मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लकडाउन : बालबालिकालाई कसरी मनोवैज्ञानिक त्रासबाट बचाउने ?

बुधबार, १९ चैत २०७६, १२ : ५०
बुधबार, १९ चैत २०७६

विश्व यतिबेला कोरानाभाइरस (कोभिड–१९) को महामारीबाट गुज्रिरहेको छ । नेपाल पनि यसबाट अछुतो छैन । विश्वका थुप्रै मुलुकहरुले जस्तै नै भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि नेपालले पनि यतिखेर लकडाउनको नीति अवलम्बन गरेको छ ।

एकातिर कोरोनाभाइरसको डर अर्कोतर्फ लकडाउन, योबीचमा मानिसहरु हतासिनु वा मानसिक रूपमा कमजोर हुनु स्वाभाविक हो । यस्तोबेला रचनात्मक बन्ने, आफूलाई व्यस्त राख्ने र मनोबल उच्च बनाएर संयमित बन्नु नै बुद्धिमानी हुने कुरा विज्ञहरुले बताउँदै आएका छन् । खासगरी अहिलेको अवस्थामा हामी आफैँ डरायौँ र मानसिक रूपमा कमजोर भयौँ भने बालबच्चामा नराम्रो असर पर्न सक्छ । त्यसैले संयमित हुने र आफू, आफ्नो परिवार र समुदायलाई नै कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा सचेत हुनु जरुरी छ ।

महामारी होस् या अन्य कुनै दैवी प्रकोपका घटना, यस्तो अवस्थामा सबैभन्दा बढी नकारात्मक असर पर्ने सम्भावना बालबच्चाहरुमै हो । घर परिवार, अविभावक उनीहरुको अगाडि आत्तिने, जतिबेला पनि सोही विषयमा नै कुराकानी गर्ने गर्दा मानसिक रूपमा बालबालिका विक्षिप्त हुन सक्छन् । त्यसको असर लामो समयसम्म देखिन सक्छ । यतिबेला, महामारी अनि लकडाउनबाट बालबालिकामा पर्न सक्ने मानसिक असरबारे सबैजना सचेत हुनु जरुरी छ ।

यस्तो अवस्थामा बालबालिकालाई कसरी सुरक्षित राख्ने ? बाहिरी वातावरण वा भयबाट कसरी जोगाउने ? अनि मानसिक असर पर्न नदिन के गर्ने भन्नेबारे हामीले कान्ति बाल अस्पतालका चिकित्सक मनोविद् रामपुकार साहसँग कुराकानी गरेका छौँ । बालबालिकालाई महामारीको समयमा पर्न सक्ने मानसिक असर र यसबाट कसरी जोगाउने भन्नेबारे डा. शाहको सुझाव यस्तो छ ।

बालबालिकामा उमेरअनुसार फरक असर

कुनै पनि सङ्कटको समयमा मानवमाथि सकारात्मक र नकारात्मक दुवैथरी प्रभाव परिरहेको हुन्छ । अझ बालबालिकामा थप असर परिरहेको हुन्छ । बाल मनोविज्ञानलाई परिवार अनि अविभावकले केलाउन सकेनन् भने भोलि बालबालिकामा नराम्रो असर पर्न सक्छ ।

लकडाउनको यो समयमा बालबालिकामा सकारात्मक असर पनि परिरहेको देखिन्छ । जस्तोः सधैँ व्यस्त रहने अविभावकहरु घरमा बसेको देख्दा दङ्ग पर्ने, रमाउने र आफ्ना परिवारका सदस्यलाई साथमा पाउँदा सबै कुरा विर्सने पनि हुन्छन् । कति बालबालिकाले यस्तो समय पर्खिरहेका हुन्छन् । उनीहरुलाई बाहिरी वातावरणको खासै चासो हुँदैन र बुझ्ने कोसिस पनि गर्दैनन् ।

कति त घरमै बस्ने पढ्ने, भित्रै खेल्ने, चित्र कोर्ने, भिडियो हेर्नेजस्ता क्रियाकलापमै व्यस्त हुन्छन् । उनीहरुलाई परिवारका सदस्यले के भने, के गर्दैछन् ? बाहिरको अवस्था के छ, खासै चासो राख्दैनन् । यस्ता एकथरी बालबालिका हुन्छन् भने अर्काथरीलाई भने किन ममी बाबा घर बस्नु भएको ? बाहिर किन बन्द छ ? एकैथरीका समाचार किन आइरहेको छ ? परिवारले पनि सोही बारेमा कुरा गर्ने आफन्तहरुको आवतजावत पनि बन्द छ, के भयो होला भन्ने उत्सुकता देखाउँछन् । यस्तोमा उनीहरुको स्वभाव अत्तिने, डराउने खालको पनि हुन सक्छ । यस्ता बालबालिकामा नकारात्मक असर परिरहेको हुन्छ र यो बालबालिकाको उमेरअनुसार फरक फरक देखिन्छ ।

जस्तोः ८ वर्षसम्मको बच्चाले यस्ता कुरा खासै बुझ्दैनन् । कोही कोही भने परिवारले गरेको कुराकानी सुन्ने र के भएको चासो राख्ने कोसिस गरिरहेका हुन्छन् तर यो उमेरमा यसको असर खासै पर्दैन । उनीहरु प्रायः परिवारलाई साथमा पाएर दङ्ग पर्ने र आफ्ना अविभावकसँग समय विताउन पाउँदा खुसी हुन्छन् । बाहिरी कुराको उनीहरुलाई मतलब हुँदैन । उनीहरुको भावनात्मक र व्यवहारमा खासै असर देखिँदैन ।

तर कहिलेकाहीँ बाहिर जान नपाउँदा ममी बाबा घरमै बसेको देखेर उनीहरुमा पनि सामान्य प्रश्नहरु भने उब्जिन सक्छ । परिवारका सदस्यहरुमा जतिबेला पनि नकारात्मक कुराहरु मात्रै धेरै भयो भने उनीहरुमा भावनात्मक र व्यवहारमा पनि असर पर्न सक्छ । त्यसले बच्चाहरु आत्तिने, टोलाउने, रिसाउने, झर्कने, भनेको नमान्ने, जिद्दी हुन्छन् । कोही बच्चा भने धेरै आत्तिँदा बेहोस हुन पनि सक्छन् ।

८ देखि १२ वर्ष उमेर समूहका बालबालिकाले भने कुरा बुझ्न सक्छन् । कहाँ के भइरहेको छ, कसले के भनिरहेको छ बुझ्न सक्छन् । उनीहरुमा जिज्ञासा पनि धेरै हुन्छ । समाचारमा आइरहेका कुरा अनि परिवारले गर्ने एकैथरी कुराले उनीहरुमा नकारात्मक असर परिरहेको हुन्छ । उनीहरुमा कतै मैले केही गल्ती त गरिनँ ? मैले गर्दा यस्तो त भएन ? भन्ने प्रश्नहरु उब्जिन सक्छ । यसले उनीहरु डराउने, अत्तिने गर्न सक्छन् । यसबारे अविभावकले विशेष ख्याल राख्नु पर्छ ।

त्यस्तै अर्को हो १२ देखि १८ वर्षसम्मको समूह । यो उमेर जसलाई किशोरावस्था भनिन्छ । यो उमेरकाले सबै कुरा बुझ्न सक्ने हुन्छन् । बाहिरी वातावरण अनि महामारीको खबरले आत्तिने डराउने, निराश हुने खालका समस्या उनीहरुमा देखिन सक्छ । यसले उनीहरुको भावनात्मक रूपमा सोच र व्यवहारमा असर गरिरहेको हुन्छ । 

किशोरावस्थामा परिवार अनि आफन्तको साथको जरुरी धेरै हुन्छ । यस्तो बेला उनीहरु धेरैभन्दा धेरै कुराहरु सेयर गर्न खोजिरहेका हुन्छन् । यो उमेरमा आत्महत्याको दर पनि बढी छ । कहिलेकाहीँ निराशाले आत्म हत्यासम्म धकेल्न सक्छ ।

अझ १५ वर्षदेखि १८ वर्षका किशोर किशोरीहरु एसईईपश्चात घर छाडेर टाढा पढ्न जाने हुनाले उनीहरुलाई परिवारको अभाव हुन्छ । कुनै सङ्कटको सामना गर्न उनीहरुसँग साहरा नहुँदा आत्तिने, डराउने र निराश हुने सम्भावना बढी हुन्छ ।

अहिले त झनै एसईईको परीक्षाको तयारी गरेर बसेकाहरुको परीक्षा सरेको छ र कहिले परीक्षा हुने टुङ्गो छैन । जसबाट उनीहरुले प्रेसर महसुस गरेको हुन सक्छ । मिडिया, परिवार सबैतिर एकै खालका कुराले उनीहरु मानसिक तनावमा हुन सक्छन् । जसको असर रिसाउने, अटेरी गर्ने, उदास हुने, धेरै समय मोबाइल इन्टरनेट, टिभीमा बिताउने, टोलाउने हुन सक्छ ।

बालबालिका तथा किशोरहरुको अहिलेको सवैभन्दा ठूलो समस्या भनेको ग्याजेट (मोबाइल, ट्याब, ल्यापटप, कम्प्युटर, टिभी) नै हो । धेरैभन्दा धेरैसमय ग्याजेटमा विताउँदा उनीहरुको राम्ररी वृद्धि विकास हुन नै पाउँदैन । ग्याजेटले बालबालिका तथा किशोरहरुको  दिमागमा असर गर्छ जसले गर्दा धैर्यता गर्ने शक्ति गुम्दै जान्छ ।

हामी सबैले याद गरेको हुनुपर्छ जब हामी थकित हुन्छौँ त्यस्तो समयमा पनि हामी मोबाइल चलाउन तथा टिभी मज्जाले हेर्न सक्छौँ । यसको मतलब हो कि मोबाइल चलाउँदा तथा टिभी हेर्दा हाम्रो शरीरको ज्ञानेन्द्रियहरु सक्रिय हुनु पर्दैन र दिमाग पनि सक्रिय हुनुपर्दैन त्यसैले थाकेको समयमा पनि यी चिज चलाउन सकिन्छ ।

त्यसैले ख्याल गर्नुपर्ने के भने ग्याजेटबाट हाम्रो वृद्धि विकास र दिमागी सक्रियता हुन पाउँदैन तर त्यसको असर मानिसको व्यवहारमा देखिन्छ । जस्तोः धेरै सोच्ने, रिसाउने, मोबाइल टिभी नभई नहुने, झर्कने, नटेर्ने, सामाजिक दूरी बढ्ने, खानपानमा गडबडी हुने, खान मन नलाग्ने, छटपटी हुने, चञ्चल हुने, भावनामा नियन्त्रण गर्न नसक्ने जस्ता व्यवहार  देखिन्छ ।

के गर्ने के नगर्ने

–सबैभन्दा पहिला त बालबालिकाको मनोविज्ञान बुझ्ने, उनीहरुमा असर देखिएको खण्डमा परामर्शबाट पनि ठीक बनाउन सकिन्छ । यसको लागि लकडाउन अवधिमा विभिन्न अस्पतालले परामर्श सेवा अनलाइनबाटै दिइरहेका छन् ।

–अविभावक तथा परिवारले इमानदारिताका साथ उनीहरुको जिज्ञासाको जवाफ दिने । बच्चाहरुलाई जानकारी दिनुपर्छ । केही भइरहेको छ भने पनि वास्तविकता उनीहरुले बुझ्ने गरी बताउने ।

–कोरोना के हो ? लकडाउन किन गरिन्छ ? हामी बाहिर किन जान सक्दैनौँ ? यसबाट कसरी सुरक्षित रहन सकिन्छ सबै जानकारी बालबालिकालाई दिने । सरकारले भनेको मान्ने, आफू बाहिर नगएपछि बालबालिकाले पनि त्यसैलाई फलो गर्छन् ।

–बालबालिकाको प्रश्नहरु धेरै हुन्छन्, त्यसलाई बेवास्ता नगर्ने । थाहा भए जति जवाफ दिने । थाहा नभएको कुरा बनाएर नभन्ने बरु बुझ्ने कोसिस गर्ने र सही जानकारी प्राप्त भएपछि मात्रै बताउने ।

–कुनै पनि सङ्कट अनि महामारी नियन्त्रणका लागि सबैको भूमिका उत्तिकै हुनुपर्छ । बालबालिकाले बिरामीसँगै चिकित्सकहरुको पनि मृत्यु भएको, उपचार हुन सकेन, औषधि छैन भन्ने समाचार वा गाइँगुइँ कुरा सुनिरहेका हुन्छन् । यस्तो कुराले उनीहरुमा पीर परिरहेको हुन्छ । यस्तोमा उनीहरुलाई आश्वासन दिने र आत्मबल बढाउने क्रियाकलाप गराउने ।

–दैनिक कार्यतालिका बनाउने, जस्तोः पढ्ने, खेल्ने, खाने, सुत्ने, टिभी हेर्ने तालिका बनाएर गराउने ।

–घरको काम गर्न दिने, आफ्नो काम आफै गर्न लगाउने, तरकारी केलाउन, सफा गर्न, आफ्ना कपडा धुन लगाउने ।

–बालबालिकालाई युट्युब तथा टिभीमा स्वतन्त्र सामग्रीहरु हेर्न दिनु हुँदैन । यस्ता सामग्रीले बाल मनोविज्ञानमा नकारात्मक असर पार्छ । बालबालिकालाई बच्चाहरुका लागि बनाइएको सामग्री मात्र हेर्न दिने ।

–मोबाइल, ट्याब, ल्यापटपमा झुन्डिरहने र जेपायो त्यही सामग्री पनि सहजै उपलब्ध हुने हुँदा बच्चाहरु पोर्न भिडियोको कुलतमा फस्न सक्ने सम्भावना ज्यादा हुन्छ । यसले विकृति ल्याउन सक्छ । यस्तोमा निकै सजग हुन जरुरी छ । त्यसैले बालबालिकाका च्यानलहरु मात्र हेर्न दिने, सन्देशमूलक र शिक्षामूलक भिडियोहरु हेर्न दिने, त्यो पनि निश्चित समयका लागि मात्र ।

–बालबालिकालाई शारीरिक व्यायाम गराउने, कथा कविता सुनाउने, कथा कविता पढ्न लगाउने, साना बालबालिकालाई चित्र सहितको कथाहरु देखाउने, अनि सकिएपछि के सिक्यो वा के बुझ्यो भन्नेबारे सोध्ने ।

–पेन्टिङ गर्न, कलर गर्न लगाउने, घरभित्रका खेलहरु जस्तोः लुडो, चेस, म्याथमेटिकल गेमलगायत खेलाउने । म्युजिक सुन्न दिने, डान्स, योग गर्ने र गराउने, गीत गाउन दिने, वाद्यवादन बजाउन लगाउने ।

–लकडाउनको समयमा बाहिर बजार बन्द हुने हुँदा  घरमा उनीहरुका कलर पेन्टिङ जस्ता सामान सकिएको छ भने घरमा उपलब्ध सामानहरु जस्तोः पिठोबाट मूर्ति बनाउन लगाउने, विभिन्न सेपका रोटी बनाउन लगाउने जस्ता क्रियाकलाप गराउने ।

–बच्चाहरुले केही बिगारे भने हप्काउने, पिट्ने वा रिसाउने नगर्ने, बरु उनीहरुलाई प्रोत्साहन गर्ने, नजानेको कुरा खोज्न, पढ्न सिकाउने ।

–घरमा हजुरबा हजुरआमा हुनुहुन्छ भने विभिन्न दन्यकथाहरु सुनाउने । यस्तो कथाहरु सुन्न बालबालिकालाई निकै चासो लाग्छ । पाका मान्छेहरुले आफ्ना अनुभवहरु सुनाउने, रमाइला र आश्चर्यजनक क्षणहरु रमाइलो पाराले सुनाउँदा बालबालिकाहरु खुसी हुने र आफ्ना परिवारको महत्त्व बुभ्mन सक्ने हुन्छन् ।

–लकडाउन छ, बाहिर महामारी फैलिएको छ भनेर चिन्तित नहुने, रचनात्मक हुने, सकारात्मक सोच राख्ने र बालबालिकाहरुलाई पनि सकारात्मक हुन प्रेरित गर्ने ।

–परिवार अविभावकले आफ्ना बालबच्चाका लागि यो समय निकै महत्त्वपूर्ण भएको महसुस गरी उनीहरुसँग समय बिताउने ।

–अविभावकले आफ्ना बालबालिकासँग व्यायम (एक्सरसाइज), व्यस्त भइरहने (इन्गेजमेन्ट) र समयको महत्त्व (क्वालिटी टाइम) यी तीन कुरामा विशेष ख्याल गर्नुपर्छ ।

–अविभावक तथा ठूला मान्छे पनि मानसिक रूपमा बलियो बन्न केही रचनात्मक काम गर्ने, घर बसेको समय पारेर विगतमा गर्न मन लागेर पनि गर्न नसकिएका काम गर्ने जसमा बाच्चालाई पनि सहभागी गराउने । साथै आफ्ना पेन्टिङका काम पूरा गर्ने तथा सरसफाइ, खाना बनाउने लगायतका काम गरेर आफूलाई व्यस्त राख्न सकेमा बालबालिकाले पनि सिक्छन् र आफू पनि मानसिक असरबाट बचिन्छ ।

अविभावकले धैर्यता राख्नुपर्छ । बालबालिकामा मनोवैज्ञानिक असर पर्न नदिन माथिका कुरामा विशेष ध्यान दिन अत्यन्तै जरुरी छ । बाहिर त्रासको अवस्था छ । यसको मतलब हामी आफैं त्रसित बन्ने र मानसिक रूपमा कमजोर बन्ने हो भने बालबालिकामा त्यसको असर प्रत्यक्ष पर्छ ।

बालबालिकामा कोरोनाभाइरस वा अन्य कुनै कुराले त्रास पैदा भएको छ र उनीहरु तनावमा छन् भने चिकित्सकलाई सम्पर्क गरी परामर्श लिन सकिन्छ । कान्ति बाल अस्पतालले अनलाइन ओपीडी सुरु गरेको छ । बालबालिकासम्बन्धी कुनै पनि सेवा लिन परेमा कान्तिको सीधा हटलाइन ९२५ मा सम्पर्क गरी सेवा लिन सकिन्छ । यदि ओपीडी सेवा लिनु परेमा ९८०८५२२४१० मा फोन गरी डाक्टरसँग पनि सम्पर्क गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप