शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साइट ‘ह्याक’ गरेको असगर अलीको कम्पनी सिरानटेकको स्वीकारोक्ति

तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन्, अलीलाई फसाउने ‘प्रोपोगान्डा’
शुक्रबार, २१ चैत २०७६, ०९ : ३४
शुक्रबार, २१ चैत २०७६

काठमाडौं प्रेस नामक न्युज पोर्टलमा अनधिकृत प्रवेश गरी समाचार डिलिट गरिएको विषय स्वीकार गर्दै सिरानटेकले माफी मागेको छ । बिहीबार राति सिरानटेकको तर्फबाट सिइओ सुवास शर्माले आफ्नो ट्वीटरमार्फत् प्रेस विज्ञप्ति जारी गर्दै गल्ती भएकामा माफी मागेको हो ।

उसले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘सम्पादक परियार र सिरान टेक्नोलोजिजको व्यवस्थापनबीच समाचारका विषयमा सम्वाद चलिरहेको बेला गलत सूचनाका कारण सिरान टेक्नोलोजिजको प्राविधिक टिमले न्युजपोर्टलबाट उक्त समाचार हटाइएको छानबिनका क्रममा पाइयो ।’

हेर्नुहोस् विज्ञप्तिको पूरा अंश ।

कुनै सञ्चारगृहबाट समाचार प्रकाशन भएकै आधारमा उक्त समाचार नै डिलिट गरेको घटनाका सम्बन्धमा चैत १९ गते नै रातोपाटीले ‘प्रधानमन्त्रीका ‘आईटी विज्ञ’को कर्तुत : आफूविरुद्ध समाचार लेखेको वेबसाइटलाई अनधिकृत नियन्त्रण लिएर समाचार नै हटाए’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।


काठमाडौं प्रेससँग गरिएको कुराकानीकै आधारमा रातोपाटीले उक्त समाचार प्रकाशन गर्दै ह्याकिङको खतरामा नेपालका डिजिटल मिडिया रहेको उल्लेख गरेको थियो ।

काठमाडौं प्रेसको वेभसाइटको डेभलपर सिरान टेक्नोलोजिज थियो र सिरान टेक्नोलोजिज एफ वान सफ्टको भगिनी संस्था थियो । एफ वान सफ्टले नै इसेवा, फोन पे, विभिन्न बैङ्कका मोबाइल एप आदि निर्माण गरेको थियो । एफ वान सफ्टका मालिक प्रधानमन्त्रीका सूचनाप्रविधि विज्ञ असगर अली र विश्वास ढकाल हुन् ।

काठमाडौं प्रेसले असगर अली र इसेवासमेतलाई जोडेर चैत १८ गते समाचार लेखेपछि चैत १९ गते नै सिरान टेक्नोलोजिजबाट काठमाडौं प्रेसलाई फोन गरी समाचार हटाउन आग्रह गरिएको सिरान टेककै विज्ञप्तिमा उल्लेख छ । तर काठमाडौं प्रेसले समाचार नहटाएपछि चैत १९ गते बिहान ११ बजेर २२ मिनेट जाँदा सिरान टेक्नोलोजिजले नै समाचार डिलिट गरिदिएको सञ्चारगृहको दाबी थियो ।

यद्यपि समाचार हटाएको वा डिलिट गरेको सम्बन्धमा प्रधानमन्त्रीका सूचना प्रविधिविज्ञ समेत रहेका, सिरानटेक तथा एफ वान सफ्टका मालिक असगर अलीले कुनै प्रतिक्रिया जनाएका थिएनन् । तर बिना छाप र बिना हस्ताक्षर सिरानटेकले जारी गरेको विज्ञप्तिमा भने आफ्नो तर्फबाट नै समाचार डिलिट गरिएको स्वीकार गरेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन्, ‘प्रोपोगाण्डा’

प्रधानमन्त्रीका सूचनाप्रविधि विज्ञ असगर अली तथा प्रधानन्त्रीका सचिवालय सदस्यहरुको सम्बनधमा समाचार आएको र उक्त समाचार हटाउन असगर अलीकै कम्पनीका सदस्यले दबाब दिएको विषय उसैले जारी गरेको विज्ञप्तिमा स्वीकार गरिसकिएको छ । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहिबार साँझ विज्ञप्ति जारी गर्दै यसमा सचिवालयका कसैको पनि हात नरहेको भन्दै त्यसलाई ‘प्रोपोगाण्डा’ भनेका थिए ।

सूर्य थापाले के लेखेका थिए,

काठमाडौं प्रेस डट कम र त्यसको कुनै समाचार हटाइएको भन्ने कथित प्रकरणमा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टको नाममा आज जारी विज्ञप्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यसमा सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालय वा सरकारलाई दोष लगाउने गरी गर्न खोजिएको प्रोपोगण्डालाई हामी खारेज गर्दछौं । यो वक्तव्य सरासर झूठ, बेइमानीपूर्ण र तथ्यहीन रहेको स्पष्ट छ । र, यसबारेमा निम्न तथ्य थप प्रष्ट गर्दछौं :

१. स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सामग्री खरिदसम्बन्धी रद्द भइसकेको विषयमा जे निर्णय भएको थियो वा छ, त्यसको स्पष्ट जवाफदेहिता बहन गर्ने निकाय र अधिकारीहरू संलग्न नै छन् । त्यसमा सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालय र सल्लाहकारहरू वा उहाँहरूका सरोकार नै नभएका छोराहरूलाई जबर्जस्ती र तथ्यहीन ढङ्गले तान्ने र बदनाम गर्ने षड्यन्त्रपूर्ण चालबाजी, उपक्रम र रवैया खेदजनक छ । यसको जति भत्र्सना गरे पनि कम हुन्छ । यस षडयन्त्रमा को संलग्न छन् ? यो सब किन गरिएको छ ? ककसले यसमा लगानी गरेका छन् ? ककसको शुरूदेखि अन्तिमसम्म नै सक्रियता र दौडधुप छ ? यो कुनै लुकेको कुरा छैन र हामी राम्रो जानकारी राख्दछौं । यसमा प्रधानमन्त्रीको सचिवालयका हामी र असम्बन्धित सन्तानहरू समेतलाई तानेर दुष्प्रचार गर्नुको नियत बुझिएकै छ । हामीलाई षड्यन्त्रकारीहरू जस्तै यस्ता हरकतहरूको पछाडि लाग्ने कुनै फुर्सद छैन । बरू आफ्ना नियमित र परिभाषित कार्यमा व्यस्त रहेको पनि स्पष्ट गर्न चाहन्छौं ।

२. पत्रकार महासंघले उक्त समाचार हटाउन राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकारले दबाब दिएको भनेर वक्तव्यमा जसरी भनेको छ, त्यसमा कुनै सत्यता छैन, बरू अत्यन्त हास्यास्पद र गैरजिम्मेवार छ । यो छाता संस्थाको गुटगत र निहीत स्वार्थमा नाङ्गो दुरूपयोग मात्रै हो ।

३. मैले काठमाडौ प्रेसका प्रधानसम्पादक कसमस विश्वकर्माजीसँग टेलिफोनमा कुरा गरेको थिएँ र समाचारमा उपप्रधानमन्त्री र मुख्य सल्लाहकार अथवा जोसुकैका बारेमा लेख्न पनि तथ्य र प्रमाण नै चाहिन्छ, अझ राज्य संचालनसँग कुनै सरोकार र मतलब नभएका तथा स्वास्थ्य उपकरण खरिदसँग केही चासो र जानकारीसमेत नभएका उहाँहरूका छोराहरूलाई जोडेर संप्रेषित समाचारको परपीडनकारी उद्देश्यबारे चासो अवश्य राखेको थिएँ । मैले समाचार हटाउनेबारे कुनै कुरासम्म कहिल्यै गरेको नै थिइनँ । बरू यस षड्यन्त्रमा संलग्न व्यक्तिहरू, तिनको उद्देश्य र विषय वस्तुबारे कुराकानी भएको हो । भोलिपल्ट समाचार हेर्दा हटेको देखेपछि कसमसजीलाई नै किन क्षमायाचनाको सार्वजनिक सूचना नगरी हटाउनुभयो भन्ने जिज्ञासा मैले नै राखेको थिएँ । उहाँले कसरी हट्यो बुझ्दैछु भन्नुभएको थियो । मुख्य सल्लाहकारज्यूको त कसैसँग यसबारेमा टेलिफोन संवादसम्म भएको छैन ।

४. अनि हामीले कसरी श्रव्य वा दृश्य, मौखिक वा लिखित र टेलिफोन कुन माध्यमबाट कसलाई दबाब दियौँ ? यसको प्रमाण प्रस्तुत गर्न, अन्यथा छायाँयुद्दको तथाकथित मोर्चा सिर्जना गर्ने दाउपेच, षड्यन्त्र र भ्रमको खेतीमा नलाग्न समयमै सचेत गराउन चाहन्छौँ ।

५. पत्रकार महासंघ अहिले त्यहाँ कार्यरत पदाधिकारीहरूको मात्र संगठन होइन । त्यसमा हाम्रो रगत, पसिना र उर्वर युवावय समय लगानी भएको छ । आज त्यसको नेतृत्वमा रहेको कोही व्यक्तिभन्दा हामीले स्वतन्त्रताको संघर्षमा कम योगदान गरेका छैनौं । र, कसैले हामीलाई स्वतन्त्रताको शिक्षा दिने धृष्टता पनि गरिरहनु आवश्यक छैन । सबैका खुट्टी र हैसियत देखेरै हामी यहाँ क्रियाशील छौँ । खासमा यो सबै सदस्यहरूको संगठन हो । र, कार्यकाल सकिएर महाधिवेशनको सम्मुखमा उभिएको यस संगठनको लेटरप्याड र संस्थागत हैसियत दुरूपयोग गरी आफ्ना आकांक्षाहरूको तुष्टिकरणमा नलाग्न संलग्न व्यक्तिहरूलाई समयमै सचेत हुन र अविलम्ब माफी माग्न ध्यानाकर्षण गर्दछौँ ।

६. अहिलेको स्वतन्त्रता, संविधान र राज्य संरचना हामी स्वयंले पनि संघर्ष गरेर स्थापित गरेको तथ्य सम्बद्ध सबैको जानकारीका लागि विनम्रतापूर्वक राख्न चाहन्छौँ । हामी अरूले स्थापना गरिदिएको राज्य प्रणालीका उपभोक्ता भएजस्तो व्यवहार गर्ने र हावामा मुक्का चलाएर हिँड्ने धृष्टता कसैबाट पनि नगरियोस् । हामी तथ्यको आधारमा सत्यको पक्षमा निरन्तर लडाई गरेर नै समाजलाई स्वच्छ, पारदर्शी, अझ लोकतान्त्रिक, न्यायपूर्ण र समानतामा आधारित बनाउन राजनीतिमा सक्रिय नै छौं । जो कसैका अनुचित आरोप, दुष्प्रचार र षडयन्त्रको विधिसम्मत मुकाबिला गर्न हामी सक्षम पनि छौँ । कुनै गलत र षडयन्त्रपूर्ण तौरतरिका वा बलप्रयोगप्रति हाम्रो कहिल्यै पनि विश्वास रहेन र छैन । त्यस्तो तरिकाले सम्माननीय प्रधानमन्त्रीज्यूलाई कमजोर बनाउन सकिन्छ कि भन्ने कसैलाई लागेको छ र त्यही दुर्नियतका साथ यो सबै गरेर हामीलाई अनावश्यक विवादमा तान्ने वा आफ्नो करियर बनाउन तल्लीन राजनीति वा यस्ता कुनै सार्वजनिक जिम्मेवारीसँग हाल शतप्रतिशत नै सरोकार नराख्ने छोराहरूलाई मुछ्ने षड्यन्त्रमा मतियार नबन्न सबैलाई अनुरोध गर्दछौँ ।

७. राजनीतिमा सक्रिय सबैका सन्तानहरू बिग्रेका छन् र बाबुआमाको हैसियत दुरूपयोग गर्न लागिपरेका छन् भन्ने गलत बुझाइका साथ रचिने हरेक षड्यन्त्रहरूको पर्दाफास गरिनु र नाङ्गेझार हुनु अनिवार्य छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले समाचार हटाउन सचिवालयका कुनै पनि सदस्ययले दबाब नदिएको जिकिर गरिरहेका छन्, जबकि असगर अली प्रधानमन्त्री केपी शर्मा ओलीकै सचिवालयका एक सदस्य हुन् र समाचार डिलिट गराउने संस्था सिरान टेक्नोलोजी पनि उनैको कम्पनी हो । यस्तो अवस्थामा प्रधानमन्त्रीका सूचनाप्रविधि विज्ञ असगर अलीको प्रत्यक्ष वा परोक्ष संलग्नता भएको स्पष्ट नै भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले समाचार डिलिट गरिएको घटनालाई ‘कथित’ भन्दै दुस्प्रचार गर्नेलाई नाङ्गेझार पार्नु अनिवार्य भएकोसमेत बताएका छन् । उनी अझै पनि असगर अलीको संलग्नता नभएको भन्दै उनको बचाउ गरिरहेका देखिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप