शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रथयात्रा रोकिएपछि सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा

बुधबार, १९ चैत २०७६, १८ : ४३
बुधबार, १९ चैत २०७६

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा स्थगित गरिएपछि आज क्षमा पूजा गरिएको छ ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा संस्कृत छात्रावासअघिबाट रथयात्रा शुरु गरिन्थ्यो । यस वर्ष जात्रा गर्न नसकिने भएपछि माफी माग्दै आज क्षमा पूजा गरिएको सेतो मच्छेन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिका संयोजक एवं काठमाडौँ महानगरपालिका–२५का अध्यक्ष नीलकाजी शाक्यले राससलाई जानकारी दिए ।

 कोरोना भाइरसको सङ्क्रमणको खतरा अन्त्य भएपछि स्वस्ति शान्तिसहित कोटीहोम गर्ने समितिले जनाएको छ ।

वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको जात्रा एक हजार १४० वर्ष अघि शुरु भएको बताइन्छ । अष्टमीका दिन तीनधारा पाठशालाबाट शुरु हुने यात्रा असनसम्म लैजाने गरिन्थ्यो । 

 नवमीका दिन असनबाट हनुमानढोकाको कालभैरवसम्म, दशमीका दिन कालभैरवबाट चिकमुङ्गल, जैसीदेवल हुँदै लगनसम्म तान्ने गरिन्थ्यो । 

एकादशीका दिन लगनको पीपलबोटमा सेतोमच्छेन्द्रनाथका आमालाई तीनपटक घुमाउने परम्परा थियो । द्वादशीका दिन लगनबाट मच्छेन्द्रबहाल ल्याई सिन्दूर जात्रा गरेपछि पाँच दिन लामो जात्रा सकिने विधि थियो । 

 काठमाडौँमा सेतो मच्छेन्द्रनाथको जात्रा भएपछि मात्र ललितपुरमा रातो मच्छेन्द्रनाथको जात्रा गरिन्थ्यो । रातो मच्छेन्द्रनाथको जात्रा अक्षय तृतीयाका दिनदेखि शुरु हुन्छ । 

यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि गुठी संस्थान, समिति, बहालका गुठियार, वडा कार्यालयलगायत सरोकार भएका निकायका प्रतिनिधि सम्मिलित बैठकले जात्रा नगरी क्षमा पूजा गर्ने निर्णय गरेको थियो । 

 चामुण्डा मन्दिरमा क्षमा पूजा

यसैगरी आजकै दिन गोकर्णेश्वर नगरपालिका र काठमाडौँ महानगरपालिका–६ स्थित बौद्ध क्षेत्रमा मनाइने श्रीगणेश, श्रीभैरव र चामुण्डा देवीको रथायात्रासमेत कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन स्थगित गरिएको छ । 

रथयात्रा स्थगित गरेपछि आज मन्दिरमा क्षमा पूजा गरिएको श्री चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषका अध्यक्ष बिमलमान श्रेष्ठले जानकारी दिए । जात्रा हुन नसकेपनि मूर्ति निकाली नजिकैको महाङ्काल भैरवस्थानसम्म घुमाएर ल्याइएको उनले बताए ।

 कोरोना भाइरसको सङ्क्रमण अन्त्य भई विश्व शान्ति कायम होस् भन्ने सङ्कल्पले मन्दिर परिसरमा शतचण्डी पाठ भइरहेको छ । 

कान्तिभैरव गुरुकुल उत्तरवाहिनीका सात ब्राह्मण वटुकले शतचण्डी पाठ गरिरहेका जनाइएको छ । चैत्र शुक्ल नवरात्रको अवसर पारेर प्रतिपदादेखि शुरु गरिएको शतचण्डी द्वादशीका दिन सकी हवनसमेत गरिने जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप