मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थालाई कडाईका साथ लागू गर्दै सरकार

मङ्गलबार, १८ चैत २०७६, १८ : ००
मङ्गलबार, १८ चैत २०७६

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थालाई कडाईका साथ लागू गर्ने भएको छ । कोरोना संक्रमणको पछिल्लो अवस्था हेरेर सरकारले अनिवार्य रुपमा क्वारेन्टाईनमा बस्नुपर्ने व्यवस्थालाई कडाईका साथ लागू गर्ने रणनीति लिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमण फैलावटको प्रकृति हेरेर सरकारले अनिवार्य क्वारेन्टाईनको व्यवस्था कडाईका साथ पालना गराउने विषयलाई प्राथमिकतामा राखेको बताए ।

हाल देखिएका संक्रमितहरु सबै मुलुकभित्रका नभई बाहिरबाट आएका व्यक्ति भएको र उनीहरुबाट परिवार लगायत नजिकको सम्पर्कमा आएका अन्यमा सरेको नदेखिएकाले चिन्तित हुनुपर्ने अवस्था नरहेको पनि उनले स्पष्ट पारे । उनले विदेशबाट आएकालाई अनिवार्य १४ दिन क्वारेन्टाईनमा राख्न सकेमा संक्रमण फैलनबाट सजिलै रोक्न सकिने बताए । त्यसैगरी शंकाष्पदहरुको नमुना परीक्षणको दायरा बढाउनुको साथै अस्पतालहरुको व्यवस्थापन तयारी, फिबर क्लिनिक, आवश्यक जनशक्ति र व्यक्तिगत सुरक्षा सामाग्री को पर्याप्ततालाई पनि सरकारले प्राथमिकतामा राखेको उनले बताए ।

उनले संक्रमण रोक्नका लागि लकडाउन नै प्रभावकारी उपाय भएकाले लकडाउलाई प्रभावकारी बनाउने तर्फ सरकार कडा रुपमा प्रस्तुत हुने बताए । कोभिड १९ को संक्रमण नियन्त्रणका लागि सरकारले गरेका आदेशको प्रभावकारी कार्यान्वयन गराउन गठन भएको कोभिड १९ क्राईसिम म्यानेजमेण्ट सेन्टर (निर्देशक समिति)ले  विभिन्न ४ वटा समिति बनाएर काम सुरु गरिसकेको पनि उनले जानकारी दिए ।

पाटन र वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका तीनै जना विरामीको नमुना परीक्षण को रिपोर्ट नेगेटिभ आएको जानकारी दिँदै उनले ज्वरोका विरामी देख्ने वित्तिकै नडराउन स्वास्थ्यकर्मीलाई आग्रह गरे । उनले ज्वरोका विरामीले आवश्यक उपचार नपाउँदा जटिल अवस्था श्रृजना हुनेतर्फ सजग हुन सबैलाई आग्रह गरे । उनले भने, ‘ज्वरोको विरामी देख्ने वित्तिकै डराउने प्रवृत्ति रहेको छ । ज्वरोका विरामीलाई नहेरिदिँदा थप जटिलतामा जाने र मृत्यु पनि हुन सक्ने हुन्छ । त्यसैले ज्वरोको बिरामीलाई नहेर्ने काम नगरिदिनुहुन अनुरोध छ । ज्वरो लगायत कोरोनाका लक्षण देखिएका विरामीलाई अस्पतालहरुले नहेर्ने विषयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यन्तै गम्भीरतापूर्वक हेरेको छ ।’

उनले हरेक प्रदेशमा १ हजार ३ सय देखि २ हजार ५ सय सम्म पिपिई मौज्दात रहेको तथा स्वास्थ्य सेवा विभागमा पनि यथेष्ट मात्रामा पिपिइ मौज्दात रहेकाले उपचारमा कुनै कमी नहुने पनि स्पष्ट पारे । उनले कोरोना भाइरस संक्रमणका नयाँ आयाम तथा उपचार पद्धतिमा अपनाउनुपर्ने सतर्कता लगायत आवश्यक प्राविधिक परामर्श लिनका लागि पाटन अस्पतालबाट छिमेकी मुलुकमा रहेका प्राविधिकहरुसँग टेलिकन्फरेन्स गर्ने कामको पनि सुरुवात भएको जानकारी दिए ।

प्रवक्ता देवकोटाकाअनुसार कोरोना संक्रमणको स्वाव परीक्षण गर्नका लागि प्रदेशहरुमा प्रयोगशाला विस्तार हुने क्रममा रहेको छ । पोखरामा परीक्षण सुरु हुने क्रममा, धनगढीमा आवश्यक समान पुगेको, बुटवल र सुर्खेतमा जाने क्रममा र जनकपुरमा जाँदै रहेको तथा हेटौंडामा त्यहाँ रहेकै मेसिन प्रयोग गर्ने गरि आवश्यक सामान पठाइएको छ ।

प्रवक्ता देवकोटाले मंगलबारसम्म १ हजार ६० वटा नमुना परीक्षण गरिएको, टेकु अस्पतालमा १० जना सहित सबै प्रदेशमा गरि ७७ जना आइसोलेसमा राखिएको र आइसोलेसनमा रहेका सबै विरामीको स्वाव परीक्षण गरिने जानकारी दिए । अहिलेसम्म कोरोना संक्रमण देखिएका मध्ये २ वटा पोजेटिभ केसको कन्ट्रयाक्ट ट्रेसिङ सकिएको र पछिल्लो २ वटाको पनि ८० प्रतिशत काम सकिएको जानकारी पनि उनले दिए । स्वास्थ्यमन्त्रीका स्वास्थ्य सल्लाहाकार डाक्टर खेम कार्कीले व्यक्तिगत सुरक्षा सामाग्रीको सही ढंगले प्रयोग गर्न चिकित्सकहरुलाई आग्रह गरे ।

पिपिइ लगाएर स्वास्थ्यकर्मीले सामूहिक तस्विर खिचाएको फोटो सामाजिक सञ्जालमा आएको उल्लेख गर्दे उपचारमा अत्यन्तै महत्वपूर्ण सामाग्रीको गलत ढंगले प्रयोग नगर्न पनि उनले सुझाव दिए । ५ मिनेटमा नै कोरोना परीक्षण गर्न सकिने भन्दै प्रचार गरिएको र्यापिड टेस्ट किट विश्वसनिय नभएको भन्दै विश्व स्वास्थ्य संगठनले प्रयोग नगर्नु भनेर निर्देशन दिएको उल्लेख गर्दै उनले त्यस्ता भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न पनि आग्रह गरे । कोरोना संक्रमणबाट बच्चका लागि लकडाउन गरिएको समयमा खेतीपाती गर्ने कि नगर्ने भन्ने दुविधाका कुरा आएको उल्लेख गर्दै उनले सामाजिक दुरी कायम गरेर खेतीपाती, घाँसपात र गाईवस्तु चराउन मिल्ने स्पष्ट पारे । चिकित्सक र नर्सलाई घरपटीहरुले कोठा छोड्न भनेको भन्ने सुन्नमा आएको भन्दै उनले त्यस्तो भएमा स्थानीय प्रशासनलाई जानकारी गराउन आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप