बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डेरावासीहरुका अध्यक्ष भन्छन्, ‘स्थानीय तहको नेतृत्वमा १ महिना घर भाडा छुट गराऔँ (भिडियोवार्ता)

‘संकटको घडीमा घरबेटी संवेदनशील हुनुपर्छ’
शुक्रबार, २१ चैत २०७६, १६ : ४४
शुक्रबार, २१ चैत २०७६

गत आइतबार मन्त्रीपरिषदको बैठकले एउटा निर्णय गर्यो । लकडाउन प्रभावित भाडामा बस्ने श्रमजिवीलाई घरबेटीले एक महिनाको भाडा छुट दिने । त्यसबापत सरकारले पनि घरबहाल करमा छुट दिने । 

सरकारको यस्तो भनाई आएपछि अहिले डेरावालहरुले आफ्ना घरबेटीको अनुहार सम्झिरहेका होलान् । हाम्रा घरबेटीले फ्याट्ट सरकारी निर्णय मानिदिए एक महिनाको भाडामा होलो हुने थियो ।

उता घरबेटीहरुले पनि यो निर्णय सम्झिरहेका होलान् । कतिपय घरबेटी भाडा छुट दिँउ न त एक महिनाको कुरा न हो भन्ने सोचाइमा होलान् । कतिपय घरबेटी भने सरकारले भनेर हुन्छ म त छोड्दिन पनि भनिरहेका होलान् । 

विश्वब्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढेपछि अहिले सरकारले २ सातासम्मका लागि देश लकडाउनको अवस्थामा राखेको छ । लकडाउनमा अत्यावश्यक सेवाका बाहेक सरकारी अर्धसरकारी कार्यालयहरु बन्द छन् । उद्योग कलकारखाना विकास निर्माणका काम सबै ठप्प छ ।

यस्तो बेलामा जनतालाई राहत दिनका लागि भन्दै सरकारले गत आइतबार केही राहतका कार्यक्रम घोषणा गरेको थियो । अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले घर बहालमा बस्ने श्रमिक वर्गका लागि १ महिनाको घर भाडा मिनाह गर्न आग्रह गरेका थिए ।

मन्त्री खतिवडाको सो भनाइपछि घर भाडामा बस्नेहरुले उनको समर्थन गरेका छन् भने कतिपय घरबेटीले असहमति पनि जनाएका छन् । केही घरबेटीले त सरकारले यसो भन्नु पहिले नै आफ्नो घरमा भाडामा बस्नेहरुलाई १ महिनाको भाडा नलिने भनेर सामाजिक सञ्जालबाट घोषणा समेत गरेका थिए ।

यो विषयमा कुनै बाध्यकारी व्यवस्था नभएपनि घरधनीको मानसिकतामा निर्भर गर्र्ने कुरा हो । यही बेला डेरामा बस्नेहरुको हकहीतका लागि खुलेको एउटा संस्थाले पनि आवाज उठाएको छ ।

डेराका बस्नेहरुको हकहितका लागि पनि काम गर्ने संस्था छ भन्ने धेरैलाई थाहा नहुन पनि सक्छ । ८ बर्षअघि देखि डेराबासीहरुको लागि भनेर खोलिएको घरबहाल सरोकार महासंघ नेपाल नाम गरेको पनि संस्था छ । यो संस्थाका अध्यक्ष हुन् बलभद्र खनाल

कानून व्यवसायी समेत रहेका खनालकै नेतृत्वमा यो संस्थाको जन्म भएको थियो । यो संस्थाले पनि अहिलेको विपदको बेलामा एक महिनाको घर भाडा छुट गराउन आग्रह गरेको छ ।

स्थानीय तहले नेतृत्व लिनुपर्छ 

सरकारले आग्रह गरेको १ महिना भाडा छुटलाई घर बाहाल सरोकार महासंघ नेपालका अध्यक्ष बलभद्र खनालले सही कदम भएको भन्दै स्वागत गरेका छन् ।

उनले भने, ‘सरकारको यो कदमको म स्वागत गर्छु, यो विषय सबैको साझा सरोकार भएको आत्मबोध गर्दै मन्त्रीपरिषद्को निर्णय स्वागत योग्य छ । घरधनी र भाडामा बस्नेहरुको अन्योन्याश्रित सम्बन्धलाई सरकारले स्वीकारेको देखिन्छ । घरबाहालको विषयलाई राज्यले एउटा अभिन्न अंगको रुपमा लिएको महासंघले विश्वास गरेको छ । संकटको बेलामा घरबेटी संवेदनशील हुनुपर्छ ।’

उनले नेपाल सरकारले जारी गरेको निर्देशिकालाई पालना गर्नु हरेक नागरिकको कर्तब्य रहेको बताउँदै अहिलेको विषम परिस्थितीलाई मानवीय संवेदनाको रुपमा पनि ग्रहण गर्न आग्रह गरे । उनले यो विषयमा हरेक घरधनीहरु संवेदनशील हुनुपर्ने बताए ।

विश्वभरी नै कोरोना भाइरसका कारण व्यापार व्यवसाय ठप्प भएका कारण कोही पनि बाहिर आएर आर्थिक उपार्जन गर्न नसक्ने अवस्थामा रहेकोले घरबेटीले डेरामा बस्नेलाई सहयोग गर्नुपर्ने खनालको तर्क छ ।

उनले एकठाँउमा घरबेटी भएको व्यक्तिले अर्को ठाउँमा व्यवसाय गर्न घरबहालमा लिएको हुनसक्ने भन्दै आफ्नो विषयमा मात्र नभई आम सरोकारको विषय हो भनेर अघि बढ्न आग्रह गरे ।

उनले इटहरी नगरपालिकाले एक महिनासम्म घर भाडा छुट दिन निर्णय गरेको बताउँदै भने, ‘यदी स्थानीय तहले चाहने हो भने र आम नागरिकले चाहने हो भने यो विषय कार्यान्वयमा सहज छ, यसमा मलाई विश्वास छ ।’

उनले यो विषय स्थानीय तहको माध्यमबाट कार्यान्वयन गर्न सकिने औँल्याए । उनले भने, ‘यो विषय कार्यान्वयन गर्नका लागि स्थानीय सरकार भनेको सबैभन्दा नजिकको सरकार हो । स्थानीय तहमा घरबहाल अनुगमन समिति बनाएर हामीले यसलाई पूर्ण कार्यान्वयन गर्न सक्छौँ । अनुगमन समितिमा जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि राख्ने वा जिल्ला प्रहरी कार्यालयको प्रतिनिधि हुन सक्छ । स्थानीय तहका प्रतिनिधि, स्थानीय व्यक्तिको समेत रोहबरमा र घरबाहाल सरोकार संस्थाको प्रतिनिधि सहितको समिति बनाएर प्रत्येक वडामा रहेका घरधनीसँग समन्वय गरेर घर बहाल छुटलाई एउटा अभियानका रुपमा लैजानुपर्छ ।’

उनले आफ्ना घरबेटीले पनि एक महिनाको भाडा छुट गरिसकेको बताउँदै अरुलाई पनि छुट दिन आग्रह गरे ।

सो संस्थाले घरबेटी र डेराबासी बीचमा उत्पन्न भएको समस्या पनि समाधान गर्ने गरेको उनले बताए । संस्थामा घरबेटीले धेरै भाडा बढाएको, डेरावालले घर खाली नगरिदिएको, समयमा पैसा नदिएको, घरबेटीले सुविधा नदिएको भन्ने जस्ता समस्या आउने गरेको सुनाए । दुबै पक्षबीच संस्थाले मेलमिलापूर्ण रुपमा समस्या समाधान गर्दै आइरहेको उनले बताए ।

घरबहाल नीति हुनुपर्छ, घरबेटीलाई व्यवासायीको रुपमा दर्ता गर्नुपर्छ

उनले घरभाडामा लिने दिनेबारेमा सरकारसँग कुनै नीति नभएको बताउदै सरकारले राष्टिय घरबहाल नीति ल्याउनुपर्ने औँल्याए । घरबहाल व्यवसायलाई दर्र्ता गरेर न्यूनतम कर लिने हो भने अहिलेभन्दा धेरै कर उठ्ने र घर भाडामा लिने दिने विषय कानूनी दायरामा पनि आउने उनको तर्क छ ।  राज्यलाई कर पनि आउने र घरधनी र भाडामा बस्नेको समस्या समाधान गर्न पनि सकिने उनको भनाई छ ।

उनले भने, ‘ठूल्ठूला महलहरुले सबै बहालमा दिएको छ, उनीहरु कम्पनी भएपनि, व्यक्ति भएपनि अहिलेसम्म ब्यवसायीको रुपमा अहिलेसम्म नेपालमा दर्ता हुन सकेको छैन् । जसरी अरु व्यवसाय गर्नेलाई कानूनी दायरामा ल्याइएको छ, जसरी व्यवसाय दर्ता गर्न बाध्य बनाइएको छ, त्यसैगरी घर बहालमा दिने कुरालाई पनि व्यवसायको रुपमा दर्ता गरेर प्रमाणपत्र दिने व्यवस्था गरियो भने त्यसको आधारमा उसले राज्यलाई कर तिर्छ । बरु करको मात्रा कम गरेर सबैलाई यो दायराभित्र ल्याउन आवश्यक छ । यसबाट अहिले उठेको कर भन्दा पनि बढी कर उठ्छ, अर्को कुरा नागरिक पनि जिम्मेवार हुन्छन् ।

डेराबासीका अध्यक्षलाई नै दिए घरबेटीले एक महिना छुट

बुटवल र पाल्पामा घर भएका डेराबासीहरुका अध्यक्ष खनाल अहिले काठमाडौंमा भाडामा एउटा फ्ल्याट लिएर बसेका छन् । हामी उनीसँग कुरा गर्न जानुअघि नै उनका घरबेटीले एक महिनाको भाडा मिनाह गर्ने घोषणा गरिसकेका रहेछन् । खनाललाई मात्र एक फ्ल्याट भाडामा दिने घरधनी हुन् भेषराज कार्की ।

कार्कीले सरकारले गरेको घोषणा र घर बहाल सरोकार महासंघले उठाएको विचार ठीक लागेर आफूले एक महिनाको भाडा मिनाह गरेको बताए । व्यवसायी समेत रहेका घरधनी कार्कीले आफ्नो व्यापार व्यवसायका लागि अरुको घर समेत भाडामा लिएका रहेछन् । उनले आफ्ना घरबेटीले पनि आफूलाई भाडा मिनाह गर्ने आशामा रहेको बताए । कार्कीले अन्य घरबेटीलाई पनि एक महिनाको भाडा छुट गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘अहिले विषम परिस्थिति छ । कोभिड–१९ ले अहिले विकराल अवस्था लिएको छ, हुनेले त खान्छ, नहुनेले कहाँबाट खान्छ, सबै एकै प्रकारका मान्छे छन् भन्ने कुरा पनि छैन, कोही गरिब छन्, कोही दैनिक ज्यालादारीमा काम गरिरहेका छन्, कोही महिनावारीमा काम गरिरहेका छन् । काठमाडौँमा जति पनि मान्छे आएका छन् सबै भाडामा बसेका छन् । कुनै कुनै घरवाला छन् । भाडामा छुट दिने कुरा बलभद्रजीले पनि उठाउनुभयो । मलाई पनि यो कुरा न्यायोचित नै लाग्यो । 

सरकार र घरबहाल सरोकार संस्थाले उठाएको यो विषयलाई तमाम घरबेटीहरुले कसरी लिन्छन्, त्यो भने उनीहरुकै हातमा छ ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप