बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं महानगरका ३२ वटै वडामा राहत सामग्री वितरण शुरु

बुधबार, १९ चैत २०७६, १९ : ३१
बुधबार, १९ चैत २०७६

काठमाडौं । काठमाडौँ महानगरपालिकाले  विश्वभरी फैलिएको कोभिड–१९बाट प्रभावित भएर दैनिक जीवन सञ्चालन गर्न समस्या भएकाका लागि आजदेखि राहत सामग्री वितरण शुरु गरेको छ ।  महानगरपालिकाले विपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई परिवार सङ्ख्याका आधारमा राहत उपलब्ध गराउन शुरु गरेको हो ।  राहत वितरणको पहिलो दिन आजदेखि वडा नम्बर १५, ७, २, ५, १०, ८ र ६ लगायतमा वितरणको काम गरिरहेको छ । मङ्गलबार कार्यपालिकाको ४३औँ विशेष बैठकले ‘कोरोना भाइरससम्बन्धी राहत वितरण मापदण्ड २०७६’ जारी गर्दै गरेको व्यवस्थाअनुरुप महानगरले राहत सामग्री वितरण गरेको हो ।  

कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेका कारण मानिसले घर बाहिर निस्कन पाएका छैनन् । यसबेला दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई खाना र खाजा खानकै लागि समस्या पर्ने भएकाले समस्यामा परेका सबैलाई समान प्रकारको राहत र सहयोग उपलब्ध गराउन मापदण्ड बनाइएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

मापदण्डले अभिभावक नभएका, आफ्नो आयश्रोत तथा जायजेथा नभएका, अरुको सहयोग तथा सहारामा बस्दै आएका व्यक्तिलाई असहाय भनेको छ । यस परिभाषाभित्र महानगर क्षेत्रमा सञ्चालनमा रहेका अनाथ आश्रम, बृद्धाश्रम, संरक्षण गृह, मन्दिर, गुम्बा, मस्जिद आदिमा आश्रित व्यक्तिलाई पनि राखिएको छ । त्यस्तै आम्दानीको कुनै स्थायी श्रोत नभएका, दैनिक जीवन गुजारा गर्न धौधौ पर्ने सम्बन्धित वडाले अति विपन्न हो भनेर प्रमाणित गरेका व्यक्ति र परिवारलाई अतिविपन्न मानिएको छ ।

महानगरका प्रवक्ता ईश्वरमा डङ्गोलका अनुसार त्यस्ता परिवारको विवरण राख्ने काम र वितरणको कामसँगै भइरहेको छ त्यसैले अहिले कतिको सङ्ख्यामा रहेका छन् भनि एकिन जानकारी छैन । दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति भन्नाले सङ्गठित संस्थामा काम गर्ने बाहेक महानगरमा विगतदेखि दैनिकरुपमा ज्याला मजदूरी गर्दै आएका, काठमाडौँमा घरजग्गा नभएका भरियालगायतलाई दैनिक ज्यालादारीमा काम गर्ने कामदार तथा मजदूर भनिएको छ । यस परिभाषाले, काठमाडौँमा घरजग्गा भएका वा नभएका बेरोजगार युवालाई नसमेट्ने मापदण्डले उल्लेख गरेको छ ।

राहत दिन परिवार सङ्ख्याका आधारमा खाद्य सामग्रीको प्याकेट बनाउनु पर्नेछ । यदि एकजना मात्र व्यक्ति बस्ने रहेछ भने यसका लागि तयार पारिएको प्याकेटमा चार किलो चामल, एक किलो दाल, एक किलो नुन, आधा लिटर तेल, आधा किलो चिउरा र एक किलो तरकारी हुनेछ ।

दोश्रो प्याकेटमा १२ किलो चामल, दुई किलो दाल, एक किलो नुन, आधा लिटर तेल, दुई किलो चिउरा र तीन किलो तरकारी हुनेछ । यो दुई जनादेखि चारसम्मको परिवारका लागि हो । यदि कुनै परिवारमा पाँच जनाभन्दा धेरै रहेछन् भने उनीहरुका लागि १६ किलो चामल, तीन किलो दाल, एक किलो नुन, एक लिटर तेल, तीन किलो चिउरा र चार किलो तरकारीको प्याकेट हुनेछ । यसका अतिरिक्त वडाले आवश्यक ठानेमा असहाय र अति विपन्न व्यक्तिलाई तयारी खाना, खाजा वितरणको व्यवस्थासमेत गर्न सक्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप