केन्द्रीय संस्करण

कोरोनाको ताण्डवमा बजेको एउटा मधुर धुन

person explore access_timeचैत १८, २०७६ chat_bubble_outline0

हजुरबाको काखमा बसेर नातिनातिनाले कथा भन्न अनुरोध गर्ने समय नै पाएका थिएनन् । त्यो लाडप्यारको हकलाई यान्त्रिक संसारका आजको वैज्ञानिक र आधुनिक भन्नेहरूले चटक्कै खोसेका थिए । गृहकार्यको बोझले ङ्याच्याक्क थिचिएका बालमन सायद यो घरमै बस्नुपर्ने अवस्था (लकडाउन) को फाइदा उठाउँदै हुन् । अझ समयावधि थपिएर बालबच्चा त खुसी नै होलान् । अग्रजको माया र ज्ञान सिक्दै होलान् । किताबी र स्कुले पिँजडाबाट उम्किएका होलान् । यो एउटा कोरोनाको ताण्डवले बजाएको मधुर धुन हो । गाउँतिर सुटुक्क जान पाएका नेपालका सहरियालाई त्यहाँका पाखा पखेरामा वसन्त ऋतुको सौन्दर्य सुगन्धमा रम्ने अवसर पनि त मिलेको छ ।

नयाँ वर्ष २०७७ साललाई स्वागत गर्ने तरखरमा महामारीको छुट्टै त्रास छ । एकातिर वसन्तको प्राकृतिक उत्सव अर्कातिर कोरोनाको महावितण्डा । आखिर आफूभन्दा ठूलो अघि आएपछि कसैको केही लाग्दैन । तर यो कोरोना भाइरस ढोका ढक्ढक्याउँदै घरभित्र त आउँदैन अनि उसलाई लिनै जानुपर्छ : मुहार पुस्तिकामा साझा भएका विचार । वर्तमान सन्दर्भलाई नियाल्दा मानिसमा तीन–चारवटा विषयको पेरिफेरिले प्रभाव जमाएको देखिन्छ : कोरोनाबाट कसरी बच्ने र बचाउने, घरमा कसरी बस्ने र घुलमिल हुने, केटाकेटीलाई के सिकाउने, मनोवैज्ञानिक रूपमा कसरी सबल रहने, विश्वव्यापी अर्थतन्त्रको ह्रास र आगामी अवस्था इत्यादि । मूलतः चारवटा स्वास्थ्य क्षेत्रका शब्द प्रयोगमा छन् : लकडाउन (घरमै बस्नुपर्ने अवस्था वा एकान्तवास), क्वारेन्टाइन (पूर्वसतर्क उपचारात्मक अवस्था), आइसोलेसन (उपचारात्मक अवस्था) र पीपीई (डाक्टरका लागि सुरक्षा कवच) । पृथ्वीरूपी घरको एउटै आर्तनाद छ । अचम्मको एउटा सानो जीवाणु, जो आफैँमा जीवित पनि छैन उसले संसारलाई एउटै अनुशासनमा बस्न बाध्य बनाएर इतिहास बसाएको छ । हुनलाई यो सङ्कटको घडी हो तर यो समयलाई अनुशासनले सुधार्नु छ । यो विश्वव्यापी सङ्कटको अवस्थामा घरवासलाई पालना गर्नु आम नागरिकको दायित्व हो ।

भूकम्पीय ज्यादतिको पाठ

संसारले प्रारम्भ गरेको राहत प्याकेज अनुरूप नै नेपालमा पनि स्वास्थ्य मन्त्रालयले विशेष आर्थिक प्याकेजको उद्घोष गरिरहेको छ । नेपालमा पनि सहयोगार्थ सहयोगी हातहरू अघि बढिरहेका मानवीय यथार्थ छन् । तर भूकम्पमा राहतका त्रिपाल उठाउने मानिसको लर्को लागेको थियो । राहत दिनेहरू भावनात्मक उदारता बोक्दै गर्दा कुम्ल्याउनेको सेटिङ पनि गजबकै भयो । ठूला–ठूलाहरू भन्नेहरूले नै दाताको पैसा कुम्ल्याउन मन दुखाएनन् । कालाबजारी र भ्रष्टाचारीमा कहाँ विपन्न अघि हुन्छन् र । तिनलाई मौका मिले पनि पापको डर र मानवीय भावनाको सद्भावले दिँदै दिँदैन । एकातिर चामल कुहियो अर्कातिर मान्छेले चाउचाउ खान नपाएर बिजोग थियो ।

सरकार आज विपन्नका घरमा पुग्छ ? वृद्धाश्रमतिर हेर्दैछ ? सहरका गल्लीमा माग्नेका लागि के गर्दै छ ? आखिर यस्ता अवस्थामा पनि कुन पार्टीको भन्दै हिँड्ने खैराँती सोचको अभाव हुँदैन । अझैं पनि भूकम्पपीडित रोगी, गरिब, असहाय भएर कोमामा बसेकै छन् । भुल्न मिल्दैन– त्यतिखेर सुत्केरी, दीर्घरोगी, असक्तको कन्तबिजोग भएको थियो । जस्तापाता खिया लाग्दा पीडित जनताहरू वर्षौँसम्म खुला आकाशमुनि बस्न विवस बनेका थिए । आज कोरोनाको एउटा संवेदनामा राजदूतहरू कति चिन्तित बनेर नेपालीको हविगतलाई नियाल्दै छन् ? कोरोनाको ताण्डवभित्र यी विभिन्न विगत र आगतका आवाजलाई लुकाउनै मिल्दैन । अनि फेरि हाइटीको दूरदशालाई पनि त सम्झिनै पर्छ । कतै हामी केवल आसे मात्रै त बन्ने होइनौँ ? तसर्थ नीति र सचेतना दुवै पक्ष हरेक क्षेत्रमा आवश्यक देखिन्छ ।

२०७२ सालमा आएको भूकम्पले ढलेको धरहराको अवशेष ।

मानवताको शङ्खघोष बजिरहँदा अमानवीय कालोबजारी गर्ने कुत्सित कथित विचारले अप्ठ्यारोमा आज टाउको पनि उठाउँदै छन् । अर्को कुरा स्वास्थ्य परीक्षण र जाँचमा बेवास्ता गर्ने हो भने पनि बिरामी माथि अन्याय हुने नै छ । यतिखेर डाक्टर नै भगवान् बन्नुपर्ने छ । यद्यपि कतिपय अस्पतालमा बिरामीलाई कोठाभित्र राखेर बेवास्ता गरिएको अर्थात् डाक्टरहरू डराएका समाचार यदाकदा आइरहेका छन् । वास्तवमा हरेक दिन ड्राइभरले जोखिम मोलिरहेको हुन्छ । जसरी सङ्कटकालीन अवस्थामा, युद्धमा सैनिकले आफू बाँचेर देशका निम्ति बलिदानी दिन्छ त्यसैगरी आज डाक्टरको भूमिका महान् हुनेछ । त्यो मानवताको परीक्षा उदाहरणीय बन्नेछ । स्थानीय सरकारदेखि सम्पूर्ण जनताले नै आ–आफ्नो सतर्कता अपनाउनु आजको आवश्यकता हो ।  

अचम्म पनि होइन र आत्तिने विषय पनि त रहेनछ । इटालीको ‘आइखानियो’ नामक सहर कोरोनाबाट सबैभन्दा बढी सङ्क्रमित थिए । आखिर त्यहाँ केन्द्रीय सरकारले भन्दा राम्रो काम गरियो । करिब ३३ सय जनसङ्ख्या सबैको स्वास्थ्य परीक्षण गरियो । सङ्क्रमित देखिएका या नदेखिएका सबैको परीक्षण गरियो । केन्द्रीय सरकारका अनिवार्य सामग्री बाहेक पनि उक्त सहरमा लैजाने अनुमति नै दिइएन । आखिर अहिले त्यहाँ विश्वकै नमुना क्षेत्र बन्दै भारी मात्रामा सुधार आएको समाचार आइरहेका छन् । चीनले पनि सङ्क्रमितको सङ्ख्या ह्वात्तै घटाएकै हो तर अमेरिकामा लापरबाहीकै कारण सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्यो । यद्यपि त्यहाँ केही नयाँ औषधिको परीक्षण पनि गरिरहेको छ । उहानमा १०३ वर्षकी कोरोनाबाट सङ्क्रमित आमा ६ दिनको उपचारपछि निको भएकी, इटाली मोडेनाकी ९५ वर्षीया, अमेरिकाको मेरिल्यान्डमा तीन जना बिरामी ठीक भएका लगायत थुप्रै सकारात्मक समाचार पनि आएका छन् ।

केही देशहरू औषधि खोज्न तल्लीन छन्, कोसिसमा छन्, धनाढ्यले लगानी गरेका छन्, बुद्धिजीवीले बुद्धि खर्चिइरहेका छन् । हाम्रो देशले पनि सन्दुक रुइतको कोसिसलाई हेरेर केही गर्न सक्थ्यौँ होला । हाम्रो देशमा पनि ल्याब होलान्, विज्ञान परीक्षण केन्द्र होलान्, विद्वान्हरू होलान् तर पनि औषधि खोजको विषयलाई सायद असम्भव भन्ने ठान्दै छौँ कि । हाम्रो त जमिन नै औषधिको खानी हो । अमेरिकाले त खोप परीक्षण गरिसकेको छ । यसर्थ हामीले पनि सचेतताका साथ सकारात्मक सोच र सङ्क्रमण घटेका समाचारलाई अनुसरण गर्नतिर लाग्नु आवश्यक छ । हाम्रा देशका वैज्ञानिक, रसायनशास्त्री, समाजशास्त्री, मनोचिकित्सक वा भनौँ यो समस्या हल गर्ने खुबी भएका विभिन्न स्तरका विद्वान्हरू अहिले के गर्दै छन् ? सरकार तिनलाई कसरी सम्बोधन गर्दै छ ? डाक्टर र प्रहरीहरूको दिनचर्यामा सरकारद्वारा कसरी प्रोत्साहन र सुरक्षाको प्रबन्ध दिलाइँदै छ : यो समयको आवश्यकताका आधारमा सोचनीय विषय हो !

हुनलाई यो आरोप लगाउने समय होइन तर यथार्थमा गरिबले होइन कोरोना भाइरसको प्रचारमा धनीकै हात रह्यो । धनी मान्छे नै देश विदेश भ्रमण गर्दै चीनबाट यताउता गएका हुन् । आखिर यतिखेर कोरोनाले संसारमा हज्जारौँको ज्यान लिइरहँदा, लाखौँलाई सङ्क्रमित तुल्याएर ताण्डव देखाइरहँदा हामीले असचेत रहन मिल्दैन । विश्वको करिब एकतिहाइ अर्थात् ३० प्रतिशत इलेक्ट्रोनिक व्यापारको हिस्सा समेट्ने चीनदेखि विश्व बजार आज उत्पादन, वितरण अझ भनौँ क्रय–विक्रयमा शून्यप्रायः बन्दै छ । यातायात, हवाई, पर्यटन सँगसँगै नेपालको ‘भ्रमण वर्ष २०२०’ मा समेत प्रारम्भमै वज्रपात प¥यो । मूलतः डिजेल, पेट्रोल, खाना पकाउने ग्याँस, औषधि लगायतका सामग्रीको आपूर्तिदेखि खाद्यान्नको व्यवस्थापनका विषयले भोकमरी र हाहाकारको अवस्था नआउला भन्न पनि सकिँदैन । हिजो कामाएको पैसामा आज बसेर खर्च गरिरहनु परेर पनि व्यक्तिगत रूपमा आर्थिक समस्या बढ्छ । मुलुक नै आर्थिक मन्दीको सिकार हुनुपर्ने भयावह प्रताडनाले विकासमा पछि पर्ने कुरा पनि स्पष्टै छ । स्वास्थ्य क्षेत्रमा सरकारको लगानी बढ्ने अर्को बाध्यता छ । घरमै रहनुपर्ने अवस्था लम्बिने भयो भने मूलतः सहरी क्षेत्रमा आफ्नो उत्पादन नहुँदा मानिसमा अप्ठ्यारो पर्नेमा पनि दुई मत छैन । यद्यपि ग्रामीण समाजका अधिकांश नेपालीले आफ्नो जोहो गर्न जानेका छन् । विगतको नाकाबन्दीले पनि यस कुरालाई पुष्टि गरिसकेको छ । नुन, तेल र चामलको जोहो भएका ग्रामीण भेगमा सहरको जस्तो समस्या भइहाल्दैन ।

त्रास, आस र स्वच्छता

सबैले मनन गरेको विषय नै सतर्कता, सफाइ र सचेतना हो । घरमै बस्नुपर्ने अवस्था (लकडाउन) लाई आदेश र बाध्यताभन्दा अवसरका रूपमा उपयोगी बनाउन सक्ने मानिसको यो एउटा परीक्षा हो । मानिसको धैर्यताको जाँच हो । चञ्चल, यान्त्रिक अनि अलिकति दम्भमा लहसिएको मानिसका लागि एउटा शिक्षा हो । अलिकति मानिसमा जकडिएको स्वार्थी र आडम्बरी सोचको पहाड फोडिएर मानवताको मधुर धुन बजाउने कोरोनाको फाइदालाई नियाल्न सकिन्छ ।

अहिले संसार एउटै गीत गाउँदै छ । संसार घरमै बस्नुपर्ने अवस्था (लकडाउन) मा छ । गन्जागोल, होहल्ला, खचाखच भीड हुने सहर, बस्ती, चोकहरू सुनसान छन् । ध्वनि तथा वायुप्रदूषण ह्वात्तै घट्यो । संसार आखिर स्वतन्त्र पनि त महसुस गर्दै छ । सधैँ व्यस्तताले थिचेको, तनावले किचेको मान्छे आज शान्त छ । सामाजिक सञ्जालमा व्यस्त छ । डिजेल र पेट्रोलको प्रयोग हुने र नहुने यन्त्रका आवाज र धुलो अनि धुवाँले ग्रसित पृथ्वीको परिवेश नै सुरम्य बन्नुमा कोरोना त्रासको भूमिका रह्यो । संसार अचम्ममा एउटै बाँच र बचाउको गीतमा सहभागी भयो । सायद यो एउटा पृथक् र अनुकरणीय उदाहरण हुँदो हो । सायद यो प्रकृतिको चाहना हुँदो हो । सुरम्य प्रकृतिले वास्तविक अनुहार हेर्न पाउनु दुःखको बीचको एउटा सुखद् पक्ष हो ।

संसार शोकमय, त्रासमय परिवेशमा भए पनि हामी धेरैजना फुर्सदमय अवस्थामा छौँ । यो समयमा मानिसले ज्ञानको कुरा सिक्न, घरपरिवारमा पारिवारिक अनि सामाजिक भूमिका निर्वाह गर्न तथा सुख–दुःख साटासाट गर्ने अवसर पाएको छ । पुराना–पुराना फोटाहरू खोजेर मुहार पुस्तिकामा राख्ने अनि प्रतिक्रियामा चामत्कारिक विश्लेषण गर्ने शैली अभैm चाखलाग्दो छ । यद्यपि यी सबै कुरा अलिकति घरमा जोहो भएका, केही हुनेखानेका लागि मात्र हो । विपन्न, रिक्सावाला, भरिया, मजदुरहरूका दशा ठीक विपरीत छन् । कोरोनारूपी समस्याले उब्जाइदिएको पेटपूजाको समस्यामा तिनको हुर्महत्तेलाई बेलैमा सम्बोधन गर्ने बुद्धि नपुगेकै हो ।

यतिखेर बजार, व्यापार, विद्यालय, कार्यालय सुनसान भइरहँदा मानिस फुर्सदमा छ । अनेकौँ विचारलाई सोच्छ । समयलाई चिन्ने सिर्जनशीलहरू फुर्सदको अर्थबोध गर्दै सिर्जनातिर मख्ख छन् भने अध्ययनप्रेमी नवीन ज्ञानमा मग्न छन् । यो अप्ठ्यारोका बीचबीचमा समाजमा एकताको एउटा स्वर गुञ्जायमान भएको पनि छ । प्रकृति सुरम्य छ । एकातिर वसन्तको काख अर्कातिर कोरोनाको त्रासमा नेपाली समुदाय आ–आफ्नै लहडमा छ । चिन्ता त सबैलाई छ तर सङ्घीय, प्रदेश र स्थानीय सरकारले नै सजगताका विभिन्न क्षेत्रतिर आँखा पु¥याउन सक्नुपर्छ । तर मान्छे अबुझ भएर बाटामा विनाकाम लखरलखर हिँडिरहँदा चाहिँ कफ्र्यु नै चाहिने पनि आभास हुँदो रहेछ । कृपया हामी सबै मिलेर यो सङ्कटको सामना गरौँ ।

bhattarairamesh353@gmail.com

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.