केन्द्रीय संस्करण
बालकथा

बूढी आमाको बयर

person explore access_timeचैत १९, २०७६ chat_bubble_outline0

 

स्या यओची

हाम्रो प्राइमरी स्कुल नजिकै बयरको एउटा ठूलो झाङ थियो । यो झ्याङ  छुच्चो थियो । झाङमा बयरका राताराता फल लटरम्म देखिथे । देख्दै मुखमा मानी भरिन्थ्यो । तर त्यस झाङले बयर टिप्न अनुमति दिँदैनथ्यो ।

झाङभित्रका प्रत्येक बोट र हाँगामा जताततै काँडैकाँडा थिए । सियो जत्तिकै तिखा काँडा । च्वास्स घोच्ने काँडा । कसैले झाङमा पसेर एक दुई बयर टिप्न खोज्यो भने उसको दुर्गति हुन्थ्यो । कतै कपडा च्यातिन्थ्यो । गर्धन गाला र पाखुरामा घाउ हुन्थ्यो । काँधतिर पेटतिर जताततै धसार्थ्यो । सजिलैसित बयार टिप्न सकिने त कुरै थिएन ।

बयरको झाङ त यसै उसै छुच्चो छँदैथियो । त्यसभन्दा पनि छुच्ची थिइन् त्यस झाङकी मालिकिनी बूढीआमा । उनको घरअगाडि आँगनको डिलमै थियो बयरको झाङ । हामी हिँड्ने बाटोबाट अलिकति मात्रै पर थियो आँगनको डिल । जहिले पनि हामी स्कुल जाँदा र फर्कदा देख्थ्यौँ– बूढीआमा कहिले पिँडीमा त कहिले आँगनमा गुन्द्री ओच्छायाएर बसिरहेकी हुन्थिन् । दाँत फुस्किएर ख्याप्लाक्क भित्र पसेका गाला, पिर्लिक्क बाहिर निस्केका आँखा हातमा कठबाँसको लौरो । जहिले पनि कुट्न लखेट्न तम्तयार मुद्रामा बसिरहेकी देखिन्थिन् । विशेष गरेर यो बयर पाक्ने मौसममा त अझ बढी नै डरलाग्दी र निठुरी देखिन्थिन् । कसैले बयरको झाङतिर हात बढाउने दुःस्साहस गर्‍यो भने उनी चिच्याउँथिन्, गाली दिन्थिन् । लठ्ठी उजाएर पिट्नसम्म पनि तयर हुन्थिन् ।

यी बुढिया जति सतर्क र झोकी भए पनि हामी पाँचौँ कक्षाका विद्यार्थीहरुबाट बयर जोगाउने काममा भने सधैँ असफल नै हुन्थिन् ।

हेर्नुस न आज पनि स्कुल जान लाग्दा हामी फेरि बयारको झाङनिरको डहरमा पुगेर उभियौँ । हामी मध्येको खप्पिस गफाडी चतुरमानलाई बूढीआमासित उट्पट्याङ कुरा गर्न पठायौँ । बूढीआमा गफमा अल्मलिने बित्तिकै झाप्झुप्प झुम्मिएर बयर टिप्ने दाउमा थिर्यौं हामी ।

चतुरमान गएर बुढियाका अगाडि उभियो । मुसुक्क हाँस्यो र भन्यो “हजुरआमा हेर्नुस् त तपाईंको झाङका बयरहरु सबै मलाई हेरेर हाँसिरहेका छन् ।”

बूढीआमाले आँखा तरेर चतुरमानको अनुहारतिर हेरिन् । केही बोलिनन् ।

“ल हेर्नोस् ! चतुरमान बयरको झाङ नजिकै गएर एक पटक बुर्लुक्क उफ्र्यो । उसको टाउको बयरको बयरको एउटा सानो हाँगामा ठोक्कियो । दुई गेडा बयर झरे । ऊ करायो,  “हजुरआमा, तपाईं आफ्नो बयरलाई सम्हालेर किन राख्नुहुन्न ? यी दुइटा बयरले बिनसित्ति मेरो टाउकोमा हिर्काए । हेर्नुस् त यो उपध्रो !”

बूढीआमाले हलचल केही गरिनन् । चतुरमानले अनुहारमा ट्वाल्ल हेरेर बसिरहिन् ।

ल तपाईं आफै आफ्नो बयर नसम्हाल्ने हो भने म यसलाई ठीक पार्छु... बदमास बयर... मेरो टाउकोमा हिम्मत गरिस् हैन ? तँ डल्ले बयरहरुलाई म कहाँ त्यसै छोड्छु र ? एक एक गरेर मुखमा राख्छु र चपाएर निलिदिन्छु । मलाई चिन्या छौ तिमीहरुले ? यति भन्दै चतुरमान बयर टिप्न सक्रिय भएको मात्र के थियो बूढीआमा जर्‍याक् जुरुक् उठिन् । नजिकै गएर भुइँमा लट्ठी बजार्दै भनिन्, मेरो बयर उडाउने नाटक गर्न छोडेर यहाँबाट खुरुक्क भाग्छस् कि ढन्डेसो खुस्काइदिऊँ ?

चतुरमानले चोसो सार्‍यो आँखा बङ्ग्यायो र भन्यो, “हजुरआमा, तपाईं अन्याय गर्दै हुनुहुन्छ । मैले के बिराएको छु र  ? तपाईँकै बयरले रुखबाट खसेर मलाई हिर्काएका हुन् !”

“भाग छिटो भाग । तँजस्ता लोभी बिरालालाई माया गरेर फाइदा छैन । म माया गर्दिनँ ।” उज्याउने किसिमले लट्ठी मुठ्याउदै बूढीआमाले भनिन् ।

चतुरमान अझै बुढियालाई अलमल्याउने प्रयास गर्दै थियो, यत्तिकैमा हामीमध्येको कसैले कतैबाट झ्याङ्मा ताकेर ट्वाक्क गुलेली हान्यो । निशाना ठीक ठाउँमा लाग्यो एउटा राता बयर भुइँमा झरे । पट्याक् पुटुक्, पट्याक् पुटुक, मट्याङ्ग्राझैँ बर्संदै रहे, झ्याङ्बाट बयर झरि नै रहे ।

हामी अर्कातिरबाट बिजुली बेगमा बयरको झाङमुनि पुग्यौँ र करायौ “आओ ! आओ ! बयर टिपौँ आओ !!”

चतुरमान उछिट्टिएर हामीसँगै आइपुग्यो । सबै मिलेर बयरको झाङमुनि यता र उता आँखा दौडाउन थाल्यौँ । बयर सोहोर्दै खल्तीमा राख्दै गर्न  थाल्यौँ । हतपतमा मैले बयरसितै कति ढुङ्गा पनि टिपेर खल्तीमा हालेँ । एक... दुई... तीन... ..दस ... प्यान्टको खल्ती भरियो । कमिजको खल्ती भरियो ।

यत्तिकैमा बुढिया भयङ्कर रूप लिएर लाठो बजार्दै झम्टँदै हामीनिर आइपुगिन् । हामी करायौँ “ए भागौँ भागौँ ! बूढी आई भागौँ !”

हामी दगुर्न थाल्यौँ । बुढिया तगारोबाट डहरमा निस्केर हाम्रो पछिपछि दगुर्न थालिन् । चतुरमान् उछिट्टिएर बयर खाँदै हाम्रो अघि अघि दगुर्दै थियो ।

हामी सबै जोडसँग दगुर्दै थियौँ । फिजिकल तालिम लिएका हामीलाई दगुर्न गाह्रो थिएन । हामी एकसे तेज धावक थियौँ । केही सेकेन्डमै बूढीआमालाई धेरै नै पछाडि पार्न हामी सफल भयौँ ।

हामीलाई लखेट्न दगुरेकी बूढीआमाको दगुराइ कम भयो । बूढी मान्छे न हुन्, एक्कैछिनमा थाकिन् र उभिइन् । लठ्ठी टेकेर टाउको हल्लाउँदै र खुट्टा बजार्दै टाढैबाट हामीलाई गाली गर्न लागिन् । उनको हाउभाउ एकदमै हाँसो लाग्दो देखियो ।

हामी भने खुसीले दङ्ग भयौँ । बुढीयाको दुर्दशाको आनन्द लिँदै उभिएर बयर चपाउन थाल्यौँ । किन हो कुन्नि आज यो जोखिम मोलेर उडाएको बयर किनेर बयरभन्दा धेरै स्वादिलो लागिरहेको थियो ।

अचानक चतुरमानले मलाई कुहिनाले धक्का दिँदै सोध्यो “क्या गज्जब खै त बेपत्ता छ नि ।”

सुनेर हामीले चारैतिर आँखा दगुरायौँ । नभन्दै क्या गज्जब त्यहाँ कतै पनि थिएन । गायव थियो ।

‘क्या गज्जब’ छनछचाङको उपनाम थियो । छनछचाङ दक्षिण चीनको बासिन्दा थियो । यस वर्ष नयाँ सत्र सुरु हुँदाबाट ऊ यहाँ हामीसँगै पढ्न आइपुगेको थियो । सुरुमा उसलाई यहाँको सबै कुरा अनौठो लाग्थ्यो र ऊ जुन कुरामा पनि क्या गज्जब ! क्या गज्जब ! भनेर थाक्दैनथ्यो । कक्षामा झै–झगडा भयो र कसैले चिथोर्‍यो भने ऊ चिच्याउँदै क्या गज्जब ! भन्थ्यो । हामी एक पटक लामो पर्खाल हेर्न गयौँ । बसबाट ओर्लनेबित्तिकै उसले आँखा च्यातीच्याती हेर्न र एक एक दृश्यमा क्या गज्जब भन्न थाल्यो । त्यस बेलाबाट हामीले उसको नामै क्या गज्जब राखिदियौँ ।

क्या गज्जब एकदमै हठ्ठी थियो । आफ्नो कुरामा टसको मस हुँदैनथ्यो । हामी उससित त्यति सारो मिल्दैनथ्यौँ ।

अहिले क्या गज्जब बेपत्ता थियो । हामी डरायौँ । हामीले यसरी बूढीआमाको बयर खाएको सबै स्कुलमा गएर गएर सरलाई भनिदिने पो हो कि ? उसको स्वभाव त्यस्तै छ । मान्यता पनि त्यस्तै छ । अब के गर्ने ? ऊ दगुर्दै स्कुल गइरहेको होला, उसलाई कसरी रोक्ने ? सरसित नभेट्दै हामीले फेला पार्नै पर्छ । दगुरौँ । हामीले सल्लाह गरेर म्याराथुन सुरु ग¥यौँ ।

वास्तवमा त्यति छिटो दगुर्नै परेन । बीस मिनेट जति दगुरेपछि हामीेले उसलाई पर गल्लीमा देख्यौँ । ऊ कतै गएको थिएन । हामी त्यही अँध्यारो साँगुरो गल्लीमा घुस्यौँ । क्या गज्जब भित्तामा अडेस लिँदै मुन्टो झुकाएर उभिइरहेको थियो । हामी पुगेको थाहा पाएर उसले पिलिक्क हेर्‍यो । ऊ त बलिन्द्रधारा आँसु बगाएर रोइरहेको पो रहेछ । निधार कुचुक्क पारेको देख्दा हामीलाई लाग्यो उसलाई बेसरी दुखेछ क्यारे ?

“क्या गज्जब, के भयो ? टाउको दुख्यो ?”

उसले इसारामा हैन भनेर टाउको हल्लायो । मुखले एक शब्द पनि बोलेन ।

“त्यसो भए किन रोएको त ?”

“रोइरा’ छु र ? खै रोएको ? म..म...म... मलाई मेरो हजुरआमाको सम्झना आयो अनि.. ।”

“हजुर आमाको सम्झना ? तिमी त गजबकै कुरा गर्छौ बा.. स्कुल जान लाग्दा बाटोमा हजुरआमाको सम्झना किन आयो । “चतुरमानले ठट्यौली पारामा सोध्यो, “के भयो तिम्रो हजुरआमालाई ?”

“मेरो बूढी हजुरआमा अहिले यसैबेला पनि भिरबारीको कुनै सुर्कामा बसेर मलाई सम्झिरहनु भएको होला ।”

“ऊँ ऊँ ऊँ” क्या गज्जब त झनझन डाको छोडेर रुन लाग्यो ।

हामी चकित भयौँ । भर्खरै हो हामी उसको घरको बाटो आउँदा ऊ आँगनमा उफ्रिरहेको थियो । हामीसितै स्कुल हिँड्यो । उसलाई अचानक हजुरआमाको सम्झना कसरी आयो ? सम्झना आउँदा यसरी डाकै छाडेर रोयो किन ?

मेरो उत्सुकता बढ्यो, “हामीलाई पनि भन आखिर यत्तिखेर सम्झना आउनुको कारण के हो ?” मैले सोधेँ ।

क्या गज्जब आँखा मिच्दै अर्कोतिर फर्क्यो र हिक्क हिक्क गर्दै भन्यो, “मैले यी बयरबोटे बूढीआमालाई असाहाय र दुःखी देखेपछि यस्तो असाहाय दुःखी बूढी आफ्नी हजुरआमालाई सम्झेँ ।”

“ए ! कुरा यस्तो पो रहेछ ।” भनेर मैले हातको बयर खल्तीमा राखेँ ।

“जब म पाँच वर्षको थिएँ, सखरखण्ड खोज्न म पनि हजुरआमासँग बारीमा गएँ । खोजी खोजी खन्दा दिनभरीमा हजुरआमा र मैले बल्ल एक टोकरी सखरखण्ड जम्मा गर्‍यौँ । साझ पर्‍यो । अचानक कहाँबाट एक हुल केटाहरु त्यहाँ आइपुगे । तिनीहरुले हामीलाई लाङ्ङ लिङ्ङ पारे । हाम्रो सखरखण्ड लुटे । उल्टै हामीलाई गाली पनि गरे ।” ऊँ ऊँ ... बोल्दा बोल्दै क्या गज्जब टक्क रोकियो । केही कुरा घाँटीमा अड्किए जस्तो भएर ऊ बोल्नै सकेन ।

सरर्र हावा चल्यो । एउटा पहेंंलो पात उडेर हाम्रो अगाडि बस्न आइपुग्या । मलाई अचानक जाडोजाडो लागेर आयो । हामी सबै मौन भयौँ ।

क्या गज्जब ! भन्दै चतुरमानले उसको हात समात्यो र भन्यो, “यसरी चित्त नदुखाऊ । यस्तै भयो । गल्ती भएछ । मलाई तिम्रो कुरा सुनेपछि पछुतो लाग्यो । हामीले आज गर्नै नहुने काम गरेछौँ ।”

मैले पनि भने, “अब आइन्दा हामी यस्तो काम गर्दैनौँ ल ?”

क्या गज्जबले टाउको हल्लायो । उसका आँखामा बर्खाको दर्के पानी तर्किएको कारको ऐनाजस्तै चमक थियो । उसले भन्यो, “अब आइन्दा नगर्ने त ठीकै छ । यस पटक गरिसकेको गल्तीको चाहिँ के गर्ने नि ?”

“यस पटकको के गर्ने ? यस पटकको गल्तीलाई के गर्ने त ?” चतुरमानले क्या गज्जबको हात समातेर हल्लाउँदै भन्यो, “जे भयो भयो । यस पटक कसैले देखेको पनि छैन । अनि त्यस बुढियालाई यति जाबो बयर हामीले खाइदिएर के फरक पर्छ र ? झाङभरि बयरै बयर छ ।”

“त्यसो होइन,” क्या गज्जबले चतुरमान्को हातबाट आफ्नो हात छुटाउँदै भन्यो, त्यसरी सोच्न हुँदैन ।”

“त्यसो भए तिमी यो कुरा सरलाई गएर भनिदिने हो ?”

“हो ।” क्या गज्जबले दृढताको टाउको हल्लाउँदै भन्यो ।

हामी डरायौँ । उससित गिडगिडाउँन  थाल्यौँ । “त्यसो नगर न । हेर, हामी तिम्रो मिल्ने साथी होइन र ?”

अरू कोही भएको भए हाम्रो विनम्र बिन्ति सुनेर पग्लन्थ्यो । तर क्या गज्जब पग्लेन । उसले आँसु पुछ्दै भन्यो, “ठीक छ ल, सरलाई भन्दिनँ तर तिमीहरु मेरो एउटा कुरा मान है त ?”

“ल हुन्छ, एउटा हैन दसवटा कुरा पनि मान्छौ ।” हामीले भन्यौँ ।

“ल ठीक छ ।” उसले आदेशको लवजमा भन्यो, “पहिले आआफ्नो स्कार्फ राम्ररी बाँध त ।”

“स्कार्फ ? त्यो त बयर टिपेर भाग्नुभन्दा पहिल्यै फुकालेर झोलामा राखेको । भन, अहिले त्यो किन बाँध्नु पर्‍यो ?”

“स्कार्फ त्यसरी फुकाल्न र झोलामा राख्न तयार गरिएकै होइन । घाँटीबाट फुकाल्दा पनि मनबाट कहिल्यै फुकाल्न हुँदैन स्कार्फ । स्कार्फ अनुशासनको प्रतीक हो । जनतको हकहितप्रति प्रतिबद्धता हो । त्यो बाँध र बयर लगेर बूढीआमालाई फिर्ता गर ।” उसले जोडदार शैलीमा भन्यो ।

“क्या गज्जब ! क्या गज्जब, साच्चै तिमी आफ्नै खातका मान्छे छौ ल...” मैले भनेँ । क्या गज्जबको कुरामा नाइँनास्ति गर्ने आँट हामी कसैसित थिएन । जसरी पनि उसलाई मनाउनु परेको थियो । सरलाई उजुर नगर्ने बनाउनु थियो । हामी धेरैबेर फाइट गरेर हारेको कुखुरा जस्तै लुत्रुक्क परेर फर्कियौँ ।

हामीलाई देख्ने बित्तिकै बूढीआमाले मुख रातो पारिन् । आँखा तरिन् र लठ्ठी दह्रोसँग समातिन् । उनी सायद सोच्दै थिइन्, “बदमास बिराला हो, अब फेरि अर्को दाउपेच गर्न आएको होलाऊ हैन ?”

क्या गज्जबले नम्र स्वरमा बुढियासित भन्यो, “हजुरआमा तपाईं नडराउनुहोस् । हामी बयर टिप्न आएका होइनौँ, हामी त माफी माग्न आएका हौँ । हामीबाट गल्ती भयो । तपाईं हजुरआमा  हामी अल्लारे नातिहरु । हामीलाई माफ गरिदिनुहोस् ।”

“हो हजुरआमा हामी अन्जान केटाकेटी हौँ । हामीसित नरिसाउनु होस् । ल लिनोस् तपार्इंको बयर” चतुरमान् बडो सीप लाएर बोलिरहेको थियो । मानौ उसको मुखबाट शब्द होइन फूल झरिरहेका थिए । हामीले एकअर्कासित आँखैआँखामा कुरा गर्‍यौँ र आआफ्नो खल्तीको बयर निकालेर बुढियाको अगाडि राखिदियौँ ।

क्या गज्जबले पनि खल्तीबाट पाँचवटा बयर दाना निकाल्यो । सँगै दुई रुपैयाँ पनि निकालेर बूढीआमाको हातमा राखिदियो र भन्यो, “हजुरआमा मैले तपार्इंको दुई दाना बयर खाएँ, यो पैसा त्यसैको हो, लिनोस् । अब हामी तपार्इंलाई कहिल्यै जिस्क्याउँदैनौँ ।

बूढीआमाको ओठ थरर्र काँप्यो । उनले लौरो भुइँतिर फ्याँकिन् र भनिन् “त्यसो भए तिमीहरु एकै छिन् पर्ख ल !” कुरा पूरा हुन नपाउँदै बूढी आमा उठेर घरभित्र पसिन् ।

वल्लोपल्लो घरबाट यो घटना हेरिरहेका, सुनिरहेका कति मान्छे त्यहाँ आए । हाम्रो वरिपरि झुम्मिए र हामीलाई प्रशंसाको आँखाले हेर्न थाले ।

बूढीआमा लड्खडाउँदै बाहिर आउनुभयो । उहाँको हातमा एउटा टोकरी थियो । हामीले देख्यौँ टोकरीभरी बयर थिए । बूढीआमाका आँखा आधा चिम्लेजस्ता भएका थिए  र प्रसन्नताले ओठका दुवै कुना माथितिर उक्ले जस्ता देखिन्थे । हामीलाई हाम्री आफ्नै हजुरआमा अगाडि आउनुभएजस्तो लाग्यो । बूढीआमाले थरर्र काँप्दो हातले बयर झिकेर हाम्रा खल्ती खल्तीमा राखिदिनुभयो । यो देखेर हामी अक्क न बक्क भयौँ । बूढीआमा थप बयर लिएर हामीमध्ये जो भएतिर अगाडि बढ्नुहुन्थ्यो, ऊ लजाउँदै हत्त न पत्त पछाडी हट्थ्यो । हट्दा हट्दै आखिर हामीले भाग्नै पर्‍यो ।

हामी दगुर्दै थियौँ तर मन आनन्दले भरिएको थियो । दगुर्दा दगुदै केमा अल्झिएर हो चतुमान भ्वाक्क पछारियो । क्या गज्जबको हत्तपत्त समातेर उठायो । सबैले देखे चतुरमानको पुर्पुरोमा एउटा रातो बयरदाना जस्तै टुटुल्को उठेछ । त्यो देखेर सबैको मुखबाट एकैपटक आवाज निस्क्यो, “अहा क्या गज्जबको, टुटुल्को !!”

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.