केन्द्रीय संस्करण
लकडाउन डायरी

लकडाउन डायरी : आफ्नो जीवनी लेख्दै पशुपति शमशेर राणा

person explore access_timeचैत १८, २०७६ chat_bubble_outline0

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेको छ । चैत २५ गते मध्यरातिसम्म लकडाउन हुने भएपछि यतिबेला सधैं व्यस्त दैनिकी बिताउने नेता, कलाकार, व्यापारीलगायत फुर्सदमा छन् अर्थात ‘होम क्वारेन्टाइन’ मा सुरक्षित बसिरहेका छन् । उनीहरुको फुर्सदिलो दैनिकीबारे रातोपाटीले ‘लकडाउन डायरी’ मार्फत आज राप्रपा अध्यक्ष पशुपति शमशेर राणाको दिनचर्या बुझ्ने कोशिस गरेको छ, प्रस्तुत छ राणाको लकडाउन डायरी राणाकै शब्दमाः 

बिहान नियमित कसरत गर्छु, पत्रपत्रिका पढ्छु । केही लेख्छु पनि । बीच बीचमा सिनेमा पनि हेर्छु । लकडाउनको अवधिभर लेखाइमै बिताउँछु होला । आफ्नो जीवनी लेख्ने काम मैले पहिलेदेखि नै सुरु गरेको थिएँ । व्यस्तताले गर्दा लेख्न त्यति मिलेको थिएन । अब त्यो जीवनी लेखनमा समय दिन्छु । लकडाउनले भेटघाट हुने कुरा छैन । अब यसैमा बढी केन्द्रित हुन्छु ।

घरमै बस्नुपर्दा केही असहज महसुस पनि भइरहेको छ । त्यसबाट छुट्कारा पाउन सङ्गीत सुन्छु । मलाई युरोपियन शास्त्र सङ्गीतमा  एकदमै रुचि छ । त्यो सुन्ने गरेको छु ।

यसका अलबा यहाँ बाहिर भएका परिवारका सदस्यसँग कुराकानी गर्छु । अहिले म र श्रीमती मात्र छौँ । छोरीहरु बाहिर छन् । बाहिर रहेका परिवारका सदस्यसँग फोनमा कुराकानी गरेर समय बिताउँछु । उनीहरुलाई के छ ? कस्तो छ ? बुझ्नुपर्यो । जेठी छोरी अमेरिका छिन् ।

उनीहरुको परिवारलाई कस्तो छ भनेर नियमित बुझ्छु । मेरी बहिनीहरु कोही बेङ्लोरमा छन्, कोही लखनउमा छन् ।

दिल्लीमा मेरी सानी छोरी छिन् । नातिहरु छन् । यिनीहरु सबैसँग सम्पर्क भइरहन्छ । बाहिर भएका पुराना साथीलाई पनि फोन गर्छु । यहाँको वर्तमान अवस्था सुनाउँछु । अहिले फोनमै पनि धेरै समय जान्छ ।
 यता भेटघाट रोकिएपछि कार्यकर्तासँग पनि फोनमार्फत कुराकानी हुन्छ । कोरोना भाइरस (कोभिड–१९) बाट बच्न र बचाउन विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको मापदण्डअनुसार हात धुने, सेनिटाइजर प्रयोग गर्ने, मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने सन्देश दिन्छु । मान्छेबाट मान्छेमा सर्ने रोग भएकाले सावधानी अपनाउनै पर्छ ।

लकडाउनमा पनि मान्छे बाहिर निस्किरहेका छन् । धेरैका बाध्यता पनि होलान् । घरमा बसे पनि खानु नै पर्यो । धेरै जना भाडामा बस्नुभएको होला । बिहानदेखि बेलुकासम्म काम गरेर त्यसको आम्दानीले चल्नुपर्ने पनि होला । तर घरको बुझ्ने मान्छेले सेल्फ आइसोलेसन, सेल्फ क्वारेन्टाइनबारे अरूलाई बुझाउनुपर्छ । कोरोनाबाट बच्ने एक मात्र औषधि घरभित्र बस्नु हो ।सबैलाई यही भनिरहेको छु । मलाई सहयोग गर्ने मन त थियो । फोनबाट केही सहयोग गर्न सकिने कुरा भएन । केही दिनका लागि भेट्नुपर्ने हुन्छ । अहिले भेटघाट नै बन्द छ । केही गरौँ भन्ने लाग्छ तर कसरी गर्ने गाह्रो छ । 

यस्तो महामारी भोगेको थिइनँ
मेरो सम्झनाको यो सबैभन्दा ठूलो महामारी हो । पहिले पनि ठूला ठूला महामारी हुने गरेको सुनेका थियौँ । तर भोग्नुपरेको थिएन । मेरा लागि यो महामारी बिलकुल नयाँ हो । तर हामीले ऐतिहासिक रूपमा हेर्ने हो भने पहिले विभिन्न खालका महामारी चल्थ्यो ।

अब अहिले त्यो बेला मान्छेले कसरी सामना गरे भनेर हुर्नुपर्छ । यो सङ्कटको सामना गर्नमा सबैभन्दा सफल चीन देखियो । अचम्मको कुरा अमेरिका, बेलायतले यसको त्यति राम्रो मुकाविला गर्न सकिरहेको देखिँदैन ।

उनीहरुको भन्दा बरु हिन्दुस्थानले राम्ररी सामना गरिरहेको देखिन्छ । यो महामारी मात्र होइन संसारभरिको ठूलो आर्थिक सङ्कट पनि हो । यस्तो मन्दीको तुलना विश्व युद्धमा मात्र हुन्छ । अब संसारभरि आर्थिक सङ्कट फेलिँदै छ । यसमा भने अमेरिकाले राम्रो गरिरहेको छ ।

विभिन्न मुलुकलाई आर्थिक सहाता गरिरहेको छ । हामीलाई के फाइदा छ भने यो महामारीको राम्रोसँग मुकाबिला गर्ने हाम्रै छिमेकी छन् । उनीहरुबाट हामीले कसरी योसँग मुकाबिला गर्ने भनेर सिक्न सक्छौँ ।

सरकारले त्यो खालाको रणनीति अख्तियार गर्नुपर्छ । यस्तो ठूलो सङ्कटको  घडीमा हामीले विरोधको भूमिका निर्वाह गर्नेभन्दा पनि सरकारलाई साथ दिनुपर्छ । को सरकार, को नागरिक, को नीति क्षेत्र सबै मिलेर योसँग जुध्नुपर्ने हुन्छ । जस्तै हिजो सरकारले गरेका निर्णय प्रयाप्त छैनन् तर उचित छ ।

हामीले अहिले सबैभन्दा पहिले खाने, पिउने कुराको उपलब्धतालाई ध्यान दिनु जरुरी छ । कसरी खाद्यान्न सङ्कलन केन्द्रमा पुग्ने, कसरी पसलमा पुग्ने कसरी घरघरमा पुग्ने भन्ने छ । घर घरमा पुर्याउने कुरा सम्भव नभए पनि पसल– पसलसम्म पुग्ने कुराको व्यापक व्यवस्था हुुनुपर्छ ।  फ्रन्टलाइनमा डिल गर्ने, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारीलाई दुईवटा कुराको व्यवस्था हुनुपर्छ ।

उनीहरुले पीपीईबिना नै काम गर्नुपर्यो भने ठूलो सङ्कट हुन्छ । हामीसँग पीपीईका सामग्री एकदमै कम छ । यस्तै औषधि उपचारको कुरा छ । यसको सबै कुरा टेकुमा निर्भर गरिएको छ । कम्तीमा ७ प्रदेशमा  यसको परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याउनुपर्छ ।

अब हामीले निजी अस्पताललाई पनि केही मात्रामा परिचाल गर्नुपर्छ । बुटवलमा मान्छे मरिरहेको छ । के भएर मरेको भन्ने कुरा थाहा हुन सकेका छैन । यो त गाह्रो भयो । यस्तो परिस्थितिलाई पनि हामीले डिल गर्नुपर्यो । आर्थिक कुरा गर्ने हो भने ज्यालादारीको ज्याला नै रोकिएको छ । उनीहरु घरघरमा बसिरहेका छन् । उनीहरुको खाने पिउने उपाय छैन । यस्ता मान्छेलाई कसरी राहत पुर्याउने त्यहाँ हामीले हर्नुपर्यो । सरकारले घर मालिकलाई भाडामा बसेकाहरुसँग १ महिनाको भाडा नलिनु भनेको छ । कैयौँ मान्छेको घरभाडाबाट आउनेबाहेकको अन्य आय स्रोत हुँदैन । त्यस्तो मान्छेलाई के गर्ने ? यस्तै हामीले यस्तो महामारीका विरुद्ध उपत्यका बाहिर पनि कसरी डिल गर्ने भन्ने प्रणाली बनाउनु पर्यो ।

चाहे नेपालगञ्जमा होस्, विराटनगरमा होस् यस्ता ठाउँमा पनि एक खालको प्रणाली बन्नुपर्यो । ताकि हामी यस महामारीविरुद्ध जुध्दा नेपालभरी नै जुध्न सक्यौँ । उपत्यकामा मात्र जुधेर पुग्दैन । अहिले धेरै मान्छे गाउँमा पुगेका छन् । तीमध्ये कतिमा कोरोना सङ्क्रमण छ थाहा नै छैन । बिना परीक्षण उनीहरु घर पुगेका छन् । भोलिका दिनमा जुम्ला, कालिकोटामा कोरोना देखिएला । त्यहाँ कोरोना फैलिन थाल्यो भने कसरी डिल गर्ने भन्ने समस्या छ । सरकारले सबैतिर ध्यान पुर्याउनुपर्छ । हामी सबैले पनि यो मामलामा सहयोग गर्नुको विकल्प छैन । यसमा सबै लाग्नुपर्छ । यो खेलाची गर्ने बेला होइन ।

प्रस्तुतिः लोकेन्द्र भट्ट
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.