शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमको भ्वाइस तथा डाटा सेवामा विशेष प्याकेज, जीएसएम डाटामा ३० प्रतिशत छुट

बुधबार, १९ चैत २०७६, २१ : ४०
बुधबार, १९ चैत २०७६

काठमाडौं– नेपाल सरकारले चैत्र १६ गते डाटा सेवामा २५ प्रतिशत छुट दिने निर्णय गरे अनुसार नेपाल टेलिकमले चैत्र २० देखि २६ गतेसम्म (७ दिन) लागू हुने गरी जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुटको व्यवस्था गरेको छ । 

यस अनुसार जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रति एमबी कर सहित महसुल क्रमशः ९० पैसा र ५१ पैसा लागू हुने टेलिकमले जनाएको छ । 

सेवाहरू सुपथ मूल्यमा उपलब्घ गराउने क्रममा नेपाल टेलिकमले चैत्र २० देखि २६ गतेसम्म (७ दिन) लागू हुने गरी जीएसएम सेवामा डाटा प्याक उपलव्ध गराउने निर्णय गरेको छ । सो अन्तर्गत पहिलो प्याकेजमा १ सय रुपैयामा १ जीबी डाटा खरिद गर्दा ३ जीबी बोनस स्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ । 

यसैगरी दोस्रो प्याकेजमा २ सय रुपैयामा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरूप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ७ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ । यसरी १ सयमा बोनस सहित कुल ४ जीबी र २ सयमा बोनस सहित कुल १० जीबी डाटा प्राप्त हुनेछ ।

यसैगरी कम्पनीकै नेटवर्क भित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलव्ध भ्वाइस प्याक खरिद गर्दा चैत्र २० देखि २६ गतेसम्म (७ दिन) लागू हुने गरी ५० प्रतिशत छुट उपलव्ध गराउने निर्णय गरेको छ । सो अन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि २५ मा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ । 

यसैगरी दोस्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि १०० मा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ । यसरी २५ मा एक दिनका लागि बोनस सहित ६० मिनेट र १०० मा ७ दिनका लागि बोनस सहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ ।  

यूएसएसडी र नेपाल टेलिकम एपबाट खरिद गर्न सकिने माथि उल्लिखित डाटा तथा भ्वाइस प्याकहरु स्टे कनेक्टेड अफरको रुपमा उपलब्ध हुनेछ । यूएसएसडीबाट खरिद गर्न *1415*10#  डायल गर्नु पर्दछ । 

यसका अतिरिक्त कम्पनीको ल्यान्डलाइन सेवाको महसुल ढिलो भुक्तानी भएमा जरिवाना लाग्ने व्यवस्था भएकोमा यही फाल्गुन र चैत्र महिनाको महसुल वापत हुने जरिवाना नेपाल सरकारको चैत्र १६ को निर्णयकै आधारमा कम्पनीले आगामी बैशाख मसान्तसम्मको लागि मिनाहा गर्ने निर्णय गरेको छ ।

साथै, पूर्ण लकडाउनको अवधिमा कम्पनीका एडीएसएल र एफटीटीएच लगायत वाइम्याक्स सेवाका ग्राहकवर्गलाई सेवा निरन्तर उपलव्ध गर्न यस अवधिमा समयावधि सकिएका लाइनहरुको म्याद लकडाउन अबधिभरका लागि थप गर्ने निर्णय गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप