बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

२ नम्बरमा १ नम्बर बन्ने राजपाको दाबी, यस्तो छ अंकगणित

बिहीबार, १५ भदौ २०७४, १७ : ०१
बिहीबार, १५ भदौ २०७४

काठमाडौं–स्थानीय तहको पहिलो र दोस्रो चरणमा भाग नलिएको नवगठित राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले दुई नम्बर प्रदेश (मधेश) मा हुन लागेको चुनावमा भाग लिँदैछ  ।

असोज २ गते हुने १३६ स्थानीय तहमा राजपा नेपालले उम्मेदवारी दिने तयारी गरिरहेको छ ।  संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने अडानमा रहेको राजपा नेपाल दुई नम्बर प्रदेशको स्थानीय तहको चुनावी तयारी तीब्र रुपमा अगाडि बढेपछि लचिलो भएर चुनावमा सहभागि भएको हो । 

संशोधन नभएसम्म कुनै पनि चुनावमा भाग नलिने मात्र होइन, चुनावै नहुने नदिने चेतावनी राजपाले दुई वर्षदेखि लगातार दिँदै आएको थियो । 

सोही कारणले ती दलले दुई चरणमा भएको स्थानीय तहको चुनावमा भाग लिएन । पछि संशोधन विधेयक संसदमा पेस भएपछि आउने परिणाम स्वीकार गर्ने तयार भएको थियो । 

सहमति अनुसार संसदमा प्रस्तुत भएको विधेयक भदौ ५ गते अस्वीकृत भयो । त्यसलाई स्वीकार गर्दै राजपा नेपाल चुनावमा होमिएको हो । 

दुई चरणमा भएको चुनावको ठाउँमा राजपा नेपालको खासै संगठन नभएको कारण रणनीतिक ढंगबाट चुनावमा भाग नलिएको पनि टिप्पणीहरु भइरहेको छ । यता दुई नम्बर क्षेत्र राजपा नेपालको आधार क्षेत्र हो । ती दलहरुले यसै प्रदेशमा सीमित भएर आन्दोलन गर्दै आएका छन् । आन्दोलितै अवस्थामा हुने चुनावबाट फाइदा हुने भन्दै राजपा नेपाल चुनावमा सहभागि भएको कतिपयको बुझाई रहेको छ । 

अहिले पनि राजपा नेपालले चुनावसँगै आन्दोलनका कार्यक्रमहरु गर्दै आइरहेका छन् । मधेशी जनतालाई आन्दोलनमै अल्झाएर भोट आफ्नो पक्षमा पारी मधेशमा एक नम्बरको पार्टी बन्ने रणनीतिका साथ राजपा नेपाल अगाडि बढेको देखिन्छ । यद्यपी नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले समेत २ नम्बर प्रदेश आफ्नो प्रतिष्ठाको विषय भएको र पहिलो दल बन्ने दाबी गर्दै आएको छ । 

यस्तै दाबी राजपाको समेत रहेको भएपनि उसको चुनावी सहभागितालाई महत्वका साथ हेरिएको छ । किनकी, राजपा नेपालको हरेक गतिविधि दुई नम्बर प्रदेशमा मात्र सीमिति रहेको छ । मधेशी मोर्चामा रहेका छवटा दल मिलेर राजपा नेपाल बनेको हो । र राजपा नेपालका अध्यक्ष मण्डलमा रहेका छजना अध्यक्षको घरपनि दुई नम्बर प्रदेशमै छ । त्यतिमात्र होइन, राजपाका १३३ पदाधिकारीमध्ये अधिकाँशको घर दुई नम्बर प्रदेशमै रहेका छन् । यस हिसाबले पनि दुई नम्बर प्रदेश राजपाको लागि प्रतिष्ठाको विषय बनेको छ । 

यो पनि पढ्नुहोस्​

एक नम्बर बन्न मधेसमा प्रचण्डको दौडधुप : यस्तो छ माओवादीको अंक गणित

के छ तयारी ?
पाँच गते विधेयक अस्वीकृत भएपछि राजपा नेपालले आठ गते पत्रकार सम्मेलन गरी चुनावमा जाने बताएको थियो । 

जुन जुन दलले विधेयक फेल गराउनमा भूमिका खेले ती दलको विरुद्धमा भण्डफोर गर्दै चुनावमा जाने राजपाको भनाई थियो । 

चुनावमै होमिएको राजपाले उम्मेदवार छनौटका लागि प्रत्येक जिल्लामा एकजना प्रयवेक्षक र ६–६ जनाको एक उच्च स्तरीय समिति पनि पठाएको छ । जिल्ला जिल्लामा उम्मेदवार छनौट गर्ने कार्य धमाधम भइरहेको छ । १६ गतेसम्ममा प्रयवेक्षकले प्रतिवेदन बुझाएपछि केन्द्रीय अध्यक्ष मण्डलले उम्मेदवारको टुगों लगाउने तयारीमा छ । 
 

उम्मेदवार चयनमा महाभारत
तर, राजपा नेपालमा एउटा तहका लागि एकजना उम्मेदवार छनौट गर्नु त्यति सजिलो छैन । बैशाख ७ गते राजपा नेपाल गठन भएको हो । भर्खर गठन भएको

हुनाले कार्यकर्ता तथा नेताहरुलाई व्यवस्थित गर्न पार्टीमा सकस देखिएको छ । पुराना छवटै दलका कार्यकर्ता र नेतामध्ये उम्मेदवारका थुप्रै आकाँक्षीहरु छन् । उम्मेदवारका लागि प्रत्येक जिल्लामा विवाद भइरहेको छ । प्रयवेक्षक र उच्चस्तरीयलाई विवाद मिलाउनका लागि हम्मे हम्मे भइरहेको छ । 

उम्मेदवारका आँकक्षीहरु टिकट नपाए अन्य पार्टीमा जाने खतरा पनि त्यतिकै रहेको छ । कार्यकर्तालाई समेटेर राख्ने चुनौति राजपा नेपालसँग रहेको छ । 
 

राजपा नेपालप्रति असन्तुष्टी

यता मधेशी जनता राजपा नेपालप्रति असन्तुष्ट रहेका छन् । लामो आन्दोलन गरेर केही उपलब्धी नलिई चुनावमा भाग लागेको भन्दै जनता आक्रोशित बनेका हुन् ।  राजपा नेपालले मधेसमा गरेको आन्दोलनका कारण ६० जना भन्दा बढीले सहादत प्राप्त गरेका थिए भने हजारौंको सख्यामा घाइते र कतिपय आन्दोलनकारीहरु अझै थुनामा रहेका छन् । 

राजपा नेपालले एमाले र राप्रपाका कारण संविधान संशोधन हुन नसकेको आरोप लगाउँदै आएको छ । संशोधन नभएपनि आन्दोलनमा मारिएकालाई सहिद घोषणा गराएको, मृतक परिवारलाई क्षतिपूर्ति दिएको, घाइतेलाई उपचार गराएको, असशक्तलाई व्यवस्थापन गरेको, बन्दीलाई रिहा गराएको, मुद्दा फिर्ता गराएको, स्थानीय तहको सँख्या थप गराएको जस्ता कुरा गरेर मधेशी जनतालाई फकाउने प्रयास प्रचण्ड र शेरबहादुर देउवा नेतृत्वको सरकारबाट भएको थियो । 

राजपा नेपालको अंकगणित
पहिलो संविधानसभा चुनावमा मधेशी दलको नाममा तीन दलले मात्र चुनाव लडेका थिए । फोरम नेपाल, तमलोपा र सद्भावना पार्टी चुनाव लडेका थिए । तीनवटै दल मिलाएर त्यसबेला देशैभरिबाट प्रत्यक्षमा ४३ वटा सीट जितेका थिए । 

दोस्रो सविधानसभा चुनावमा नतिजा खस्कियो । तीन दलबाट विभिन्न दलका विभाजित अध्यक्षहरु पनि हारे । अहिले राजपा नेपालको अध्यक्ष मण्डलमा रहेका राजेन्द्र महतो, महन्थ ठाकुर, अनिल झा, राजकिशोर यादव र  शरतसिह भण्डारीले समेत चुनाव हारेका थिए ।

दोस्रो सविधानसभा चुनावमा दुई नम्बर प्रदेशको आठवटा जिल्लामा प्रत्यक्षतर्फबाट तीन लाख ५७ हजार १० मत मात्र राजपा नेपालले ल्याएको छ । जब कि ती जिल्लामा १८ लाख ४९ चारसय १९ मत खसेको थियो । त्यसमध्ये छवटा दल मिलेर यति मात्र ल्याएको छ । 

दोस्रो सविधानसभा चुनावमा राजपा नेपालमा रहेका छवटै दल अलग अलग चुनाव लडेका थिए । त्यतिबेला छवटै दल मिलाएर ९१ हजार आठ सय ९३ मत सप्तरीबाट प्रत्यक्षमा ल्याएको थियो । सप्तरीमा त्यसमध्ये सबभन्दा बढी मत तत्कालिन सद्भावना पार्टीले ल्याएको थियो । सद्भावना पार्टीले १९ हजार दुईसय २१ मत ल्याएको थियो भने सबभन्दा कम नेपाल सद्भावना पार्टी (तत्कालिन संघीय सदभावना पार्टी) ले ८४१ मत मात्र ल्याएको थियो । 

छवटा निर्वाचन क्षेत्र रहेको सप्तरीमा राजपा नेपालले एउटा पनि सीट जित्न सकेका छैन । सिट नजितेको मात्र होइन, राजपा नेपाल प्रतिस्पर्धामा पनि देखिएको छैन । सप्तरीलाई राजपा नेपालको आन्दोलनको उद्गमस्थल मानिन्छ, सबै आन्दोलनका कार्यक्रम त्यही केन्द्रीत हुन्छ, ठूला नेताहरु पनि त्यहीका छन् तर दोस्रो संविधान चुनावमा राजपामा रहेका छवटै दलको मिलाएर ३९७१८ मात्र मात्र आएको थियो । जब सप्तरीमा दुईलाख ३१ हजार ३२४ मत खसेको थियो । 
 

सिरहा
राजपा नेपालका लागि सिरहाको कुरा गर्ने हो भने दुई लाख ३३ हजार नौ मत खसेकोमा सो पार्टीले २२ हजार ४७३ मत मात्र ल्याएको थियो ।  सिरहा गृह जिल्ला भएको कारणले राजकिशोर यादवले नेतृत्व गरिसकेको फोरम गणतान्त्रिकले १२ हजार एकसय ४५ मत छवटै निर्वाचन क्षेत्रबाट ल्याएका थिए । गणतान्त्रिक पार्टीको तेस्रो स्थान थियो त्यहाँ काँग्रेसका गणेश मण्डल जितेका हुन् । तर त्यही गणतान्त्रिक फोरमले एक नम्बर प्रदेशमा ३५ मत मात्र ल्याएको थियो भने एक नम्बरमा सबभन्दा बढी सद्भावना पार्टीले एकहजार ७४३ मत ल्याएको थियो । छवटा चुनावी क्षेत्र रहेको त्यहाँ पनि एउटा सिट जित्न सकेका छैनन् ।

त्यहाँ काँग्रेसले चार, एमालेले एक, माओवादीले एक सीट जितेका छन् । तर यसपाली राजपा नेपालले आफ्नो बहुमत हुने दावी गर्दै आएको छ ।  राजपा नेपालका सहअध्यक्ष सुरेश मण्डलले भने, ‘उम्मेदवार छनौटमा होशियारी पुर्याइए हामी एक नम्बरको पार्टी हुन्छौ ।’ दोस्रो सविधानसभा चुनावमा उनी सिरहाको क्षेत्र नम्बर छवाट चुनाव लडेका थिए । उनले ११ सय दुई मत प्राप्त गरेका थिए । 
 

धनुषा
सातवटा निर्वाचन क्षेत्र रहेको धनुषामा दोस्रो सविधानसभा चुनावमा राजपा नेपालले ३४ हजार नौसय मत ल्याएको थियो जब कि त्यहाँ दुई लाख ६३ हजार तीनसय ४२ मत खसेको थियो । धनुषामा राजपा नेपालमा रहेका छ दलमध्ये सबभन्दा बढी सद्भावना पार्टीले १५४४१ मत ल्याएको थियो । सबभन्दा कम नेपाल सद्भावना पार्टी (संघीय सद्भावना) ले ८९८ मत ल्याएको थियो । 

राजपा नेपालले त्यहाँ एउटा सीट जित हात पारेको छ । तत्कालिन सद्भावना पार्टीमा रहेका संजय साहले धुनषाका क्षेत्र नं. ४ वाट उनले १२ हजार छसय ६६ मत ल्याएर विजय भएका थिए । अहिले उनी जेलमा छन् । सबभन्दा बढी सीट काँग्रेसले जितेको छ । काँग्रेसले धुनषामा पाँच सिट जितेको छ भने एकसिट एमालेले जितेको छ । 
 

महोत्तरी
छ चुनावी क्षेत्र रहेको महोत्तरीमा दोस्रो संविधानसभा चुनावमा दुई लाख ४६ हजार ८१ मत खसेको थियो तर त्यसमा राजपा नेपालले ६९ हजार २५१ मत मात्र ल्याउन सफल भए । यति मत ल्याए पनि एउटा पनि सीट हात पार्न सफल भएन । गृह जिल्ला र चुनावी क्षेत्र भएको कारणले शरतसिह भण्डारीको तत्कालिन पार्टी रामसपाले २८ हजार चारसय तीन मत ल्याएको थियो । त्यहाँ पनि माओवादी केन्द्रले एक, एमालेले दुई, काँग्रेसले दुई र एकजनाले स्वतन्त्र जिते  । राजपा नेपाल निल भयो । 

राजपा नेपालले महोत्तरीमा पनि एक नम्बरको पार्टी बन्ने दावी गर्दै आएको छ  । शरतसिह भण्डारीले महोत्तरीमा राजपाको राम्रो संगठन बनाएको दावी गरिएको छ । 
सर्लाही
राजपा नेपालले सबभन्दा बढी भरोसा सर्लाहीमाथि नै गरेको छ । राजपा नेपालका नेताहरुले सबै सीट जित्ने दावी गरिरहेका छन् । सर्लाहीमा अध्यक्ष मण्डलमा रहेका तीनजना अध्यक्षहरु त्यही जिल्लाका छन् । राजेन्द्र महतो, महन्थ ठाकुर र महेन्द्रराय यादव सर्लाहीकै भएका हुनाले सर्लाही कब्जा गर्ने रणनीतिमा राजपा नेपाल रहेको छ । सर्लाहीमा राजपाका जंगीलाल यादव र महेन्द्र राय यादवले यसअघि जितेका थिए तर त्यहीबाट राजेन्द्र महतो र महन्थ ठाकुरले हारेका छन् । अरु बाँकी चार सीटमा एमाले काँग्रेस र माओवादी केन्द्रले नै जितेका छन् ।

छवटा चुनावी क्षेत्र रहेको सर्लाहीमा दोस्रो संविधानसभा चुनावमा दुईलाख ६१ हजार ८९१ मत खसेको थियो । त्यसमध्ये राजपा नेपालले ९२ हजार ५२ मत ल्याएको थियो । सर्लाहीबाट राजपा नेपालले राम्रै मत ल्याएको छ । सबभन्दा कम मत राजपा नेपालमा रहेका गणतान्त्रिक फोरमले ल्याएको छ । सो दलले १८९ मत ल्याएको छ भने नेपाल सद्भावन पार्टीले ८९७ मत ल्याएको छ, तमलोपा र सद्भावना पार्टीले २६ हजार भन्दा बढी मत ल्याएको छ भने रामसपा र तमसपाले तीन हजारभन्दा बढी मत ल्याएको छ । 
 

रौतहट
छवटा निर्वाचन क्षेत्र रहेको रौतहटमा राजपा नेपालले दोस्रो संविधानसभा चुनावमा २० हजार नौसय छ मत मात्र ल्याएको थियो । जब कि त्यहाँ दुई लाख ३४ हजार नौसय ३५ मत खसेको थियो । त्यहाँ एउटा पनि सीट जित्न सकेको थिएन । त्यहीको क्षेत्र नं. एकबाट राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झा पनि हारेका छन् । उनले चारहजार २३४ मत ल्याएका थिए । उनी तेस्रो स्थानमा थिए भने लोकतान्त्रिक फोरम अजय गुप्ता दोस्रो स्थानमा थिए । अहिले त्यही अजय गुप्ता राजपा नेपालमा आएका छन् । राजपा नेपालले क्षेत्र नं. एक, चारमा केहि बढी मत ल्याएको छ भने अन्य क्षेत्रमा सात आठ सय मत मात्र ल्याएको छ । 
त्यहाँ माओवादीले दुई, एमालेले दुई र काँग्रेसले एकसीट ल्याएका थिए । 
 

बारा
बारा जिल्लालाई पनि राजपा नेपालले आफ्नो आधार क्षेत्र मानेको छ । त्यहाँ पनि एक नम्बरकै हुने दावी राजपा नेपालका नेताहरुको रहेको छ । तर दोस्रो संविधानसभा चुनावमा ४७ हजार आठसय पाँच मत मात्र ल्याउन सफल भयो । जब कि त्यहाँ दुईलाख आठ हजार पाँचसय छ मत खसेको छ । त्यो जिल्लाबाट पनि एकजनाले जितेका छैनन् काँग्रेस र एमालेले नै कब्जा जमाएको थियो । काँग्रेस र एमालेले तीन तीन सीट हात पारेका थिए । 

बाराको एक नम्बर क्षेत्रमा तत्कालिन गणतान्त्रिकका नेता रामकिशोर यादव प्रतिस्पर्धामा थिए तर काँग्रेसका रामअयोध्या प्रसाद यादवले जित हात पारे । अहिले रामकिशोर यादव उपेन्द्र यादव नेतृत्वको फोरम नेपालमा गएका छन् । बाराको क्षेत्र नं. एक, दुई, तीन र चारमा राजपा नेपालले राम्रै मत ल्याएको छ भने पाँच नम्बर प्रदेशमा निकै कमजोर देखिएको छ । सो क्षेत्रबाट तमलोपाले २१९ मत मात्र ल्याउन सकेको छ । 
 

पर्सा    
पर्साको वीरगञ्ज महानगरपालिका जित्ने दावी राजपा नेपालको रहेको छ । यद्यपी अहिले कसलाई उम्मेदवार बनाउने भनि टुगों लागि सकेको छैन । राजपा नेपालकै दुईजना महासचिव राजेशमान सिंह र विमल श्रीवास्तव आफूले टिकट पाउनुपर्ने भन्दै लबिङमा छन् । उनीहरुले दाबेदारी प्रस्तुत गरिरहँदा कार्यकर्ताबीच  केहि दिन पहिले झडप नै हुन पुगेको थियो । 

दोस्रो संविधानसभा चुनावमा पनि यी दुईको बीचमा  प्रतिस्पर्धा थियो । यी दुईको प्रतिस्पर्धाका कारण काँग्रेसले जित हासिल गरेको थियो । 
पाँचवटा चुनावी क्षेत्र रहेको पर्सामा राजपा नेपालले ३० हजार १४ मत मात्र ल्याउन सकेको थियो । जब कि त्यहाँ एकलाख तीनसय ३१ मत खसेको थियो ।      

  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप