शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तीन दिनदेखि सयौँ नेपाली सीमामा अलपत्र

बुधबार, १९ चैत २०७६, १४ : ५८
बुधबार, १९ चैत २०७६

बाँके । भारतका विभिन्न ठाउँबाट मजदुरी गरि फर्किएका १ सय ६३ नेपाली तीन दिनदेखि नेपाल भारत सीमाको दशगजा क्षेत्रमा अलपत्र परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरसँग सिमाना जोडिएको नेपाल–भारत सीमाक्षेत्रको दशगजामा उनीहरु उद्धारको पर्खाइमा छन् । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन नेपाल र भारत दुबै देशले नेपाल–भारत जमुनाह नाका बन्द गरेका कारण भारतका विभिन्न स्थानबाट आएका नेपाली नागरिक सीमामा आइपुगेपनि स्थानीय प्रशासनले अनुमति नदिँदा अलपत्र परेका हुन् ।

मङ्गलवार खाना र खाजाको व्यवस्था गर्नुभएकी नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले आफुहरुले चाहेर पनि उनीहरुलाई नेपाल प्रवेश गराउन नसकेको बताइन् । उनका अनुसार, सीमा नाकामा बाँकेका २७, बर्दियाका १४, दाङका ३१, सल्यानका ९, जुम्लाका १५, सुर्खेतका ७, डोल्पाका ३, अछामका ५, प्युठानका २, रोल्पाका १३, रुकुमका १०, सप्तरीका १, उदयपुरका १, स्याङ्जाका २, दैलेखका १०, झापाका ५, रुपन्देहीका १, नवलपरासीका २, मुगुका २ र अर्घाखाँचीका १ जना रहेका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपाल–भारत सीमा नाकाबाट कसैलाई पनि प्रवेश गराउने अनुमति नभएको बताइन् । ‘उनीहरुलाई सीमा क्षेत्रमै राखेर खानेबस्ने व्यवस्था मिलाएका छौँ, उनीहरु उतै क्वारेन्टाइनमा बस्नेछन्’, उनले भने, ‘अबैध बाटो भएर नेपाल प्रवेश भएकालाई क्वारेन्टाइनमा राखेर खानपिनको व्यवस्था मिलाएका छौं ।’

 नेपालगञ्जसहित जिल्लाका विभिन्न नाकामा सयौंको सङ्ख्यामा नेपाली अलपत्र परेका छन् । उनीहरु दसगजासम्म आएर बसेपनि गृहमन्त्रालयको आदेश नभएको भन्दै बाँके प्रशासनले रोक लगाएपछि अलपत्र परेका हुन् ।  राप्तीपारी नरैनापुरस्थित विभिन्न नाकाबाट प्रवेश भएका डेढ सय बढी व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । स्थानीय प्रशासनले नेपालगञ्ज नाकाबाट प्रवेशमा रोक लगाएकाले नरैनापुर क्षेत्रबाट नेपाल प्रवेश हुने क्रम बढिरहेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।

बाँकेमा २१९ क्वारेन्टाइनमा 
बाँकेमा स्थानीय तहले स्थापना गरेका क्वारेन्टाइनमा २ सय १९ जनालाई राखिएको छ । जिल्लाका ८ वटै स्थानीय तहले स्थापना गरेका क्वारेन्टाइनमा मङ्गलवारसम्म २ सय १९ जनालाई राखेर आवश्यक निगरानी गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ्ग शाहले जानकारी दिए । 

उनका अनुसार, सबैभन्दा बढी नरैनापुर गाउँपालिकामा १ सय २३ जना, खजुरा गाउँपालिकामा ६४, जानकीमा १४, नेपालगञ्ज उपमहानगरपालिकामा १३, बैजनाथमा २, राप्तीसोनारीमा २, कोहलपुर नगरपालिकामा १ जनालाई क्वारेन्टाइनमा राखिएको छ । त्यस्तै डुडुवा गाउँपालिकामा भने मङ्गलवारसम्म  कसैलाई पनि राखिएको छैन । क्वारेन्टाइनमा बसेकामध्ये अहिलेसम्म नेपालगञ्जबाट ९ तथा खजुरा र जानकीबाट ४÷४ जना बहिरिएको स्वास्थ्य कार्यालय प्रमुख शाहले बताए ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न बाँकेका सबै स्थानीय तहले क्वारेन्टाइन स्थापना गरेका छन् । भारत लगायत तेश्रो मुलुकबाट आएका व्यक्तिको सङ्ख्या क्वारेन्टाइनमा थपिदै गएपनि आवश्यक सुरक्षाकर्मी नहुँदा सुरक्षा चुनौती बढ्दै गएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

खजुरा गाउँपालिकाले वडा नं. १ को राधापुर र वडा नं। ४ खजुर कृषि तालिम केन्द्रमा क्वारेन्टाइन सञ्चालन गरेको छ । राज्यले क्वारेन्टाइन स्थलमा तीन तहको सुरक्षा उपलव्ध गराउने भनेपनि खजुरामा नेपाल प्रहरी एकछिन आउने र गइहाल्ने गर्दा सुरक्षा चुनौती बढेको अध्यक्ष कक्षपतिको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप