शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना नियन्त्रणका लागि आधारभूत काम सम्पन्न भयो: मुख्यमन्त्री पौडेल

मङ्गलबार, १८ चैत २०७६, २२ : २७
मङ्गलबार, १८ चैत २०७६

–रिपेश दाहाल

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले महामारीका रुपमा फैलिएको कोरोना भाइरसले मानव जातिकै अस्तित्वमा चुनौती दिएको उल्लेख गर्दै प्रदेश सरकारले यसको सामना गर्न प्रशस्त तयारी गरेको बताएका छन् । आज प्रदेशवासीका नाममा सम्वोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले विश्वव्यापी महामारीको महाविपत्तिमा सरकारले विभिन्न सुरक्षात्मक उपाय अपनाउने क्रममा देशमा लकडाउन घोषणा गरेकाले आम नागरीकलाई सेल्फ क्वारेण्टाइनमा रहन आग्रह गरेका छन् ।

उनले सङ्क्रमण फैलन नदिन र आवश्यक उपचारको व्यवस्था गर्न कोरोना अस्पताल तथा आइसोलेसन वार्ड निर्माण, क्वारेण्टाइन निर्माण, स्वास्थ्यकर्मीको लागि आवश्यक उपकरण, थर्मल गन, आइसियु र भेण्टिलेटरको व्यवस्था एवं औषधि तथा उपकरणको प्रबन्ध गर्ने आधारभूत कार्य सम्पन्न भएको जानकारी दिए ।

मुख्यमन्त्री पौडेलले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि वाग्मती सरकारले रु ५० करोडको कोष स्थापना गरेको, उक्त कोषमा प्रदेश सरकारका मन्त्रिपरिषद्का सदस्यका साथै राजनीतिक नियुक्ति प्राप्त सबैले एक महिनाको पारिश्रमिक बराबरको रकम जम्मा गर्ने निर्णय गरिएको, विभिन्न राजनीतिक दलबाट प्रतिनिधित्व गर्नुहुने प्रदेश माननीय सदस्यले पारिश्रमिक उपलब्ध गराउने घोषणा भएको उल्लेख गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका वाग्मती प्रदेससभा संसदीय दलका सम्पूर्ण सदस्यले १५ दिनको पारिश्रमिक उपलब्ध गराउनुभएको, सङ्घीय सरकारले गरेको प्रबन्धबाहेक हेटौँडाको कीटजन्यरोग अनुसन्धान केन्द्र (भिभिडि आरटिसि) मा रहेको ल्याबलाई व्यवस्थित बनाएर प्रदेश दुईलाई समेत हुने गरी कोभिड १९ को परीक्षण गर्ने व्यवस्था गरेको उनको भनाइ छ । मुख्यमन्त्री पौडेलले भरतपुर महानगरपालिका सँगको सहकार्यमा प्रदेश सरकारले ७० श्ययाको छुट्टै कोरोना विशेष अस्पताल सञ्चालन गरेको, प्रदेशका १३ वटै जिल्लामा आइसोलेसन वार्ड तयार भएको, आजसम्म दुई हजार ७५ क्वारेण्टटाइन श्यया निर्माण सम्पन्न भएको उल्लेख गरे ।

उनले सम्बोधनका क्रममा प्रदेशभरमा ६३ आइसोलेसन श्यया, १४८ आइसियु श्यया ६९२ थान पिपिइको प्रबन्ध भइसकेको जानकारी दिए । पौडेलले थप १७२ वटा आइसोलेसन श्यया तयारीको क्रममा रहेको र २३ वटा आइसियु श्ययासमेत तयार हुँदै गरेको बताए ।

मुख्यमन्त्री पौडेलले आइसोलेसनका बिरामीको स्वाब लिई परीक्षणका लागि पठाउन दक्ष जनशक्तिको व्यवस्था गरिएको बताउँदै कोरोना सङ्क्रमितको उपचारको लागि ७१ कन्सल्ट्याण्ट फिजिसियन, ३१ जना एनेस्थ्योलोजिस्ट, २५१ मेडिकल अफिसर, ३४ जना नर्सिङ सुपरभाइजर, ७१३ स्टाफ नर्स, ४७५ हेल्पर÷नर्सका सहयोगी र १५७ ल्याबोरेटरी प्रर्सनल गरी एक हजार ७१४ स्वास्थ्यकर्मी तयारी अवस्थामा राखेको जानकारी दिए । उनले हालसम्म प्रदेशका विभिन्न जिल्लामा माक्स २२ हजार ८०० थान, ह्याण्ड स्यानिटाइजर १२८ लिटर, पिपिइ ७२, प्रोटोकल फर्म ६३, ईन्फ्रारेड थर्मोमिटर ४४, शु–कभर ५१०, क्याप ३१०, ग्लोब्स ६३, गोन मिड्यम २८५ तथा १५१ थान ह्याण्डबुक पठाइएको उल्लेख गरे । 

कोरोना भाइरस सङ्क्रमणका कारण उत्पन्न परिस्थितिमा यस प्रदेशमा अत्यावश्यक वस्तुको आपूर्ति तथा वितरणमा कुनै समस्या नआउने गरी व्यवस्था गरिएको मुख्यमन्त्री पौडेलले जानकारी दिए । पौडेलले यस प्रदेशमा चामल ११ हजार २९० मे.टन, नुन ३२ हजार मे.टन, खाना पकाउने एलपी ग्यास ८४ हजार सिलिण्डर मौज्दात रहेको र यसको बिक्री वितरण र आपूर्ति व्यवस्था सहज बनाइएको बताए ।

मुख्यमन्त्री पौडेलले प्रदेशस्तरीय ¥यापिड रेस्पोन्स टिम, उच्चस्तरीय अनुगमन समिति निर्माण गरी अनुगमन एवं विभिन्न प्रचारप्रसार, सूचना सञ्चारका गतिविधिको सञ्चालन भइरहेको, २४ घण्टा नै सहायता कक्षको प्रबन्ध गरिएको बताए । उनले स्थानीय सरकारको समन्वयमा कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि आवश्यक कार्य गर्न प्रदेश सरकारले काठमाडौँ महानगरपालिका, भरतपुर महानगरपालिका र ललितपुर महानगरपालिकालाई २०/२० लाख, हेटौँडा उपमहानगरपालिकालाई १५ लाख, ४१ वटै नगरपालिकालाई १२/१२ लाख, ७४ वटै गाँउपालिकालाई १०÷१० लाख र १३ वटै जिल्ला विपद् व्यवस्थापन समितिका लागि १३ वटै जिल्ला समन्वय समितिमार्फत पाँच÷पाँच लाख रकम विनियोजन गरिएको उल्लेख गरेका छन् । 

मुख्यमन्त्री पौडेलले चितवनमा भरतपुर महानगरपालिकामार्फत कोरोना विशेष अस्पताललाई रु एक करोड, चितवनकै रत्ननगर नगरपालिकामार्फत गुञ्जमान अस्पताललाई रु २० लाख, काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताललाई रु २० लाख रकम तथा स्वास्थ्य सामग्री एवं उपकरण उपलब्ध गराई स्वास्थ्य सेवा सञ्चालन गरीएको उल्लेख गरे ।

मुख्यमन्त्री पौडेलले सरकारको निर्णय कार्यान्वयनमा दत्तचित्त भई लाग्नुभएका राष्ट्रसेवक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सक, स्वास्थ्यकर्मी, नागरिक समाज तथा यस महाविपत्तिको समयमा जनताको सेवामा अहोरात्र खट्ने नेतृत्वदायी जिम्मेवारी लिने स्थानीय तहका जनप्रतिनिधिलाई आभार व्यक्त गर्दै कर्तव्यपथमा निरन्तर लागिरहन अनुरोध गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप