शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनले असर नगरेका एक सिइओ : बैङ्कको बिजनेसमा असर गरे पनि मेरो कार्यव्यस्ततामा गरेको छैन

शुक्रबार, २१ चैत २०७६, १२ : ३३
शुक्रबार, २१ चैत २०७६

सधैँजस्तै बिहान उठ्छन्, आफुलाई फिट राख्न योगा गर्छन् । त्यहीँबाट उनको दैनिकी शुरु हुन्छ । कोरोना भाइरस के, लकडाउन के, उनको कार्यव्यस्ततालाई कुनै असर गरेको छैन । भलै बैंकिङ क्षेत्र यसबाट प्रभावित किन नहोस्, तर सबैलाई फुर्सद बनाएको लकडाउनले उनको व्यस्तता झनै बढाएको छ । लकडाउन यता पनि दैनिक रुपमा उनको समय कार्यालयमै बितिरहेको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उनी अफिसमै भुलिन्छन् ।

उनी अर्थात्, लकडाउनले असर नगरेको एउटा प्रमुख कार्यकारी अधिकृत भूवन दाहाल । उनी सानिमा बैङ्कमा आवद्ध छन् । हँसिलो र मिजासिलो स्वभावका धनी उनी आफूलाई सोधिएका कुनै पनि प्रश्नको जवाफ झर्को नमानी दिन्छन् । कसैले राष्ट्र बैङ्कले जारी गरेको निर्देशिका बुझिएन भनेर फोन गर्छन् त कुनै बैङ्कले सवारी साधन पास मिलाइदिनु पर्यो भन्दै उनलाई फोन गर्छन् । ती सबै काम सल्टाउन सकेसम्मको सहयोग गर्छन् उनी । उता आफ्नो बैङ्कको काम त छँदैछ ।

बैङ्कर्सहरुको छाता संगठन बैकर्स एसोसिएसनका अध्यक्ष समेत रहेका भुवन दाहालको लकडाउन डायरी रातोपाटीले खोतलेको छ ।

उनकै शब्दमा उनको लकडाउन डायरी

कोरोनाभाइरस नफैलियोस् भनेर देशले यतिबेला उच्च सतर्कता अपनाएको छ । मानिसहरु आफ्नो अफिसियल कामबाट फुर्सदिला बनेका छन्, कारण सरकारले आफ्ना नागरिकलाई अत्यावश्यक अवस्थामा बाहेक घरबाट निस्कन दिएको छैन । सम्पूर्ण क्षेत्र यसबाट प्रभावित छ । प्रायः मानिसहरुको सेड्यूल नै एकै खालको बनेको छ । घर बस्ने, खाने, परिवारसँग रमाइलो गरेर कोठाभित्रै बस्ने ।

तर, मलाई भने लकडाउनले कुनै असर गरेको छैन । लकडाउनकै कारण भनेर घरमा बस्न पाएको छैन । यद्यपि, कोरोनाभाइरसबाट बच्न आफु र आफ्ना कर्मचारीको सुरक्षामा ध्यान भने दिएको छु । बैङ्कको प्रमुखहरुको काम बैङ्कको पोजिसन कस्तो छ भन्ने रिभ्यू गर्ने हुन्छ । अहिले हाम्रो बैङ्कको अवस्था कस्तो छ, सानिमा अन्य बैङ्कभन्दा कस्तो पोजिसनमा छ, त्यसको पनि रिभ्यू गर्ने काम गरिरहेको छु । कोेभिड–१९ ले बैङ्कहरुलाई पनि असर गरेको छ । बैङ्कको व्यापार व्यवसाय घटेको छ । म बैङ्कर्स संघको अध्यक्ष भएकाले धेरै जिज्ञासाहरु आउँछन् । कहिले राष्ट्र बैङ्कको सर्कुलर प्रष्ट भएन भन्दै व्यापारीले फोन गर्छन् त कहिले बैङ्कहरुले हामीले यो बुझेनौँ भनेर सोध्छन् । कहिले भेइकलको पास उपलब्ध नभएर हिडडुल गर्न गाह्रो भयो भनेर बैङ्कका साथीहरुले गुनासो गर्छन् । यी सबै काम मिलाउनु पर्छ । यसले पनि समय बितिरहेको छ । मानिस लकडाउनका कारण घरमै आफ्नो परिवारसँग रमाइरहेका छन् तर म भने काममै व्यस्त छु । मलाई लकडाउनले असर नगरेको सिइओ भन्दा पनि हुन्छ ।

सामान्य दिनको भन्दा फरक छैन अहिलेको सेड्यूल । झन् यहिबेला काम बढेको छ । म एउटा बैङ्कको सिइओ मात्र छैन, सम्पूर्ण वाणिज्य बैङ्कहरुको छाता संगठन बैङ्कर्स एसोसिएसनको अध्यक्ष पनि छु । यसकारण पनि म अहिले दोहोरो जिम्मेवारीमा छु । राष्ट्र बैङ्कले जारी गरेको सर्कुलर होस् वा बैङ्कहरुले लकडाउनका बेला अपनाएका नीति हुन्, यी सबै विषयको स्पष्टताका लागि बैङ्कर्सदेखि व्यापारीसम्मलाई स्पष्ट पार्नुपर्छ । उनीहरुले मलाई नै हरेक नबुझेका विषयको सोधपुछ गर्छन् ।

कोरोनाले मानवतालाई बलियो बनाएको छ

विश्व यतिबेला कोरोनाभाइरससँग जुधिरहेको छ । यस्तो माहामारी कुनै एक देशमा वा कुनै एक मानवमा मात्र सीमित हुँदैन । यो एक देशबाट अर्को देशसम्म फैलिन सक्छ र सम्पूर्ण मानव जाति नै प्रभावित बन्न सक्छन् भन्ने देखाएको छ । यसकारण यस्तो विपत्तिमा सम्पूर्ण मानव एकजुट भएर सामना गर्नुपर्छ ताकि सम्पूर्ण मानव जाति सुरक्षित हुन् । यस्तो महामारीबाट बच्न सबै मिलेर बस्नुपर्छ भन्ने ज्ञान दिएको छ ।  व्यक्तिवादी भन्दा पनि सम्पूर्णको भलो सोच्नुपर्छ । अहिले हामी ग्लोबल नागरिक हौँ जसका कारण एक अर्कालाई सहयोग गर्नुको विकल्प छैन । अकल्पनीय घटनाहरु बेलाबेलामा हुनसक्छ । यस्ता अकल्पनीय रोग अथवा घटनालाई कसरी सामना गर्ने भन्नेबारे पूर्व तयारीका साथ सावधानी अपनाउनुपर्छ भन्ने ज्ञान हामीलाई दिएको छ । ग्लोबल सिटिजनको नाताले ग्लोबल सुरक्षामा सबैले सतर्कता अपनाउनुपर्छ

व्यक्तिगत जीवनका लागि कामको बिचमै समय निकाल्छु

म बुबाआमासँग बस्छु । दाजु–भाउजु हामी सबै सँगै छौँ । म कान्छो भएकाले घरको काम खासै गर्नुपर्दैन । सबै घरपरिवारले व्यवस्थापन गर्छन् । म उनीहरुसँग बसेर खाना खाने र गफ गरिदिएमात्र पुग्छ । आफ्नो पेशामा अल्झदा पारिवारिक समय एकदम कम दिन सक्छु । मलाई किताब पढ्न मन पर्छ तर व्यस्तता बढेपछि पढ्न पनि पाएको छैन । यात्रा संस्मरण निकै मन पर्छ, त्यसपछि बैंकिङ सम्बन्धी पुस्तकहरु पढ्छु । यी किताबहरु धेरैजसो बार्षिक बिदामा पढ्छु । अहिले लकडाउन हुँदा पनि कार्यालयमै व्यस्त रहनु परेकाले पढ्न पाएको छैन । कार्यालयका बाँकी रहेका कामहरु पुरा गर्दैछु । सम्भव भएसम्मका साथीहरु कार्यालयमै आएर काम गरिरहनु भएको छु । कोही घरबाटै काम गरिरहेका छन् । हामी सबै आ–आफ्नो ठाउँमा सुरक्षित हुनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप