शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

'कोरोनाको महाव्याधिले ‘मान्छेको खुट्टा जहिले पनि भुइँमै हुनुपर्छ’ भन्ने पाठ राम्ररी सिकाएको छ'

‘लकडाउन’ चुनौती मात्रै हैन अवसर पनि : माछापुच्छ्रे बैङ्कका कार्यकारी प्रमुखको लकडाउन डायरी
बिहीबार, २० चैत २०७६, ०९ : ०१
बिहीबार, २० चैत २०७६

कोरोना भाइरसका कारण सबै क्षेत्र जसो बैंकिङ क्षेत्र पनि प्रभावित छ तर पूर्ण रुपमा बन्द भने छैन । निश्चित समयका लागि निश्चित शाखाहरु खुला छन् । माछापुच्छ्रे बैङ्कले पनि ११ बजेदेखि २ बजेसम्म पालैपालो विभिन्न शाखाहरु खुला गर्दै आएको छ । काठमाडौ बाहिर जिल्ला प्रशासन कार्यालयको अनुमतिमा विभिन्न जिल्लामा भएका शाखाहरु कम्तीमा २ घण्टा खुला रहन्छ । रातोपाटीले विभिन्न क्षेत्रका विभिन्न व्यक्तित्वको लकडाउन डायरी गर्दै आएको छ । आजको लकडाउन डायरीमा हामीले समेटेका छौं माछापुच्छ्रे बैङ्कको निमित्त कार्यकारी प्रमुख सन्तोष कोइरालालाई ।

घरबाटै काम गर्ने नीति बनाएका छौँ

लक डाउनको अघिल्लो दिन हामीले ‘वर्क फ्रम होम’ अर्थात् घरबाटै काम गर्ने भनेर नीति  बनाएका थियौँ । यस अनुसार सबै मिल्ने जति कर्मचारीले आफ्नो घरबाट काम गरिरहनु भएको छ । म पनि प्रत्येक दिन बिहान ११ बजेदेखि २ बजेसम्म कार्यालय पुगेको छु । बाँकी समय घरबाटै काम गरेको छु । कार्यालय गएर अनुगमन गर्ने तथा प्रत्येक शाखाका शाखा प्रबन्धकसँग त्यस ठाउँको बैङ्कको अवस्थाबारे जानकारी लिने गरेको छु ।  काम गर्ने वातावरण कस्तो छ, बैङ्कमा कर्मचारी कति छन् ? उनीहरुको सुरक्षामा ध्यान दिइएको छ कि छैन ? भनेर रिपोर्ट लिने गरेको छु ।

अन्य क्षेत्रमा जस्तै बैंकिङ क्षेत्रलाई पनि लकडाउनले असर त गरेको छ नै । अहिले ‘भिजिटर’हरु कसैलाई समय दिनुपर्दैन । व्यापारीहरुसँग सम्पर्क हुने कुरा भएन । व्यापार बन्द छ । पहिले व्यस्त कालमा रोकिएका वा स्थगित भएका सबै कामहरु विस्तारै विस्तारै सकिँदै गएका छन् ।  अहिलेको विषम स्थितिमा सम्पूर्ण बैङ्कहरुको स्टाफको सुरक्षा कसरी गर्ने ? कसको के अवस्था छ ? कामहरु के भइरहेका छन् ? मूलतः त्यसलाई निगरानी गरिरहेका छौ । घरमा बस्नेलाई त्यहीँबाट काम गर्न भनेका छौं । हामी आफै जागरुक छौं । कार्यालय आउनेहरुलाई अनिवार्य रुपमा मास्क, पन्जा र स्यानिटाइजरको व्यवस्था गरेका छौँ । भल्ट खोल्नुपर्ने अवस्थामा स्प्रे गरेर मात्रै खोल्ने लगायतका सुरक्षाका उपायहरु अपनाएका छौं । कर्मचारीबीच आवश्यक दूरी कायम गरेका छौं । कोरोनाको संक्रमणबाट बच्ने सावधानीका सम्पूर्ण उपायहरुलाई अपनाएर तथा तत्सम्बन्धी परामर्श गरेर मात्र काउन्टर खोल्न लगाएका छौ ।

सानो–ठूलोे, शक्तिशाली र कमजोर भन्ने दुनियाँमा नहुँदो रहेछ !

महामारीको बेलामा सकेसम्म आफू सुरक्षित हुनुपर्छ । आफू पनि सुरक्षित र अरुलाई पनि सुरक्षित राख्न सहयोग गर्नु अहिलेको सबैको कर्तव्य हो । त्यसका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा सामाजिक दुरी कायम राख्नुपर्छ । अहिलेको महाव्याधिले ‘मान्छेको खुट्टा जहिले पनि भुइँमै हुनुपर्छ’ भन्ने पाठ राम्ररी सिकाएको छ । जस्तोसुकै समस्या आएपनि चूनौतीलाई सामना गरेर अघि बढ्नुपर्छ  र जे कुरा पनि गर्नको लागि  मानिस व्यक्तिगत रुपमा तयार रहनुपर्छ । यसले धनी— गरिब, ठूलो— सानो, शक्तिशाली— कमजोर भन्ने कुरा संसारमा केही रहेनछ भन्ने देखाएको छ किनभने यो रोग जोसुकैलाई पनि लाग्न सक्छ । कोरोनाभाइरसको महामारीले आफू अनुशासित भएर भाइचाराको अनुभुति दिलाउन सक्नु नै मानवता हो  भन्ने पाठ पनि सिकाएको छ ।

घरायसी काममा सघाइयो

घरमा बस्दा परिवारलाई समय दिन पाइयो । बच्चाहरुसँग खेल्न पाइयो । किताब पढ्ने, टिभि हेर्ने, अनलाइनमार्फत् विश्वका समाचार हेर्ने फुर्सल मिल्यो । कहिलेकाही गीत गएर रमाइलो गरिन्छ । भान्साको काममा पनि सघाउने गरेको छु ।

म धार्मिक प्रवृत्तिको मानिस हुँ । यसकारण अध्यात्मिक किताब धेरै पढ्छु । यस्तो बेलामा दिमागलाई शान्त राख्ने, योगा गर्ने, व्यायाम गर्ने, घरपरिवारलाई सघाउने गर्दा राम्रै हुन्छ । बच्चाहरुलाई पनि त्यस्तै खालको काउन्सलिङ गर्छु । लकडाउन छ, कोरोना आउँला असर  गर्ला भन्ने नकारात्मकताभन्दा पनि सकारात्मकता कसरी सृजना गर्ने भन्ने सोच राख्नुपर्छ ।

बैकिङ ज्ञान बृद्धिका लागि कर्मचारीलाई अवसर दिएका छौं

सामान्यकालमा मलगायत हाम्रा कर्मचारीलाई सधैं कामको दबाब हुन्थ्यो । कतिपय काम गर्दा÷गर्दै सकिँदैनथे ती सबै कामलाई विस्तारै सक्ने अवसरको रुपमा हामीले लियौं । नआइ नहुने अवस्थामा मात्र सीमित कर्मचारीलाई कार्यालय नै बोलाएर काम गरेका हौं ।

विभिन्न खालको बैंकिङ सामाग्री पढ्ने, नीतिका कुरा पढ्ने अवसर कर्मचारीलाई दिएका छौं । त्यस्ता खालको सामाग्री पनि उपलब्ध गराएका छौं । सकेसम्म बैङ्ककै काममा र उनीहरुकै ज्ञान बृद्धि हुने खालको काम गर्न भनेका छौ ।

जो कर्मचारीहरु बैङ्कमा आएर काम गरिरहेका छन् त्यसमा विशेष व्यवस्था गर्दा राम्रो हुने बैङ्कर्स संघको सुझाव छ । हामी उनीहरुका लागि विशेष सुविधाको व्यवस्था गर्छौं । लकडाउन खुल्ने वित्तिकै निर्णय गरेर प्रोत्साहन उपलब्ध गराउँछौं ।

अहिलेको समयमा बैङ्कको घाटा नाफाको हिसाबभन्दा पनि आम सर्वसाधारणलाई कसरी सहयोग र मद्दत गर्ने भन्ने ठुलो कुरा हो । नेपाल राष्ट बैङ्कले जारी गरेको निर्देशिकालाई पूर्ण रुपमा आत्मसात गरेर पालना गर्छौ नै । हामीसँग सम्बन्धित हाम्रा ग्राहक वर्गलाई कसरी सहजीकरण गर्ने भन्ने निर्देशन पालना गरेर काम गर्न सक्छौ । लकडाउनले गर्दा बैङ्कहरुको नाफामा प्रहार हुन सक्छ । कति प्रतिशत जति तल जाला, त्यो अहिले नै एकिन भन्न सकिने अवस्था छैन । व्याज तिर्नेलाई १० प्रतिशत अनुदान दिए हुन्छ भनिएको छ । असारसम्म किस्ता तिर्ने समय लम्ब्याइएको छ कतिले चैतमै पनि तिर्लान् । अर्को कुरा लकडाउन कति समय लम्बिन्छ भन्ने नै थाहा छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप