शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार महासङ्घद्वारा राससलाई स्वास्थ्य सामग्री हस्तान्तरण

बुधबार, १९ चैत २०७६, १८ : १५
बुधबार, १९ चैत २०७६

काठमाडौं । नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को जोखिमका बेला नियमितरुपमा समाचार सेवा प्रवाह गरिरहेको राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत पत्रकारका लागि स्वास्थ्य सामग्री वितरण गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टको नेतृत्वमा आएको टोलीले आज राससका कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’लाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । महासङ्घले राससलाई ५० थान पञ्जा, ५० थान मास्क, १० वटा स्यानिटाइजर र केही थान ज्याकेट उपलव्ध गराएको थियो । 

कार्यस्थलमा खटिएका पत्रकारका साथमा महासङ्घ पनि छ भनेर सन्देश दिन साङ्केतिकरुपमा उक्त सामग्री उपलब्ध गराइएको महासङ्घका महासचिव विष्टले जानकारी दिए । महासङ्घले धेरै प्रयास गर्दा स्वास्थ्य सामग्री प्राप्त गर्न नसकेको अनुभव सुनाउँदै महासचिव विष्टले कोभिड–१९को जोखिमका बेला पहिले आफू सुरक्षित भएर सेवा प्रदान गर्न पत्रकारलाई आग्रह गरे । ‘स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी फिल्डमा खटिएका छन्, यो अवस्थामा सूचना दिने पत्रकारको जिम्मेवारी ठूलो छ, आफू सुरक्षित भएर काम गर्नुपर्छ’, महासचिव विष्टले भने । उनले जोखिम उठाएर काम गरेका पत्रकार, कर्मचारीका लागि हरेक सञ्चारमाध्यमले वृत्ति विकास र राहत दिने विषयमा ध्यानाकर्षण गराउँदै विषम परिस्थितिमा राससले पनि संस्थागतरुपमा पत्रकारको उचित मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरे ।

कोभिड –१९ को जोखिमका बेला राससका पत्रकार तथा कर्मचारी अहोरात्र खटिएको जानकारी गराउँदै कार्यकारी अध्यक्ष श्यामलले बजारमा स्वास्थ्य सामग्री नपाइरहेको वर्तमान सन्दर्भमा पत्रकार महासङ्घको साङ्केतिक योगदानप्रति ऋणी रहेको बताए । वर्तमान अवस्थामा समस्याका बाबजुद राससले सेवाको गुणस्तरमा थप प्रभावकारी बनाउने प्रयत्न जारी रहेको उल्लेख गर्दै अध्यक्ष श्यामलले भने, ‘अरु सबै बन्द हुँदा पनि रासस खुल्नुपर्छ भन्नेमा हामी सचेत छौँ, केही साथी घरबाटै काम गरिरहनु भएको छ, सर्भर पनि छ, त्यसैले सानो समूह आएर सेवा दिइरहेका छौँ ।’ 

उनले राससको अत्यावश्यक सेवाका सन्दर्भमा राज्यको निर्णायक तहले नबुझिदिँदा कतिपय अवस्थामा समस्या सिर्जना हुने गरेको सन्दर्भ जोड्दै उनले यस्तो अवस्थामा राज्य संयन्त्र संवेदनशिल हुनुपर्ने बताए । उनले आपत्कालिन अवस्थामा कार्यरत पत्रकार र कर्मचारीका लागि रासस गम्भिर रहेको बताए ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्का सचिव शितल महत्तो, कोषाध्यक्ष राजेश मिश्र, महासङ्का सदस्य तथा प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागाई, महासङ्घका अर्का सदस्य जन्मदेव जैशी, पत्रकार महासङ्घ रासस प्रतिष्ठानका अध्यक्ष नारायण घिमिरेलगायतको सहभागिता थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप