शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘भोलि भवितव्य सिर्जना हुन्छ कि भन्ने त्रास अझै छ’

बुधबार, १९ चैत २०७६, ११ : ०३
बुधबार, १९ चैत २०७६

विश्वभर महामारीका रूपमा फैलिइरहेको कोरोना भाइरसको उच्च जोखिममा छौँ हामी । बागलुङकी एक युवतीमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गण्डकी प्रदेश पनि त्रसित बनेको छ । 
मङ्गलबार बिहान मात्रै कोरोना भाइरस जाँच गर्ने मेसिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । लामो समयको रस्साकस्सीपछि पोखरा आइपुगेको उक्त मेसिन कहाँ राख्ने भन्ने विषयमा पनि केही समय जुहारी चल्यो । अन्ततः पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना गरियो । 

प्रदेशका एघार जिल्लामा जम्माजम्मी २८ सयको हाराहारीमा क्वारेन्टाइनमा रहेको प्रदेश सरकार बताउँछ । यद्यपि यो सङ्ख्या अझ बढी पनि हुन सक्छ । कोरोना रोकथामको लागि प्रदेश सरकारले १५ करोड रुपैयाँको कोरोना रोकथाम कोष पनि खडा गरेको छ । 

लेखनाथ सामुदायिक अस्पताललाई प्रदेश सरकारले डेडिकेटेड अस्पतालका रूपमा पनि प्रस्ताव अघि बढाएको छ । पर्याप्त सुरक्षा कवच र आवश्यक तयारी नै प्रदेश सरकारले पूरा गर्न नसकेको भन्दे व्यापक आलोचना पनि भइरहेका छन् । 

महामारी रोक्न प्रदेश सरकारले केकस्ता योजना बनाएको छ त ? यस विषयमा केन्द्रित रहेर रातोपाटीले गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री तथा गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतसँग कुराकानी गरेका छ । प्रस्तुत छ मन्त्री बस्नेतसँग गरेको कुराकानीको सम्पादित अंश : 

गण्डकी प्रदेश सरकार कोरोना रोकथामका लािग आफ्नो क्षमताअनुसार लागिरहेको कुरा त यहाँहरुलाई थाहा नै छ । कोरोना रोकथाका लागि हामीले १५ करोड रुपैयाँको कोष स्थापना गरेका छौँ । यसका लागि कार्यविधि पनि पास भइसकेको छ । 

गण्डकी प्रदेश सरकारले मालेपाटनमा कृषि तालिम केन्द्रलाई क्वारेन्टाइन ताकेको छ । त्यहाँ अहिले १६ जना बाहिरबाट आएका बसिरहनु भएको छ । ८ दिनदेखि उहाँहरु क्वारेन्टाइनमा हुनुहुन्छ ।  
लेखनाथ सामुदायिक अस्पताललाई डेडिकेटेड अस्पतालका रूपमा व्यवस्था गरेका छौँ । स्थानीय तहसँग पनि कोर्डिनेसन गरिरहेका छौँ । बाहिरबाट आएका मान्छेलाई छुट्टै राख्नेदेखि कसैसँग भेटघाट नगर्नुस् भनेर सचेतना पनि फैलाइरहेका छौँ । स्थानीय तहले पनि क्वारेन्टाइनको व्यवस्था गरेर मान्छे राखिरहेको छ ।

सङ्घ सरकारसँग सुरक्षा सामग्री पीपीई लगायत ल्याबको व्यवस्था गर्न अनुरोध गरिरहेका छौँ । आज बिहान मात्रै कोरोना जाँच गर्ने मेसिन आइपुगेको छ । सामान आइसकेपछि एघारै जिल्लामा वितरण गछौँ । योभन्दा अघिका सामानहरु जिल्ला अस्पतालमा पठाइसकेको छौँ । २, २ पटक गरेर १० लाख रुपैयाँ जिल्ला अस्पतालमा पठाएका छौँ । त्यो रकम आवश्यक सामग्री खरिद गर्नका लागि प्रयोग गरिने छ । कोरोनाकै लागि मात्रै खर्च गर्ने गरेर ससर्त पठाइएको रकम हो त्यो । 

सङ्क्रमित युवतीको बागलुङमै उपचार भइरहेको छ । अरू रिपोर्ट काठमाडौँ पठाउने काम भएको छ । थप सङ्क्रमण अहिलेसम्म देखिएको छैन ।  

प्रदेश सरकार आफ्नो क्षमताले भ्याएसम्म कोरोनाविरुद्ध लागिरहेको छ । 

ठ्याक्कै डाटा त हामीले राख्न सकेका छैनौँ । किनभने बाहिरबाट आएका मान्छेहरु क्वारेन्टाइनमा नबसी बाहिर हिँडिरहनु भएको छ । तर मोटामोटी आँकलनबाट २८ सय जना क्वारेन्टाइनमा बसेको हामीसँग तथ्याङ्क छ । विभिन्न जिल्लामा गरेर । यो डाटा पनि गाउँपालिका र नगरपालिकाबाट आएको हो । योभन्दा बढी पक्कै छ । बाहिरबाट आएका मान्छेले जुन भूमिका निर्वाह गर्नुपर्ने थियो । त्यो नियम उल्लङ्घन गर्नुभयो । 
भोलिका दिनमा भवितव्य सिर्जना हुन्छ कि भन्ने त्रास अझै पनि छ । त्यो नभैदियोस् भन्ने लागिरहेको छ । सबैलाई सचेत गरिएको छ । सङ्क्रमित युवतीको सम्पर्कमा आएका सबैको खोजतलास भइरहेको । साढे दुई सय जति मान्छेसँग उहाँले भेट गरेको भन्ने सुन्नमा आएको छ । उहाँको आफ्नो गाउँ, इस्टमित्रलाई भेट्नु भएको छ । उहाँ गएको ठाउँको पहिचान प्रशासनले गरेर क्वारेन्टाइनमा बसाउन हामी लागिरहेका छौँ । सकेसम्म यसलाई नियन्त्रण रोकथाम गर्न लागिरहेका छौँ । 

राहतका प्याकेज कार्यक्रम त सङ्घीय सरकारले घोषणा गरिसकेको छ । यो त तपाईंहरु सबैलाई थाहै छ । अति विपन्न परिवारले खानै नपाउने अवस्था आउन सक्छ भनेर स्थानीय तहसँग समन्वय गरिरहेका छौँ । आफ्नो टोलमा त्यस्ता विपन्न परिवार कति छन् भनेर लगत निकाल्ने काम भइरहेको छ । पोखरा महानगरमा राहत बाँढ्न सुरु भइसक्यो । यसलाई हामी व्यवस्थापन गर्दै अघि बढ्छौँ । 

मलाई लाग्छ धेरै लकडाउन गरिरहनुभन्दा चेतनाको कुरा हो । म बाहिरबाट आइरहेको छु । सङ्क्रमित ठाउँबाट आइरहेको छुँ । सङ्क्रमित ठाउँबाट आइरहेको हुनाले । चौध दिन आफ्नो परिवारभन्दा पर रहेर बस्नुपर्छ भन्ने चेतना भयो भने यो समस्या हुँदैन । नत्र आफू खुसी हिँड्न थाल्यौँ भने यसले ठूलो भयावह अवस्था ल्याउन सक्छ भन्ने कुरा विश्वका अरू देशलाई हेरेर पनि हामी नेपालीले बुझ्न जरुरी छ । 
सधैँ लकडाउन गरिरहने हो भने मुलुकका सबै क्षेत्र एकदमै डामाडोल हुनसक्ने अवस्था छ । अहिले खेतीपाती लगाउने सिजन हो । सबै मान्छेलाई घरमै बस् भन्ने हो भने, अर्को वर्ष कुन उत्पादनबाट खाने ?

जटिल अवस्था आउँछ नि त । त्यसो भएको हुनाले अब आफूलाई रोग लाग्ने भयो । आफ्नो लागि र आफ्नो परिवारका लागि छरछिमेकीको लागि म क्वारेन्टाइनमा बस्नुपर्छ भनेर प्रत्येक मान्छेले बुझ्नु जरुरी छ । त्यो भयो भने समस्याको निकास निस्कन सक्छ । नत्र भने भयावह अवस्था आउन सक्ने खतरा छ । हाम्रो लागि दुभाग्र्य हुन्छ । सिङ्गो मुलुको लागि पनि यो दुर्भाग्य हो । 

सङ्घ सरकारले जुन राहतका कार्यक्रम घोषणा गरेको छ त्यसैलाई निरन्तरता दिने हो । हाम्रो परिस्थिति अनुसार स्थानीय तहले कति गर्न सक्छ । विपन्न मान्छे को हो भन्ने कुरा त हामीलाई भन्दा बढी स्थानीय तहलाई नै थाहा छ । जो सँगै छ उसलाई थाहा छ । उसले पहिचान गर्छ । उसले पहिचान गरेर समस्या समाधान गर्न सकेन र हामीलाई भन्यो भने स्थानीय तहमार्फत विपन्न परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने हो । 

फरक फरक ठाउँबाट फरक तरिकाले हामीले सहयोग गर्न थाल्यौँ भने त्यो अव्यवस्थित हुन्छ । त्यसकारण गण्डकी प्रदेशले के सोचेको छ भने स्थानीय तहमा एउटा जुन सरकार छ त्यही सरकारमार्फत जाँदा नै राम्रो र व्यवस्थित हुन्छ भन्ने हामीलाई लागेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप