शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणविरोधी प्रतिकार्य : अमेरिकी र चिनियाँ मोडलको विश्व अर्थराजनीति

शुक्रबार, २१ चैत २०७६, १० : १७
शुक्रबार, २१ चैत २०७६

कोरोना संक्रमणको तीव्रतर गतिलाई रोक्न चीनले ‘लकडाउन’लाई एउटा मुख्य उपायको रुपमा अवलम्बन ग-यो । साबुन पानीले हात धुने, सामाजिक दूरी कायम गर्ने र घरमै बस्नेजस्ता सामाजिक व्यवहारगत उपाय अवलम्बनलाई ‘लकडाउन’ ले प्रभावकारी तुल्याउने चिनियाँ विश्वासले सीमित समयमै सकारात्मक नतिजा दियो । तर इटलीको शुरुवाती अलमल उसको लागि ज्यादै महँगो पर्दैछ ।

दक्षिण कोरिया र सिंगापुरले कडा ‘लकडाउन’ नगरिकनै संक्रमणको उपचारात्मक विधिबाटै यसलाई नियन्त्रणमा लिए । अमेरिका आफ्ना डेढ लाख संक्रमित नागरिक र अझ विस्तारित हुने क्षतिका बाबजुद पनि ‘घरमै बस्ने’ निर्देशिका जारी गरेर पूरा ‘लकडाउन’ मा जान अस्वीकार गरिरहेको छ । ‘लकडाउन’ के हो र किन गरिन्छ भन्नेबारे सार्वजनिक छलफल सतहमा नआउँदै यसले वैचारिक मत विभाजन गर्ने संकेत गरिरहेको छ । आखिर के छ ‘लकडाउन’को अर्थराजनीति ?

‘लकडाउन’को चिनियाँ रणनीति

घातक संक्रमणको तीव्र विस्तारको संकटकालमा ‘लकडाउन’ गर्न सकिने कुरा आपतकालीन स्वास्थ्य सेवासँग परिचित जो कोहीलाई जानकारीमा हुन्थ्यो । तर यो पठनपाठन र तालिममा सिकाइन्थ्यो र बिर्सने गरिन्थ्यो । जनवरी १० मा कोरोना संक्रमणको पहिलो केस प्रमाणित भएको तेह्रौँ दिनमा चिनियाँ सरकारले पाँच करोड जनसंख्या भएको सिङ्गो हुबेई प्रान्तलाई ‘लकडाउन’ मा राख्ने कठोर निर्णय लियो । स्थिति भयावह बन्दै गएपछि ९ मार्चका दिन इटलीले पूरै देशलाई ‘लकडाउन’ गर्ने अझै कठोर निर्णय लियो । १४ मार्चमा स्पेनले त्यही उपाय अपनायो । यो उपायमा नेपाल, फ्रान्स, पोल्याण्ड, भारत, मस्को, दक्षिण अफ्रिका, अस्ट्रेलिया, बेल्जियम, नर्वे, डेनमार्क क्रमशः जोडिन पुगे । अहिले विश्वको एक तिहाई जनसंख्या ‘लकडाउन’को ‘क्वारेन्टिन’ जिन्दगी बाँचिरहेको छ ।

साबुनपानीले हात धुने, सामाजिक दूरी कायम गर्ने, र घरमै बस्नेजस्ता सामाजिक व्यवहार अपनाउन विश्वका सबै राष्ट्रले निर्देश जारी गरेका छन् । क्यानडा, लिथुवानिया, माल्दिभ्स, उत्तर कोरिया, पेरु, कतार, स्लोभाकिया, युक्रेन, क्रोएसिया, जर्मनी, युरोपियन, नेपाल लगायतले आफ्ना सबै सीमा नाका बन्द गरिदिएका छन् ।

तर अरु सबै देशभन्दा चीन फरक देखिएको छ– मुख्य पाँच कारणले । १० दिनको अवधिमा उसले एक हजार शैयाको, त्यसको अर्को एक हप्तामा १६ सय शैयाको दुईवटा अत्याधुनिक अस्पताल बनाएर जो सञ्चालनमा ल्यायो– बाँकी विश्वका लागि यो कल्पनाको विषय रह्यो । संक्रमणको परीक्षण, बिरामीको पहिचान, आइसोलेसन, क्वारन्टिन र उपचारलाई यी नयाँ अस्पतालले ऊहानको केन्द्रमा रहेर ठूलो योगदान गरे । दोस्रो, स्वास्थ्यकर्मीको सुरक्षाका सामानहरु, परीक्षण किट लगायतका उपकरणहरुको अभावलाई चीनले औद्योगिक उत्पादनको क्षमता बढाएर तुरुन्तै सम्बोधन ग¥यो । तीन, ‘लकडाउन’ मा परेका पाँच करोड हुबेइबासीको घरघरमा खाद्य सामग्रीको सहज आपूर्तिका लागि चिनियाँ सरकारले अनलाइन अर्डर र व्यावसायिक आपूर्तिको माध्यमबाट बजार प्रणाली सक्रियकरण गरी सहज तुल्यायो । चार, सूचना प्रविधिको उच्चतम् प्रयोग चिनियाँ सफलताको अर्को पक्ष रह्यो । रोबोटबाट डिसइन्फेट गर्ने पद्धचिको उपयोग, स्मार्ट हेलमेटबाट ज्वरोको अनुगमन, थर्मल क्यामेरासहितका ड्रोनहरुको अनुगमन, अनुहार पहिचान गरी संक्रमण चेनको पहिचान र ‘कन्ट्याक्ट ट्रेस’ गर्ने कार्यलाई तीव्रता दिइयो । अन्तमा, सरकारको निर्देशनको पूरापूर पालना गर्ने नागरिक अनुशासनको पद्धतिले सरकारका योजनाहरुले विना विचलन योगदान गरिरहे ।

माथि उल्लेखित हरेक मोर्चामा चीनले गरेको प्रयोग बाँकी विश्वका लागि प्रेरणादायी नै रह्यो । तर पश्चिम जगत (खासगरी अमेरिका) ले यी सकारात्मक पक्षलाई बेवास्ता गर्दै कहिले यसलाई ‘चाइना भाइरस’ कहिले ‘ऊहान भाइरस’ भनेर चीनको धज्जी उडाइरहे । चीनले मृतक र प्रभावित संख्या लुकाइरहेको छ, उसले सही सूचना प्रेषित गरेको छैन भनिरहँदा त्यो संक्रमणको चक्रले युरोप हुँदै अमेरिकालाई लपेटिसकेको उनीहरुले महसुस गर्नै सकेनन् ।

यतिखेर कोरोनाभाइरस संक्रमणको केन्द्रबिन्दु उहानबाट स्पेन र इटली हुँदै अमेरिका पुगिसकेको कुरा विश्व स्वास्थ्य संगठनले बताइसकेको छ ।

‘लकडाउन’ अस्वीकार गर्ने अमेरिकी ध्रुव

जनवरी २० मा संक्रमणको पहिलो केस पत्ता लागेको अमेरिकामा अहिले कोरोना संक्रमण भूसको आगोजसरी फैलिरहेको छ । डोनाल्ड ट्रम्पका सरुवा रोगसम्बन्धी प्रमुख सल्लाहकार र जानेमानेका भौतिकशास्त्री एन्थोनी फाउची यो क्रम अझ बढ्ने चेतावनी दिइरहेका छन् । यी पंक्ति लेखुन्जेल त्यहाँ एक लाख ६० हजार संक्रमित संक्रमणसँग लडिरहेका छन् । प्रभावितको संख्या एक लाख ७० हजारको हाराहारीमा छ भने तीन हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

अमेरिकी सरकारले आफ्ना नागरिकलाई स्वेच्छाले घरमै बस्न सुझाव दिएको छ । तर ‘लकडाउन’ गरेको छैन । सामाजिक दूरी कायम गर्ने कुरालाई प्रोत्साहित गरिएको छ तर बजार, पार्कहरु बन्द गरिएका छैनन् । अर्थात् अर्थ र बजार व्यवस्थालाई ‘अन’ मै राखेर कोरोना संक्रमणलाई ‘डाउन’ गर्ने रणनीति अमेरिकामा ट्रम्प प्रशासनले अपनाएको छ । एकातिर ३० लाख नागरिकले बेरोजगार भत्ताको माग गरेको स्थिति, अर्कोतिर डेढ लाख नागरिकहरु संक्रमणसँग जुधिरहेको स्थिति ।

अमेरिकाको लागि स्थिति कतिसम्म खराब रह्यो भने मास्क, पञ्जा र सानिटाइजरको बजारमा आपूर्ति सकिएको एक महिना भइसक्यो– उत्पादन बढाउन सकेको होइन । न्यूयोर्कका गभर्नर एन्ड्रयु कम्बोले आफ्नो राज्यमा ३० हजार भेन्टिलेटर अपुग रहेको बताइरहँदा उपराष्ट्रपति माइक पेन्सले अर्को हप्तासम्म चार हजारसम्म भेन्टिलेटर पठाउन सकिने जवाफ दिए । त्यसपछि राष्ट्रपति डोनाल्ड ट्रम्प र गभर्नर कम्बोबीच जुहारी नै चल्यो ।

चीनको जस्तो रातारात विशाल अस्पताल खडा गर्ने कुरा अमेरिकाको सोच र क्षमताभन्दा परै रहेको छर्लङ्ग भयो । अरु त अरु, मास्क र पञ्जामा पनि यो शक्तिशाली देश विपदको यो घडीमा समेत अभाव झेल्न अभिशप्त रह्यो ।

कोरोना संकटको शुरुवाती अभावको समयमा चीनसँग दैनिक एक करोड मास्क उत्पादन गर्ने क्षमता थियो । १४ अर्ब जनसंख्या भएको चीनलाई यति मास्कले पुग्ने कुरै थिएन । गएको हप्तासम्म चीनले मास्क उत्पादनको क्षमतालाई २० गुणाले वृद्धि गरी दैनिक २० करोड मास्क उत्पादन गर्न थाल्यो । अमेरिका हेरेको हे¥यै छ ।

प्रविधिको प्रयोग र विकासमा अमेरिका युरोपभन्दा पनि अगाडि नै मानिन्छ । कोरोना संक्रमणको पहिचान, कन्ट्याक्ट ट्रेसिङ र सम्भाव्य संक्रमितको गतिशीलताको अनुगमन गर्न चीन, दक्षिण कोरिया र सिंगापुरले जुन हदसम्म प्रविधिको उपभोग गरे, अमेरिका त्यहाँ पनि चुकेको पाइयो ।

दक्षिण कोरिया र चीनमा त बाहिरबाट आएका नागरिकको मोबाइलमा कोरोना ‘एप’ नै राख्न लगाई उनीहरु तोकिएको क्वारेन्टिनबाट बाहिर निस्केको अवस्थामा स्वतः अलार्म बज्ने प्रविधिको उपयोग गरियो । अमेरिकामा व्यक्तिको मानवअधिकार र गोपनीयताको प्रश्न उठाइ यस्ता ‘एप’ प्रयोगमा ल्याउने कुराको विरोध हुने गरेको छ ।

राज्य केन्द्रित कि बजार केन्द्रित प्रतिकार्य ?

विश्वव्यापीकरणले एक भएको भनिएको एक्काइसौँ शताब्दीको यो विश्व व्यवस्थामा एउटा भाइरसको विश्वव्यापी संक्रमणविरुद्ध सारा विश्व एक भएर लाग्ने अपेक्षा थियो । तर संक्रमणविरुद्धको प्रतिकार्यमा साना–ठूला हरेक राष्ट्र–राज्यहरु आ–आफ्नै अनुभव, स्रोत, दक्षता र नेतृत्वको भरमा लडिरहेका छन् । अर्को देशमा के भइरहेको छ भनी हेर्ने फुर्सद कसैलाई छैन । संयुक्त राष्ट्रसंघजस्ता अन्तरसरकारी संस्थाहरु आफ्नै ‘वेब पेज’मा सीमित छन् । विश्वशक्तिको ताज पहिरिएको अमेरिका प्रतिकार्यको घरेलु सीमा मै चुकिरहेको प्रतीत हुन्छ । विभिन्न देशहरु विभिन्न किसिमले जुधिरहेका छन् । तर एउटा मोटो आँकलन गर्ने हो भने यो जुधाइले दुई मोडललाई स्थापित गर्दैछन् ।

मोडल १ : बजार केन्द्रित

‘लकडाउन’मा जान इन्कार गर्दै गरेको तर हात धुने, घरमा बस्ने र सामाजिक दूरी कायम गर्न उत्प्रेरित गरिरहेको अमेरिकी मोडलले बजारलाई केन्द्रबिन्दूमा राखेको छ । यो मोडल नै बजार निर्देशित छ । दुई चार हजार मानिसको मृत्यु स्वीकार गर्ने तर बजारलाई ‘डाउन’ हुन नदिन ‘लक’ नगर्ने ट्रम्प प्रशासनको घोषित रणनीति हो । एक हप्ता अगाडि नै ट्रम्पले घोषणा गरेका छन्– अमेरिका बन्द हुनका निम्ति बनेको राष्ट्र होइन ।

बजारलाई प्राथमिकतामा राख्ने यो मोडलले सँगै के पनि देखाइरहेको छ भने स्वतन्त्र बजार साधारण अवस्थामा मात्र चल्न सक्छ । विपद्को स्थितिमा, संकटको परिस्थितिमा स्वतन्त्र ढङ्गले चल्ने सामथ्र्य बजारसँग हुँदैन । ट्रम्प प्रशासनले ‘लकडाउन’ नगरीकनै अर्थतन्त्र डाँवाडोल भइरहेको, ३० लाख नागरिकले बेरोजगारी भत्ता माग गरेको र पसलहरुमा जनसाधारणले प्रयोग गर्ने मास्क पनि उपलब्ध हुन नसकेको परिस्थितिले बजार केन्द्रित र पूँजीवादी उत्पादन व्यवस्थाको सीमालाई साह्रै स्पष्टसँग नङ्ग्याइदिएको छ ।

मोडल २ : राज्य केन्द्रित

‘लकडाउन’ले संक्रमण विस्तारलाई खण्डित र सीमित गर्ने रणनीति केन्द्र भागमा राख्दै राजकीय साधन र स्रोतको प्रभावकारी परिचालन गर्दै प्रतिकारात्मक उपायमा जाने चिनियाँ मोडलले भने बजारलाई पनि ‘लक’ गर्दै उत्पादन व्यवस्थालाई आपतकालीन अवस्था अनुरुप रुपान्तरण गरेको छ । सूचना प्रविधिको उच्चतम प्रयोग चिनियाँ मोडलको तेस्रो कडी हो ।

रातारात अस्पताल खडा गर्नु, चिकित्सा उपकरणदेखि पञ्जा र मास्कको आपूर्ति सहज तुल्याउन कारखानाहरुलाई अधिकतम परिचालन गर्न सक्नु, घरघरमा स्वास्थ्य टोलीको भ्रमण सम्भव तुल्याउन सक्नु, दैनिक सामग्रीको आपूर्तिलाई घरघरमा ढुवानी गर्न आपूर्ति व्यवस्थाको रातारात पुनर्संरचना गर्न सक्नु पछाडि चलायमान बजारभन्दा पनि भिजनरी राजकीय नेतृत्व र परिचालन क्षमता महत्वपूर्ण हुन्छ भनेर प्रमाणित गर्नु चिनियाँ मोडलको उपलब्धि हो ।

चिनियाँ र अमेरिकी मोडल (अर्थात् राज्य केन्द्रित वा बजार केन्द्रित मोडल) मध्ये संकटको घडीमा कुन मोडल बढी कामयावी हुन्छ भन्ने कुराको निष्कर्षमा पुग्न अझै केही समय कुर्नुपर्ने हुन्छ । खासगरी अमेरिकी मोडलका सफलता वा असफलता अझै स्पष्ट भइसकेको छैन । तर यही बीचमा चीनले राज्य केन्द्रित विपद व्यवस्थापनको एउटा गतिलो उदाहरण भने प्रस्तुत गरिसकेको छ ।

‘लकडाउन’को यो अर्थराजनीतिभित्र अमेरिका र चीनबीच चलिरहेको वैचारिक प्रतिश्पर्धा र व्यापार युद्धले त काम गरेकै छ, तर त्योभन्दा पर गएर अमेरिका आफैँभित्र हराइरहेको, युरोप ऐतिहासिक र गहिरो असफलताको अभिषाप बोक्नुपर्ने तहमा पुगिसकेको यस अवस्थामा चीनचाहीँ आफ्नो समस्याको एक हदसम्म सम्बोधन गरीसकेर नेपालदेखि स्पेन, इटली, बेल्जियम र हुँदाहुँदा अमेरिकासम्मलाई सहयोग गर्न स्वास्थ्य सामग्रीसहितको मेडिकल टिम पठाउन सफल हुनुलाई कसरी बुझ्ने– अर्थराजनीतिको चुरो यहीँनिर छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. युवराज लुइटेल
डा. युवराज लुइटेल
लेखकबाट थप