शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनमा एकैदिन ४ अर्ब ६२ करोड राजस्व उठ्यो

मङ्गलबार, १८ चैत २०७६, १९ : ०२
मङ्गलबार, १८ चैत २०७६

 काठमाडौं । लकडाउन यता ६ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ राजस्व उठेको छ । यो चैत ११ गतेदेखि १८ गते (मंगलबार)सम्मको तथ्यांक हो । मंगलबारमात्रै  ४ अर्ब ६२ करोड ३ लाख राजस्व उठेको महालेखा नियन्त्रकको कार्यालयका उपसचिव भेष भुर्तेलले बताए ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकलाई आधार मान्ने हो भने  चैत १७ गतेसम्म ५०.९६ प्रतिशत राजस्व उठेको छ । हालसम्म ५ खर्ब ६६ अर्ब ६९ करोड राजस्व उठेको छ । जसमा  कर तर्फ ५ खर्ब १७ अर्ब  रुपैयाँ र ४९ अर्ब ६७ करोड रुपैयाँ गैरकर उठेको छ । आर्थिक वर्ष सकिन अब झण्डै साढे तीन महिना बाँकी छ । लक डाउन यता (चैत ११ देखि १७ सम्म) जम्मा ०.१९ प्रतिशत राजस्व उठेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकमा  छ ।

सरकारले चालु आर्थिक वर्ष (२०७६।७७) मा ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा कोरोना भाइरसका कारण सो लक्ष्य अधुरो हुने भएको छ । साढे ८ महिनामा ५० प्रतिशत मात्र राजस्व उठ्नुले सरकारको लक्ष्य पुरा नहुने देखिएको छ । भारत र नेपालको लक डाउन अझै लम्बिएमा राजस्व अझै प्रभावित हुने निश्चित छ । 

चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले ११ खर्ब १२ अर्ब रूपाँको राजस्व संकलन गर्ने लक्ष्य लिए पनि अर्धबार्षिक समीक्षामार्फत यो लक्ष्यलाई संशोधन गर्दै सरकारले ५ प्रतिशत घटाएको छ । चालू आर्थिक वर्षमा बजेटको ९० प्रतिशत अर्थात १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रूपैयाँ खर्च गर्ने र साढे आठ प्रतिशत नजिकको आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य छ ।

उसो त सामान्य अवस्थामा पनि सरकारले बजेट खर्च गर्न नसक्दा लक्ष्य पुरा हुँदैन थियो । कोरोनाकै कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित छ । यद्यपि, कुल ग्रार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्र भएकाले समग्र अर्थतन्त्रलाई पर्यटन क्षेत्रसँग मात्र दाँजेर हेर्न नहुने अर्थमन्त्री डा. यूवराज खतिवडाले बताउँदै आएका छन् ।

बजेट खर्च ५० प्रतिशत पनि पुगेन
लकडाउनका कारण अहिले विकास निर्माणका कामहरु ठप्प छन् । यसले गर्दा बजेट खर्च हुन पाएको छैन । चैत १७ गतेसम्म पूँजीगत खर्च २५.४४ प्रतिशत मात्र भएको छ ।

बजेट खर्च नहुने अहिलेको परिस्थिति मात्र होइन । समयमै खर्च गर्न नसक्नु परम्परागत रोग जस्तै हो ।  पहिलो चौमासिकको खर्च स्थिति थप कमजोर देखिएपछि बजेट कार्यान्वयनको शैलीप्रति प्रश्न गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत दोस्रो चौमासिक सम्ममा कम्तीमा ५० प्रतिशत पुँजीगत खर्च गर्नको लागि निर्देशन दिएका थिए । तर हालसम्म पनि ५० प्रतिशत पुगेन । 

अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार संसारभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रको वृद्धिदर ०.५ प्रतिशतले खुम्चिने देखिएको छ । एसियाली बिकास बैंक एडीबीको प्रारम्भिक तथ्यांकले पनि कोरोनाकै कारण विश्व अर्थतन्त्रमा ३ खर्ब ४७ अर्ब अमेरिकी डलरसम्म क्षति हुनसक्ने आकलन गरेको छ ।

मूल्य वृद्धि नियन्त्रण बाहिर
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले सात महिनामा ६.४७ प्रतिशत पुगेको देखाएको छ । यो माघ सम्मको अवस्था हो । अहिले बजारमा लकडाउनको अवस्थालाई देखाउँदै कालोबजारी र मूल्यवृद्धि फस्टाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप