देशमा पुगिसकेको छ भने बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसहित करिब छ लाख जना व्यक्ति सङ्क्रमित भएका छन् भने सैँतीस हजार आठ सय पन्ध्र जनाले ज्यान गुमाइसकेका छन् । विश्वमा आगोसरी फैलिएको यो भाइरसको सङ्क्रमणको नियन्त्रण गर्न विश्व स्वास्थ्य सङ्गठनले ११ मार्च २०२० मा यसलाई विश्व महामारी घोषणा गरेको थियो । पछिल्ला दिनहरुमा यसको सङ्क्रमण झनै गुणात्मक रूपमा वृद्धि हुँदै गएको छ भने यसलाई मानव सभ्यताको नै अस्तित्वसँग जोडेर पनि हेर्न थालिएको छ । नयाँ प्रजातिको नभए पनि कोरोना परिवारको नै सदस्य भए पनि नयाँ प्रक्रितिको भाइरस भएकाले यसको सङ्क्रमण भइसकेपछिको उपचार पद्धति, औषधि र यसबाट बच्नका लागि प्रयोग गरिने भ्याक्सिनको खोज अनुसन्धान गर्न केही समय पक्कै लाग्ने छ । त्यो बेलासम्म हामीले यसबाट बच्नका लागि विश्व स्वास्थ्य सङ्गठनका साथै सम्बन्धित देशको स्वास्थ्य मन्त्रालयको निर्देशन सुझाव मान्नुबाहेक अर्को विकल्प छैन ।

सुरुमा चीनमा फैलिएको यो भाइसरको सङ्क्रमण हाल चीनमा केही रोकिएको छ भने त्यसपछि विश्वमानै द्रुत गतिमा फैलिरहेको छ । अहिलेसम्म चीनमा करिब एकासी हजार पाँच सय अठार जना सङ्क्रमित छन् भने अमेरिका पहिलो नम्बरमा रहेको छ । अमेरिकामा कुल सङ्क्रमित १ लाख ६४ हजार २ सय ५३ जना रहेका छन् भने दोस्रो स्थानमा इटाली कुल १ लाख १ हजार ७ सय ३९ जना रहेको छ । यसै गरी सङ्क्रमितहरुको मृत्यु भने इटालीमा ११ हजार ५ सय ९१, स्पेनमा ७ हजार ७ सय १६ जना रहेको छ भने चीनमा ३ हजार ३ सय ५ रहेको छ  । चीनमा पहिलो पटक ३१ डिसेम्बर २०१९ मा देखिएपछि कोरोना भाइसरको सङ्क्रमण त्यसको ठीक २४ दिनपछि नेपालमा देखिएको थियो । नेपाल कोरोना सङ्क्रमित हुने पहिलो दस राष्ट्रमा परेको देश हो । कोरोना सङ्क्रमणको जोखिम, संवेदनशीलता र नेपालसमेत जोखिम युक्त देशको रूपमा विश्व स्वास्थ सङ्गठनले पटक पटक भनिरहेकै हो र भनिरहेकै छ । हामी यस अर्थमा भाग्यमानी नै छौँ आजसम्म हामीमा ५ जना मात्र सङ्क्रमितको पुष्टि भएको छ भने हालसम्म कुनै नेपालीले देशभित्र ज्यान गुमाउनुपरेको छैन ।

के नेपालमा सङ्क्रमित ५ जना मात्र हुन् त ?

यो प्रश्नको जवाफ अलि जटिल छ । यो प्राविधिक विषय पनि हो । यो विषयमा प्रवेश गर्नुपूर्व हामीले कति स्याम्पल लिएका छाँ भन्ने कुरामा ध्यान दिन आवश्यक हुन्छ । नेपाल सरकारको भनाइ अनुसार हालसम्म कुल ८०३ जनाको स्याम्पल परीक्षण गर्दा ४ जनाकोमा पोजेटिभ नतिजा भेटिएको हो । यसरी हेर्दा दुई सय जनामा परीक्षण गर्दा १ जनामा पोजेटिभ भेटिएको छ । अमेरिकामा २० मार्चसम्म कुल १० लाख जनसङ्ख्या बराबर १२,७३८ जनाको स्याम्पल टेस्ट गरेको थियो भने दक्षिण कोरियाले कुल १० लाख जनसङ्ख्या बराबर ६१४८ जनाको स्याम्पल टेस्ट गरेको थियो । सार्क राष्ट्रमा पाकिस्तानले २० मार्चसम्म कुल १९८९ जनाको टेस्ट गरी पहिलो स्थानमा थियो । नेपालको स्थिति हेर्दा यो दयनीय देखिएको छ । अमेरिकामा सबैभन्दा बढी सङ्क्रमण देखिएको उनीहरुको स्याम्पल दर धेरै भएर नै हो । जसको कारण उनीहरुको यो सङ्क्रमणको कारण हुने मृत्युदर अत्यन्तै कम रहेको छ । अमेरिका जस्तै दक्षिण कोरियामा पनि स्याम्पल साइज धेरै भएको कारण मृत्य दर कम पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले भने जस्तो कोरोना भाइरसविरुद्ध आक्रमण भनेको नै स्याम्पलको दायरा फरक बनाउने र शङ्कास्पदहरुलाई क्वारेन्टाइन तथा आइसोलेसनमा राख्ने हो । तर नेपालमा एकदमै थोरैको मात्र स्याम्पल लिइएको छ । यसबाट नै नेपालमा सङ्क्रमित केवल ५ जना मात्र होइन भनी आँकलन गर्न सकिन्छ ।

नेपाल सरकारको यही गतिले सङ्क्रमणसँग जुध्न सकिएला ?

नेपालमा पहिला पनि स्थानीय रूपमा ससानो महामारीहरु आउने गरेकै हो । हामीले २०७२ सालको भूकम्प पनि सहेरै आएको हो । जब यस्ता विपत्तिको सामना गर्ने समय आउँछ हामी अलमलमा पर्छौं । हाम्रो वास्तविक धारातल देखिन्छ । नेपालमा पहिलो सङ्क्रमण देखिएको पनि आजको मितिमा आइपुग्दा ६५ दिन पुगिसकेको छ । सरकारले यस्तो विषयमा संवेदनशील भएर कार्य गर्नुपर्ने थियो । कुराभन्दा बढी कार्य गरेर जनतालाई सरकार छ भनेर देखाउने बेला यही थियो ।

यो बीचमा सरकारले टेस्ट किट आवश्यक मात्रमा भित्र्याउन सक्नु पर्दथ्यो भने स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पीपीई केही मात्रामा भए पनि भित्र्याउन सक्नुपर्दथ्यो । विश्व स्वास्थ्य सङ्गठनले भने जस्तो कोरोना भाइरसविरुद्ध आक्रमण भनेको नै स्याम्पलको दयरा फराकिलो बनाउने र सङ्क्रमितहरुको सम्पर्कमा अएकालाई समाजबाट भौतिक रूपमा छुट्याउने साथै उनीहरुलाई क्वरेन्टाइन तथा आइसोलेसनमा राख्ने हो । तर हाम्रो सरकारको रफ्तार उदेक लाग्दो छ । दोस्रो पोजेटिभ देखिएको केसमा उक्त सङ्क्रमित आएको जहाजमा आएका नागरिक पहिचान गर्न सरकारले लगाएको प्रक्रिया हेर्दा हाम्रो अवस्था चित्रित भएको छ । ९  गते स्याम्पल पोजेटिभ देखिदा १२ गते जिल्ला प्रहरी कार्यालयहरुलाई  व्यक्ति पहिचान गर्न भनेर प्रत्राचार गरिएको थियो । यो अवस्था भनेको चलिआएको परम्परालाई छाडेर सकेसम्म प्रविधिको प्रयोग गर्ने हो । सरकारको यस्तो पाराले नेपालीले ठूलो मूल्य चुकाउने सम्भावना रहेको छ ।

सरकारले हाल रफ्तारमा गर्नुपर्ने कार्य भनेको पहिलो स्याम्पल साइज सकेसम्म बढाउने, दोस्रो सम्भावित सङ्क्रमित, उनीहरुको निकट संसर्गमा रहेकाहरुको समाजसँग भौतिक दूरी कायम राख्ने र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्नको साथै उनीहरुलाई सङ्क्रमणबाट बचाउनका लागि पीपीई उपलब्ध गराउने, स्वास्थ बिमा, जीवन बीमा जस्ता कुराहरु यथासक्य उपलब्ध गराउन आवश्यक छ । यसको साथै कोरोनाको सङ्क्रमणबाट उच्च जोखिममा रहेका प्रहरी र नेपाल आर्मीलाई सतर्क रहन सक्दो सहयोग गर्ने । त्यसपछि समय रहेमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई दैनिक हातमुख जोड्नका लागि स्थानीय निकायमार्फत सहयोग उपलब्ध गराउने कार्य गर्न आवश्यक छ । अवका केही महिना विकास खर्च कम हुनेछ यही बजेटलाई स्थानान्तरण गरी सामाजिक खर्चमा लगाउन आवश्यक रहेको छ ।

कोरोनासँग जुध्न खोज्दा अन्य महामारी त आउदैन ?

सरकार, जनता, प्रहरी, स्वास्थ्यकर्मी, अर्थशास्त्री सबै कोरोनाकै विषयमा छलफल गर्न व्यस्त छन् । हुन पनि आजको सबैभन्दा चुनौती यही नै देखिएको छ । तर गर्मी महिनाको आमगनसँगै डेङ्गुको प्रकोप फैलने सम्भावना रहेको छ । सहरबाट समयमा नै फोहोर नउठ्दा अन्य कुनै सङ्क्रमण हुन सक्छ, गरिब मजदुरहरु खान नपाउँदा भोकभोकै रहन पनि सक्छन् । यस्ता विषयमा पनि सरकारले कुनै समिति बनाई परिचालन गर्न आवश्यक छ ।

त्यस्तै हस्पिटलहरुमा निगरानी बढाउन आवश्यक छ । कोरोनाले गर्दा अन्य जोखिमपूर्ण बिरामीहरुले उपचार नपाई मर्न नपरोस् । विभिन्न सञ्चार माध्यमा समचार आएजस्तै कोरोनाको लक्षण हुँदैमा त्यस्ता बिरामीहरुले छिःछिः र दुरदुर खेप्न नपरोस् र उनीहरुको उचित उपचारको प्रबन्ध होस् ।

अहिले सरकार चरम दबाबमा रहेको छ । सम्पूर्ण जनताले सरकारलाई साथ दिन आवश्यक छ । सरकारले पनि जनताको विश्वासमा लिएर काम गर्न आवश्यक छ । विपत्तिको बेलामा सरकार पक्ष र प्रतिपक्ष भन्ने हुनुहुँदैन । प्रतिपक्षले पनि सरकारलाई पूर्ण सहयोग गर्न आवश्यक रहेको छ । यो भएन र त्यो भएन भन्न सबैलाई सजिलो हुन्छ । तर फिल्डमा काम गर्न अत्यन्त गाह्रो छ । यो प्रतिपक्षले पनि बुझ्न आवश्यक छ । नेपाली जनताको साथ र सहयोगमा नेपाल सरकार, विशेषगरी स्वास्थ्यकर्मीको सहयोगमा यो महामारीबाट हामी जोगिने छौँ । कामना गरौँ । नेपाल सरकारले रफ्तारका साथ काम गर्न सकोस् शुभकामना ।

Twitter:@birodhji

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विरोध अधिकारी
विरोध अधिकारी

 [email protected]

twitter:@birodhji

लेखकबाट थप