शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना रोकथामका लागि प्रदेश २ सरकारको यस्तो छ तयारी

शुक्रबार, २१ चैत २०७६, १७ : ३०
शुक्रबार, २१ चैत २०७६

जनकपुर । कोरोना महामारी नियन्त्रण तथा उपचारको लागि प्रदेश सरकारले युद्धस्तरमा तयारी गरिरहेको छ । महामारीका कारण नेपाल सरकारले जारी गरेको लकडाउन सफल बनाउन गरिब तथा दैनिक ज्यालाका मजदुरहरुलाई स्थानीय तहमार्फत राहत उपलब्ध गराइरहेको प्रदेश सरकार दोस्रो चरणमा महामारी नियन्त्रणका लागि युद्धस्तरमा तयारीमा जुटिसकेको छ । 

चैत २० गते मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको कोरोना महामारी नियन्त्रण निर्देशक समितिले प्रादेशिक अस्पताल जनकपुर कोरोना परीक्षणका लागि पिसिआर मसिन जडान भइ परीक्षण शुरु गरिसकेको छ । त्यस्तै प्रदेशका प्रमुख व्यापारिक नगरी विरगञ्ज र सप्तरीको राजविराजमा समेत पिसिआर मेसिन जडान गर्न समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यस्तै कोरोना महामारीको सम्भावित खतरालाई मध्यनजर गर्दै प्रदेशभरमा ५० वटा भेन्टिलेटर सहितको आइसियु तयार गर्न समेत निर्देशन दिइएको छ । त्यसमध्ये प्रादेशिक अस्पताल जनकपुरमा १०, विरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा १० र अन्य ६ वटा जिल्लामा ५÷५ वटा भेन्टिलेटर जडान गरिने निर्देशन दिइएको मुख्यमन्त्री राउतले जानकारी दिए । 

त्यस्तै, समितिले अहिलेको विशेष परिस्थितिमा विगत जस्तो खरिद प्रक्रियाले तयारी गर्न नसकिने भन्दै खरिद प्रक्रियालाई समेत खुकुलो बनाउने निर्णय गरेको छ । यस निर्णयले खरिद ऐनको उपयोग गर्दै आपतकालीन बेलामा दुर्तमार्गबाट आवश्यक सामग्रीहरु खरिद गर्न सकिनेछ । 

प्रदेश सरकारले महामारी नियन्त्रणका लागि प्राविधिक रणनीति आवश्यक रहेको महशुस गर्दै स्वास्थ्य क्षेत्रका विज्ञहरु सम्मिलित स्वास्थ्य सल्लाहकार समिति समेत गठन गरेको छ । उक्त समितिलाई महामारी नियन्त्रणका लागि नीति निर्माण गर्ने जिम्मेवारी दिइएको छ । उक्त समितिले निर्देशन समितिको निर्देशन बमोजिम शुक्रबारबाट आफनो काम समेत शुरु गरिसकेको छ । यो समितिले चिकित्सकहरुको लागि प्रोटोकल निर्माणदेखी नियन्त्रणको अन्य उपायहरुबारे आफनो सुझाव सरकारलाई दिनेछ । 

यसैगरी निर्देशक समितिको शुक्रबार सम्पन्न बैठकले प्रदेशमा नमूना क्वारेन्टाइनको व्यवस्थापन, आइसियुको निर्माण, धनुषाको लालगढस्थित चर्मरोग अस्पताललाई इन्टेन्सिभ केयर युनिट निर्माणको लागि अध्ययन गर्न विज्ञ टोलीलाई जिम्मा दिने निर्णय समेत गरेको छ भने मुजेलियामा सुविधा सम्पन्न क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । 

बैठकले महामारीसँग लड्न आठवटै जिल्लामा १÷१ वटा एम्बुलेन्स र शववाहनको व्यवस्थापन गर्न समेत कार्यकारी समिति र समाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको मुख्यमन्त्री राउतले बताए । उनले भने, ‘अहिलेसम्मको लागी हाम्रो तयारीमा कुनै कमी छैन तर भोलीको दिनमा हुन सक्ने सम्भावित खतरा लाई मध्यनजर गर्दै विशेष तयारीमा जुट्न समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएका छौ । रकमको अभाव हुन दिँदैनौ ।’

बैठकले प्रदेशमा चिकित्सक तथा नर्सहरुको अभाव देखिए स्वयंसेवकको रुपमा चिकित्सक र नर्स भर्ना गर्नको लागि आवश्यक तयारीमा जुटन समेत समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ । मुख्यमन्त्री राउतले यसरी स्वयंसेवकको  रुपमा भर्ना हुने चिकित्सक तथा नर्सहरुलाई प्रदेश लोकसेवामा थप नम्बर दिइने व्यवस्था समेत गरिन लागिएको बताए । 

उनले भने, ‘अहिलेसम्म हाम्रो प्रदेशको अवस्था ठिक छ, अहिलेको अवस्थामा खासै समस्या हुँदैन, तर कहि कतै महामारी फैलियो भने त्यस्तो अवस्थाको लागि हामी अहिलेदेखी नै तयारीमा छौ । विज्ञहरुको टोलीले दिइने सुझावको आधारमा प्रदेश सरकार सबै प्रकारको व्यवस्था गर्ने पूर्ण तयारीमा जुटेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप